Comments Add Comment

संविधानले दिएको अधिकार व्यवहारमा उतार्न चुनौती छ : मुख्यमन्त्री राई

३ असोज, विराटनगर । चौथो संविधान दिवसक प्रदेश १ सरकारले विशेष कार्यक्रम गरी मनाएको छ । संविधान दिवस मनाउने तीन दिने कार्य योजना अनुसार शुक्रबार विराटनगरको शहीद रंगशालामा औपचचारिक कार्यक्रम गरियो ।

कार्यक्रममा मुख्यमन्त्री शेरधन राईले संविधानले व्यवस्था गरेको जनताका अधिकारलाई व्यवहारमा रुपान्तरण गर्नुपर्ने चुनौती भएको बताए । ‘संविधान प्रदत्त जनताका हक अधिकारलाई व्यवहारमा रुपान्तरण गर्नु यति खेरको आवश्यकता र चुनौती पनि हो’ उनले भने ‘ संविधान स्वतः आफैं कार्यान्वयन हुने होइन । नीति, नियम, कानून, योजना, पद्धति र संस्कारको माध्यमबाट यसको व्यवहारिक कार्यान्वयन हुने हो । प्रदेश सरकार संविधानलाई व्यवहारमा लागु गर्ने कसरतमा छ, यो अभ्यास जारी छ ।’

मुख्यमन्त्री राईले चौथो संविधान दिवस मनाइरहदा देशमा राष्ट्रिय एकता दरिलो भएको दावी गरे । संविधान दिवसको अवसरमा ठुला आकारका राष्ट्रिय झण्डा प्रदेश भित्रका सबै जिल्ला सदरमुकाम र विशेष महत्वका स्थानमा फहराउने काम भएको बताउँदै उनले सबैका हातमा र साथमा रहेका राष्ट्रिय झण्डाले नेपालीहरुबीच कुनै विभेद नरहेको प्रष्ट पारेको बताए ।

‘हामी तपाई र सबैका हातमा र साथमा रहेका राष्ट्रिय झण्डाले नेपालीहरुबीच कुनै विभेद छैन हामी सबै एक छौ, एक रहन चाहन्छौ भन्ने स्पष्ट गर्दछ’, मुख्यमन्त्री राईले भने ‘यसले नेपालको राष्ट्रिय एकता दरिलो छ, सशक्त छ, अविचलित छ भन्ने सन्देश दिएको छ ।’

उनले तीन तहका सरकारबीच शासन सञ्चालनमा कुनै समस्या, द्विविधा वा विवाद नरहेको उनले बताए । संघियता कार्यान्यनको चरणमा द्विविधा र जटिलता आपसी छलफल, समन्वयबाट हल गर्ने संस्कृतिको विकास संघीय प्रणालीको अभ्यासमा सुखद् पक्ष भएको उनले बताए ।

तीनजनालाई सम्मान

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न जातजातीको झाँकी, विद्यार्थी, नेपाल प्रहरी ससत्र प्रहरी र नेपाली सेनाको टोलीले मार्च पास गरेको थियो ।  संविधान दिवस विशेष कार्यक्रमका अवसरमा प्रदेश सरकारले विभिन्न तीन विधामा योगदान पु¥याउने प्रदेश १ का तीनजनालाई सम्मान गरेको छ ।

प्रदेश १ सरकारले राष्ट्रिय गानका रचनाकार ब्याकुल माइला (प्रदिपकुमार राई) २४ पटक सगरमाथा आरोहण गरी विश्व कीर्तिमान कायम गरेका पर्वतारोही कामिरिता शेर्पा र धाविका मिरा राईलाई जनही पाँच–पाँच लाख नगद सहित सम्मान गरेको हो ।

कार्यक्रममा झाँकी तथा मार्च पासमा उत्कृष्ट समुहलाई पुरस्कृति गरिएको थियो । मुल्याङकनका आधारमा झाँकी तर्फ किरात राई यायोख्खा विराटनगर समितिलाई नगद ३० हजार सहित प्रथम पुरस्कार प्रदान गरिएको थियो ।

वातर सरदार समाजलाई २० हजार सहित दोस्रो र मुडियारी मुण्डन समाजलाई नगद १० हजार सहित तृतीय पुरस्कार प्रदान गरिएको थियो । त्यस्तै मार्च पास तर्फ पोखरी स्कुल विराटनगर प्रथम भएको थियो भने सत्यनारायण स्कुल विराटनगर दोस्रो भएको थियो ।

मुख्यमन्त्रीको सम्बोधनमा मैदान रित्तै

शुक्रबार बिहान प्रभाव फेरी निकालिएपछि सहिद रंगशालामा सुरु भएको कार्यक्रममा १० हजार भन्दाबढी मानिसको सहभागिता थियो । तर मार्च पास र झाँकी प्रदर्शनपछि मुख्यमन्त्री शेरधन राईले सम्बोधन गर्ने क्रममा रंगशाला खाली भयो ।

विहान साढे नौ बजे मुख्यमन्त्रीले सम्बोधन गर्नुअघि विद्यार्थीसँगसँगै सरकारी कर्मचारी अन्य सहभागी पनि सभास्थलबाट बाहिरिए । निर्धारित समय भन्दा करिब आधा घण्टा ढिलो सुरु भएको कार्यक्रममा सरकारी कर्मचारीहरुलाई अनिवार्य उपस्थीतिकालागि उर्दी जारी भएको थियो । ¥यालीमा सहभागि भएका कर्मचारीहरु कार्यक्रम नसकी निस्किएपछि कार्यक्रम पनि चाँडै समापन गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment