Comments Add Comment

मेडिकल कलेजका विद्यार्थीको आन्दोलनमा नेकपाका विद्यार्थीको समर्थन

१ असोज, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको विद्यार्थी संगठन अनेरास्ववियूले मेडिकल कलेजले तोकिएको भन्दा बढी शुल्क लिएको विरोधमा चितवन मेडिकल र गण्डकी मेडिकल कलेज पोखरामा भइरहेको आन्दोलनप्रति ऐक्यवद्धता जनाएको छ ।

संयोजक ऐन महरले बुधबार विज्ञप्ति जारी गरी आन्दोलनमा ऐक्यवद्धता जनाएका हुन् । २०७५ चैत ८ गते सरकारले निजी मेडिकल कलेजहरुले लिएको तोकिएको भन्दा बढी शुल्क एक महिनाभित्र फिर्ता गर्न र निजी मेडिकल कलेज समेतको संलग्नतामा शुल्क फिर्ताको अनुगमन गर्न विश्वविद्यालय, मेडिकल काउन्सिल र कलजहरुलाई निर्देशन दिए पनि कार्यान्वयन नभएकोमा अनेरास्ववियूले विरोध जनाएको छ । त्यसकै कारण अहिलेको आन्दोलन भइरहेको भन्दै अनेरास्ववियूले तोकिएको शुल्क कार्यान्वयन सशक्त रुपमा गर्न सरकारलाई आग्रह गरेको छ ।

सरकारले एमबीबीएस अध्ययनका लागि काठमाडौं उपत्यकामा ३८ लाख ५० हजार र काठमाडौं उपत्यका बाहिर ४२ लाख ५० हजार रुपैयाँ शुल्क तोकेको थियो । तर पोखराको गण्डकी मेडिकल कलेज र चितवनको चितवन मेडिकल कलेजले तोकिएको भन्दा बढी शुल्क लिएको भन्दै त्यहाँ अध्ययनरत विद्यार्थी हाल आन्दोलनमा छन् ।

अनेरास्ववियूले विद्यार्थीहरुको शान्तिपूर्ण आन्दोलनमा कुनै दमन धरपकड नगर्नसमेत आग्रह गरेके छ । मेडिकल कलेजमा शुल्कको कडाइका साथ कार्यान्वयन, सिट संख्याको वैज्ञानिक एवं व्यवस्थित ढंगले निर्धारण चिकित्सा शिक्षा ऐनमा भएको ७५ प्रतिशत छात्रावृत्तिको कार्यान्वयन गर्न माग गरेको छ ।

अनेरास्ववियुले अतिरिक्त शुल्क फिर्ता नगरेमा चितवन मेडिकल कलेज र गण्डकी मेडिकल कलेजलगायत सम्बन्धनप्राप्त कलेजमा यो वर्षका लागि लिइने भर्ना खारेज गर्न सरकार र चिकित्सा शिक्षा आयोगसँग माग गरेको छ ।

यो पनि पढ्नुहोस मेडिकल कलेजमा शुल्क विवादको भित्री कथा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment