Comments Add Comment

बालबच्चालाई अनावश्यक नियन्त्रण पो गर्नुहुन्छ कि ?

बालबालिकालाई राम्रो बनाउने निहुँमा, अनुशासित बनाउने चक्करमा हामी उनीहरुलाई कतिपय काममा नियन्त्रण गरिरहेका हुन्छौं । यो गर, त्यो नगर भनिरहेका हुन्छौं ।

त्यती मात्र होइन, बच्चाले गर्ने हरेक गतिविधिमा हामी निगरानी गरिरहेका हुन्छौं । उनीहरु कहाँ खेल्छन्, के खेल्छन्, कोसँग बोल्छन्, के लेख्छन्, कहाँ जान्छन् हामी चासो दिइरहेका हुन्छौं । हुन त उनीहरुले गलत काम नगरोस् भनेर सर्तकता अपनाउनु ठिक हो । यद्यपि हामीले उनीहरुप्रति देखाउने यस किसिमको चासोले उनीहरुको स्वतन्त्रतामा हस्तक्षेप पो पुगिरहेको छ कि ? सोच्नुपर्ने हुन्छ ।

घरमा बस्ने सबै सदस्यले आफ्नो जिन्दगी बाँच्न, आफ्नो निर्णय आफैंले लिन तथा आफ्नो हिसाबले अघि बढ्नका लागि स्वतन्त्रता हुनु पर्छ ।

आवश्यकताभन्दा बढि नियन्त्रणले उनीहरुलाई विद्रोही बनाउन सक्छ । केटाकेटीहरुलाई राम्रो संस्कार दिन, राम्रा-नराम्रो कुराको ज्ञान दिन, घरको परिस्थितीका बारेमा बुझाउँदै उनीहरुलाई उनीहरुको जिम्मेवारीका बारेमा अवगत गराउने काम अभिभावककै हो ।

यदि, हरेक समय उनीहरुको चौकीदारी गर्नु अथवा हरेक समय उनीहरु माथि निगरानी गर्नु पनि गलत हो । केटाकेटीलाई केही हद सम्म त स्वतन्त्रता दिनै पर्छ । उनीहरुलाई आफ्नो जिन्दगी आफ्नै तरिकाले बाँच्न दिनु पर्छ ।

गाली गर्नु उचित होइन

अधिकांश आमा-बुवाहरुको बानी के हुन्छ भने छोरा-छोरीहरुको स-सानो गल्तिमा पनि ठूल्ठूलो स्वरले गाली गरिहाल्ने । यहाँसम्म कि ढिला घर फर्किने कुरामा, कसैसंग कुराकानी गरेको भरमा अथवा आफूले चाहेको जस्तो सफलता नपाएको कुरामा पनि गाली गर्ने बानी हुन्छ ।

कुनै तेस्रो व्यक्तिको अघिल्तिर छोराछोरीको बेइज्जत गर्ने अभिभावकहरु पनि हाम्रै समाजमा हुन्छन् । त्यसैले त्यस्ता आमा-बुवाले आफ्नो उक्त बानीलाई छोड्नै पर्छ । उनीहरुको त्यस्तो व्यवहारले उनीहरु दुईको सम्बन्धमा नराम्रो असर त पर्छ नै, साथ-साथै छोराछोरीको व्यक्तित्व विकासमा समेत अवरोध पैदा हुन्छ ।

छोरा-छोरीहरुका लागि थोरै भए पनि स्थान दिनु पर्छ । उनीहरु आफैंलाई आफ्नो जिम्मेवारीहरु बारेमा महसुस हुन दिनु पर्छ । केटाकेटीहरुलाई गाली गर्नुको साटो ती आशाहरुमा ध्यान दिनु पर्छ, जुन तपाईंहरुले उनीहरुमाथि राख्नु भएको छ । केटाकेटीहरुलाई उनीहरुको उमेर तथा क्षमता अनुसारले जिम्मेवारी सुम्पिनु पर्छ । आवश्यकता पर्दा उनीहरुलाई सहयोग समेत गर्नु पर्छ ।

सचेत गराउन सकिन्छ

यदि छोरा-छोरीहरु कुनै ठूलो कारण बिना नै राती ढिलो घर फर्किन्छन् भने पनि उनीहरुसंग ठूल्ठूलो आवाजमा कुरा गर्नु उचित छैन । केटाकेटहरु ठूलो आवाजले डराउँछन् र आफ्नो कुरा स्पष्ट रुपले राख्न समेत सक्दैनन् । त्यसैले तपाईंले आफ्नो रिसमाथि नियन्त्रण गर्दै सधैं छोरा-छोरीसंग सामान्य तरिकाले नै कुराकानी गर्नु पर्छ ।

उनीहरुसंग आँखा जुधाएर राम्ररी कुराकानी गर्न सकिन्छ । त्यसो गर्दा तपाईंका छोरा-छोरीले तपाईंको कुरालाई बेवास्ता गर्ने सम्भावना समेत कम हुन्छ । उनीहरुले राती ढिला घर आएर गल्ति नै गरेका छन् भने उनीहरुलाई सचेत मात्र गराएर छाडिदिनु पर्छ, ताकि उनीहरुले आगामी दिनमा त्यस्तो गल्ति पुनः नदोहोर्‍याउन् । त्यसपछि तपाईंले पनि उनीहरुमाथि नजर राखिरहनु पर्दैन ।

विश्वास गर्न थालौं

हरेक बालबालिकाको आफ्नो पृथक क्षमता हुन्छ, आफ्नै सपना हुन्छ । त्यसलाई अभिभावकले विश्वास गर्नुपर्छ । उनीहरु आफैंलाई त्यो क्षमतालाई उजागर गराउने मौका दिनु पर्छ । नियन्त्रण अथवा दवावको बोझले उसलाई उठ्नै नसक्ने गरि थिच्नु पनि हुँदैन । उनीहरुलाई भसोरा गर्न सिक्नु पर्छ । हो, यदि उनीहरुले तपाईंको विश्वासलाई तोडे भने पुनः दोस्रो पटक उनीहरुको भरोसा गर्न लायक हुन्जेलसम्मका लागि उनीहरुको स्वतन्त्रतामा कटौती गर्न सकिन्छ ।

रोल मोडल बनौं

केटाकेटीहरुले प्राय त्यही गर्छ, जुन उनीहरुले आफ्ना आमा-बुवाबाट सिकेका हुन्छन् । त्यसैले तपाईं आफ्ना छोराछोरीको रोल मोडल बन्नु पर्छ । तपाईं उनीहरुबाट जस्तो व्यवहारको अपेक्षा गर्नु हुन्छ, त्यस्तै व्यवहार तपाईंले पनि गर्नु अनिवार्य छ । उनीहरुमाथि हरेक समय नजर राखिरहनु आवश्यक छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment