Comments Add Comment

बेथिति पन्छाएर समृद्धिका लागि अघि बढौं : मुख्यमन्त्री पौडेल

३ असोज, हेटौंडा । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले मुलुकको समृद्धिका लागि राजा महाराजाको नाममा रहँदै आएको बेथितिलाई पन्छाएर अघि बढ्नु पर्ने बताएका छन् ।

मुलुकलाई समृद्धि तर्फ लैजानका लागि सबै एकजुट हुनुको विकल्प नभएको भन्दै उनले परिवर्तनलाई आत्मसाथ गरेर अघि बढ्न सबैलाई आव्हान समेत गरे ।

संविधान दिवसको अवसरमा शुक्रबार हेटौंडामा आयोजित कार्यक्रममा मुख्यमन्त्री पौडेलले एक अर्कालाई दोष लगाउने प्रवृत्तिलाई त्यागेर मुलुक बनाउने अभियानमा लाग्नु पर्ने बताए ।
संघीयता कार्यान्वयनका लागि प्रदेश सरकारले आवश्यक नीति नियम, पूर्वाधार र जनशक्ति व्यवस्थापनको काम पूरा गरेको उनले बताए ।

मुख्यमन्त्री पौडेलले दम्भलाई त्योगेर सहकार्य गरी अघि बढ्न सके मात्रै मुलुकले दीगो विकास हासिल गर्न सक्ने बताए । सबै खालका विभेदको अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक, समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाज निर्माण गर्ने ग्यारेन्टी संविधानले गरेको उनले बताए ।

तीनै तहका सरकार जनताको सुख र समृद्धि प्राप्तिका लागि गठन भएको भन्दै मुख्यमन्त्री पौडेलले देशभित्रै उद्यम ब्यवसाय गर्ने युवाहरुलाई प्रोत्साहन गरिने बताए ।

गत वर्षको अनुभवको आधारमा बजेट कार्यान्वयन गरिने भन्दै मुख्यमन्त्री पौडेलले मुलुक छोडेका युवालाई स्वदेश फर्काउने वातावरण तयार गरिने बताए । हातमा सिप र पाखुरीमा बल भरिएका युवाहरुलाई राष्ट्र निर्माणको अभियानमा समावेश गर्न सके मात्रै मुलुकको समृद्धि सम्भव हुने उनको भनाइ थियो ।

प्रदेश तहबाट निर्माण गर्नु पर्ने कानूनको पहिचान गरी हालसम्म ४५ वटा विधेयक प्रदेशसभाबाट पारित गरेको र ३८ वटा प्रमाणीकरण समेत भइसकेकको मुख्यमन्त्री पौडेलले बताए ।

कार्यक्रममा प्रदेश ३ का प्रदेश प्रमुख अनुराधा कोइराला, सभामुख सानुकुमार श्रेष्ठ, प्रमुख प्रतिपक्ष दलका नेता इन्द्रबहादुर बानियाँ, प्रतिनिधिसभा र प्रदेशसभाका सांसद, जनप्रतिनिधि, कर्मचारी, सुरक्षा निकाय, संघसंस्थाका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment