Comments Add Comment

यौन दुर्व्यवहारको आरोप लागेका स्वामी चिन्मयान्नद पक्राउ, १४ दिनका लागि जेल चलान

काठमाडौं । भारतका पूर्वगृह राज्यमन्त्री स्वामी चिन्मयानन्दलाई एसआईटी टोलीले उनकै आश्रमबाट पक्राउ गरेको छ ।

बीबीसीले जनाए अनुसार चिन्मयानन्दलाई शुक्रबार विहान उनकै आश्रमबाट एसआईटी टोलीले पक्राउ गरी नजिकैको थाना लगेको थियो । एसआईटी टोलीले चिन्मयानन्दको स्वास्थ्य परीक्षण समेत गराएको थियो । जिल्ला अस्पतालमा उनको स्वास्थ्य परीक्षणपछि एसआईटी टोलीले चिन्मयानन्दलाई मजिस्ट्रेट कोर्टमा पेश गरेको थियो । मजिस्ट्रेट कोर्टले उनलाई १४ दिनको लागि जेल चलान गरेको छ ।

उत्तर प्रदेशका प्रहरी महानिर्देशक ओपी सिँहका अनुसार चिन्मयानन्दलाई उनकै आश्रमबाट पक्राउ गरिएको हो । अदालतले उनलाई न्यायिक हिरासतमा पठाएको सिँहले बताए । सिँहले भने, ‘चिन्मयानन्दमाथि विस्तृत अनुसन्धान गर्यौं । पीडितको भिडियोको फोरेन्सिक अनुसन्धान पनि गरिएको थियो । उनीमाथि हामीले बलत्कारको मुद्धा दर्ता गरेका छौं ।’

समीरात्माज मिश्राका अनुसार चिन्मयानन्दलाई धारा ३७६ सी अन्तर्गत मुद्धा दर्ता गरिएको छ । जस अनुसार व्यक्तिले आफ्नो शक्ति र पदको प्रयोग गरेर कसैलाई यौन दुर्व्यवहार गरेको छ ।

यो पनि पढ्नुहोस स्वामी चिन्मयानन्दमाथिको यौन दुर्व्यवहारको आरोप के हो ?

शाहजहाँपुरको एसएस कानून कलेजमा अध्ययनरत एक छात्राले आफूमाथि शोषण, अपहरण र बदमास गरेको आरोप लगाएकी छन् । यस अघि चिन्मयानन्दलाई शाहजहाँपुर मेडिकल कलेज, लखनउबाट उपचारका लागि पठाइएको थियो ।  तर, उनी लखनउ गएनन् र आश्रममा फर्केका थिए । अर्को तर्फ, विद्यार्थी र उनको परिवारले उनलाई प्रशासनबाट सहयोग नपाएको आरोप लगाउँदै आएका छन् ।

के थियो घटना ?

शाहजहाँपुरमा रहेको कानुन कलेजमा अध्ययन गर्ने उक्त छात्राले एउटा भिडियो पोष्टमार्फत उनलाई ‘सन्त समाजको एक ठूला नेता’ विरुद्ध धेरै युवतीहरूलाई शोषण र धम्की दिएको आरोप लगाएकी छिन् । आफू स्वयं र परिवारका सदस्यहरुको समेत ज्यान खतरामा रहेको धारणा उनीले भिडियोमा व्यक्त गरेकी थिइन् । उक्त भिडियो भाइरल बनेको थियो ।

यौन शोषणको आरोप लगाउने युवती स्वामी चिन्मयानन्दकै कलेजमा अध्ययन गर्ने विद्यार्थी हुन् । स्वामी चिन्मयानन्द युवती अध्ययन गर्ने कलेजको व्यवस्थापक र मालिक हुन् । यो भिडियो भाइरल हुनु भन्दा दुई दिनअघि स्वामी चिन्मयानन्दले ‘चन्दा उठाउने र ब्ल्याकमेल गर्ने धम्की’ दिने गरेको आरोपमा प्रहरीमा उजुरी परेको थियो ।

को हुन् चिन्मयानन्द ?

पूर्वभाजपा सांसद स्वामी चिन्मयानन्द अटल बिहारी वाजपेयीको नेतृत्वमा एनडीए सरकारमा गृह राज्यमन्त्री थिए । उनी राममन्दिर आन्दोलनका एक ठूला नेता पनि हुन् । शाहजहाँपुरमा उनको आश्रम छ । उनी धेरै शैक्षिक संस्थाको व्यवस्थापनसँग सम्बन्धित व्यक्ति पनि हुन् ।

आठ वर्षअघि शाहजहाँपुरकी अर्की महिलाले पनि स्वामी चिन्मयानन्दविरुद्ध यौन दुव्र्यवहार र उत्पीडनको मुद्दा दर्ता गरेकी थिइन् । उनी स्वामी चिन्मयानन्दको आश्रममै बस्थिन् । राज्यमा भाजपा सरकार गठन भएपछि सरकारले उनीविरुद्ध लागेको मुद्धा फिर्ता लिएको थियो । तर, पीडित पक्षले सरकारको यो निर्णयलाई चुनौती दिँदै उच्च अदालतमा मुद्धा दर्ता गर्‍यो । अहिले यो मुद्धा उच्च अदालतले मुल्तवीमा राखेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment