Comments Add Comment

संसदले पाएन प्रधानमन्त्रीको धन्यवाद !

संसदप्रति अरुची वा स्वास्थ्यको समस्या ?

२ असोज, काठमाडौं । प्रतिनिधिसभाको वर्षे अर्थात बजेट अधिवेशनको अन्तिम दिन बैठक तीन चरणमा बस्यो । पहिलो बैठकले राहदानीसहित ६ वटा विधेयक पारित गर्‍यो । दोस्रो बैठकमा मन्त्रीहरुले संसदमा उठेका तर जवाफ दिन नपाएका प्रश्नहरुको लिखित उत्तर टेबल गरे । तेस्रो बैठकमा विपक्षी दलका नेता शेरबहादुर देउवासहित सबै दलका नेताहरुले संसदलाई सम्बोधन गरे ।

तर, सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका नेता एवं प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा सम्बोधन गरेनन् । जब कि बिहान कार्यसूची तय हुँदासम्म प्रधानमन्त्रीले दिउँसो संसदलाई सम्बोधन गर्ने भन्ने थियो । तर, अन्तिममा आएर प्रधानमन्त्रीबाट सम्बोधन भएन । नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले सम्बोधन गरे ।

प्रधानमन्त्री ओली संसदमा किन आएनन् वा उनले किन सम्बोधन गरेनन् भन्ने प्रश्नको जवाफ सांसदसँग छैन ।

अधिवेशनको अन्तिम बैठकलाई प्रधानमन्त्री ओलीले किन सम्बोधन गर्नुभएन भन्ने प्रश्नमा नेकपाका प्रमुख सचेतक देव गुरुङले भने, ‘कार्यव्यस्तताले भ्याउनुभएन होला ।’
अर्का एक सांसदले भने स्वास्थ्यका कारण प्रधानमन्त्री नआउनुभएको होला भन्ने अनुमान लगाए ।

सिंगापुरमा उपचार गरेर २० भदौमा स्वदेश फर्किएपछि प्रधानमन्त्री ओली एकदिन पनि संसदमा उपस्थित भएनन् । सुरुका दिनहरुमा स्वास्थ्यका कारण होला भनिएको थियो । नेकपाका नेताहरुले पनि चिकित्सकले प्रधानमन्त्री ओलीलाई आराम गर्न र सार्वजनिक कार्यक्रमहरुमा नजान सल्लाह दिएको बताएका थिए ।

तर, प्रधानमन्त्री ओली बुधबार र बिहीबार लगातार सार्वजनिक कार्यक्रममा सहभागी भए । विज्ञान प्रविधि दिवसलाई लामै सम्बोधन गरे । संसद भवनको शिलान्यास गरे, प्रधानमन्त्री निवासको उद्घाटन गरे । तर, संसदमा गएनन् ।

संसदप्रति अरुची वा स्वास्थ्यको समस्या ?

१६ वैशाखबाट सुरु भएको प्रतिनिधिसभाको बैठकले सरकारको नीति तथा कार्यक्रम, बजेट मात्र होइन, कुल १८ वटा विधेयक पारित गरेको छ । अधिवेशनको सुरुवाती बैठकहरुमा प्रधानमन्त्री ओली संसदमा प्रायः उपस्थित हुने गरेका थिए । तर, पछिल्लो समय प्रधानमन्त्रीको उपस्थिति निकै पातलियो ।

खागसरी प्रधानमन्त्रीले संसदमा उठेका प्रश्नहरुको जवाफ दिन खोज्दा प्रमुख विपक्षीको रोष्टम घेराउ गरेपछि संसदमा ओलीको उपस्थिति घट्दै गएको हो ।

नेकपाका एक सांसद भन्छन्, ‘यो अधिवेशनले बजेट मात्र होइन, सरकारले ल्याएका धेरै विधेयक पास गरेको छ । आज प्रधानमन्त्री आफैं आएर संसदलाई धन्यवाद दिएको भए राम्रो हुन्थ्यो । तर, खै किन हो आउनुभएन ।’

कांग्रेस सांसद मिनेन्द्र रिजाल पनि अधिवेशनको अन्तिम दिन प्रधानमन्त्री आएर सम्बोधन गरिदिएको भए राम्रो हुन्थ्यो भन्छन् । ‘बाध्यकारी त होइन, तर, हाम्रो परम्परा हो’, रिजालले भने, ‘प्रधानमन्त्री आउन नसक्ने भए उपप्रधानमन्त्री वा पार्टी अध्यक्षले सम्बोधन गरेको भए पनि हुन्थ्यो । त्यो पनि भएन ।’

अन्तिम दिनको बैठकमा समेत चार जना मात्र मन्त्रीको उपस्थिति भएको र अधिकांशको तर्फबाट कानुनमन्त्री जवाफ टेबल गरेको स्मरण गर्दै उनले भने, ‘मैले त उहाँहरुलाई भनेँ, संसदप्रति जिम्मेवारीबोध हुनुपर्‍यो । सबै जवाफ कानुनमन्त्रीले मात्र टेबल गर्ने हो भने कानूनमन्त्री मात्र आउने व्यवस्था गरौं ।’

यद्यपि बिहीबार संसदलाई सम्बोधन गरेका सत्तारुढ नेकपा संसदीय दलका उपनेता नेम्वाङप्रति आफूहरुको सम्मान रहेको उनले बताए । नेम्वाङले पनि प्रतिपक्षले उठाएका कुरालाई गम्भीररुपमा लिने बताए ।

साथै संविधान कार्यान्वयनमा संसद, दलहरु र सभामुखको महत्वपूर्ण भूमिका रहेको भन्दै धन्यवाद दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment