Comments Add Comment

पुस्तक चर्चा : गुठी व्यवस्थादेखि अन्तरदेशीय नेपाली कथासम्म

४ असोज, काठमाडौं । डा. गोविन्द टण्डन मूलतः संस्कृतिविदका साथै पशु अधिकारवादी पनि हुन् । नेपालको सांस्कृतिक सम्पदामा पनि उनको विशेष रुचि छ । लामो समयसम्म पशुपति विकास कोषका सदस्यसचिव रहेका टण्डनलाई नेपालको गुठी कानुन, गुठीको इतिहास र यससँग जोडिएका जनताका भावनाको पनि राम्रो ज्ञान भएको देखिन्छ । यही ज्ञानलाई उनले आफ्नो नयाँ पुस्तक ‘नेपालमा गुठी व्यवस्था’मा पोखेका छन् ।

पुस्तकमा नेपालीहरुको सांस्कृतिक एवं धार्मिक चेतको उनले महत्वपूर्ण पाटोको ब्याख्या गरेका छन् । यसअघि आफ्नै नेतृत्वमा बत्तीसपुतलीमा अवस्थित रामचन्द्र मन्दिरको निर्माण र व्यवस्थापन गरेका टण्डनका अनुभवहरु पनि पुस्तकमा पढ्न पाइन्छन् ।

पशुपति क्षेत्रको सांस्कृतिक पक्षमा विद्यावारिधि गर्दा संकलन गरिएका ज्ञानलाई पुस्तकमा व्यवस्थित तरिकाले राखेका छन् । यद्यपि उनले पुस्तकलाई पशुपति क्षेत्रमा मात्र सीमित गरेका छैनन् । यसमा नेपालका धेरैजसो गुठी क्षेत्रको परिचय र यसका सम्भावनाहरुको वर्णन गरेका छन् ।

मातृभाषा साहित्यको इतिहास

नेपाल प्रज्ञा प्रतिष्ठानले यो साता मातृभाषाका साहित्यको अध्ययन गर्नेहरुका लागि महत्वपूर्ण पुस्तक सार्वजनिक गरेको छ । ‘मातृभाषा साहित्यको इतिहास’ नामक उक्त पुस्तकमा नेपालमा बोलिने सयभन्दा बढी भाषाहरुमध्ये साहित्य लेखिएका महत्वपूर्ण भाषाहरुलाई व्यवस्थित रुप दिएको छ ।

लिम्बू, थारु, मैथली, तमाङ्ग, मगर, राई, भोजपुरी, अवधि जस्ता भाषाहरुमा के कस्ता साहित्य लेखिएका छन्, त्यसको शिलिसिलेवर प्रस्तुति यो पुस्तकमा पढ्न पाइन्छ ।

प्रज्ञा प्रतिष्ठानका तत्कालीन प्राज्ञ तथा कवि श्रवण मुकारुङ र अध्येता पदम राईको संयुक्त खोजमा आएको यो पुस्तकको प्रकाशनले मातृभाषाका सामग्री खोजिरहेका अध्येताहरुलाई केही लुकेका सामग्री दिने छ ।

 

अन्तरदेशीय नेपाली कथाहरु

गैरआवासीय नेपाली संघको संयोजनमा प्रज्ञा प्रतिष्ठानले यो साता ‘अन्तरदेशीय नेपाली  कथाहरु’को प्रकाशन गरेको छ । विभिन्न अवसर र बाध्यताले स्वदेश छाडेका साहित्यकारहरुको खोजी गरेर उनीहरुका कथाहरुलाई पहिलो पटक यो पुस्तकले व्यवस्थित प्रकाशन गरेको छ ।

यो पुस्तकमा  भारतमा रहेका साहित्यकारदेखि जापान र अमेरिकासम्म छरिएका साहित्यकारहरुका कथाहरुलाई स्थान दिइएको छ । यो पुस्तकले विदेशमा रहेका नेपाली साहित्यकारका रचना कति शक्तिशाली छन् भन्ने छनक पनि दिएको छ । पुस्तकमा ५५ कथाहरु सङ्ग्रहित छन् ।

सबैभन्दा बढी कथा अमेरिकी नेपालीका छन् भने सबैभन्दा कम स्पेन, पोर्चुगल, ताइवान, जर्मनी र बेल्जियमका छन् । ती देशका एक एक जना साहित्यकारका कथा समेटिएका छन् । जापानका दुई साहित्यकारलाई पुस्तकमा समेटिएका छ । खाडी मुलुकका साहित्यकारहरुलाई भने समेटिएको छैन ।

पृथ्वीको आविष्कार

लेखकको नाम छ- सुन्दर कुरुप । पुस्तकको  नाम भने पृथ्वीको आविष्कार । बेला-बेलामा पत्रपत्रिकामा लेख्न रुचाउने सुन्दर कुरुपको कविता सङ्ग्रह ‘पृथ्वीको आविष्कार’ कुनामा पारिएका पृथ्वीवासीका पक्षमा बोल्ने सुन्दर कविताहरुको सङ्ग्रह हो । देश, कालभन्दा माथि उठेर कविताहरुमा मानवताका पक्षमा पुस्तकले आवाज उठाएको छ । सत्ताको विरोध मात्र पुस्तकको लक्ष्य छैन, समाधानका उपाय पनि बताएको छ । केही कविताहरु दार्शनिक भनाइ जस्ता लाग्छन् ।

छपक्कै मनमा बसेकाहरु

गणेश रसिकको नाम गायकका रुपमा जति चर्चित छ, कविका रुपमा पनि उत्तिकै प्रख्यात छ । ५० वर्षअघि लेकाली समूहका रुपमा उनको गायन गाउँघरमा निकै प्रख्यात थियो । उनले रेडियो नेपालमा लामो समयसम्म जागीर खाए । रेडियो नेपालमा रहँदा उनको संगत नेपालका सबै जसो प्रख्यात व्यक्तिहरुसँग हुँदै गयो । तिनै व्यक्तिहरुसँगको उठबसहरुको अनुभवहरुको सङ्गालो हो-छपक्कै मनमा बसेकाहरु ।

यसअघि उनले विभिन्न किसिमका संस्मरणका संगालो प्रकाशन गरिसकेका छन् र ती निकै लोकप्रिय पनि छन् । ती सबै अनुभवलाई साङ्गि्रला बुक्सले एकमुष्ठ प्रकाशन गरेको छ । जसको पछिल्लो भर्सन हो-छपक्कै मनमा बसेकाहरु ।

यसअघि उनले क्षितिजलाई छुन खोज्दा र एउटा सारङ्गीभित्रको कथा नामक दुई कथा सङ्ग्रह प्रकाशन गरेका थिए । त्यसबाहेक रसिकका गीत नामक गीति सङ्ग्रह पनि उनको चर्चित पुस्तक  हो ।

आवरण र भिखारी

केही समययता लघुकथाका क्षेत्रमा निकै काम भएका छन् । छोटो मीठो मात्र होइन, तीखो भएकै कारण लघुकथा पढ्ने पाठकको सङ्ख्या ठूलो छ । यही कारण बजारमा लघुकथा सङ्ग्रह पनि निस्किरहेका छन् ।

यही सन्दर्भमा यो साता ‘आवरण’ र ‘भिखारी’ नामक दुई लघुकथा सङ्ग्रह बजारमा आएका छन् । ‘आवरण’ टीकाराम रेग्मीको पुस्तक हो भने भिखारी एकदेव अधिकारीको पुस्तक हो ।

यो पनि पढ्नुहोस किताब नपढ्ने हामी नेपाली !

टीकाराम अधिकारीले यसअघि ‘अनुनाद’ नामक नियात्रा सङ्ग्रह र विपर्यास लघुकथा सङ्ग्रह प्रकाशन गरेका छन् । उनको पकड भने लघुकथामै देखिन्छ । लघुकथाबाहेक उनी शिक्षक र विद्यार्थीका लागि पाठ्यपुस्तक र सन्दर्भ ग्रन्थ लेखनमा पनि रुचि राख्छन् । अंग्रेजी भाषा साहित्यमा विशेष रुचि राख्ने अधिकारीका लघुकथाहरुमा पनि पोस्टमोर्डन शैलीको छनक पाइन्छ ।

आवरणभित्रका लघुकथाहरुमा सामयिक र राजनीतिक व्यङ्ग्यहरु बढी देखिन्छन् । हिन्दी भाषी साहित्यकारहरुका बीचमा एकदेव अधिकारीको नाम चर्चामा छ । उनी हिन्दी भाषी पत्रिकाहरुमा नियमित लेखिरहन्छन् । नेपाली साहित्यलाई हिन्दी भाषामा र हिन्दी भाषाका चर्चित कृतिहरुलाई नेपाली भाषामा अनुवाद गर्नु उनका मुख्य सोक हो ।

‘भिखारी’ लघुकथा सङ्ग्रहभित्र उनले नेपाली समाजभित्रका भिन्न-भिन्न सोचहरुलाई मिलाएर प्रस्तुत गरेका छन् । यसका धेरै कथाहरु यसअघि हिन्दी भाषामा प्रकाशन भइसकेका छन् । ‘स्वको खोजी’ पनि अधिकारीको पुस्तक हो ।

अनुक्रोश

किशोरवय कौतुहलको उमेर हो । यही उमेरलाई आधार बनाएर लेखिएको ‘गुलाबी उमेर’ ले बजारमा केही सातादेखि चर्चामा छ । यस्तै अर्को उपन्यास अनुक्रोष पनि बजारमा आएको छ । नानी बिबु लेखक रहेको यो पुस्तकले पनि किशोर उमेरदेखि विवाह हुन लागेकी एउटी युवतीको जीवनमा आइपर्ने घटना र त्यसले उसको जीवनमा पार्ने प्रभावको वर्णन गरेको छ ।

मेरो घाम

पेशाले शिक्षक सूर्यप्रसाद लाकोजु काभ्रे जिल्लाका चर्चित कविमध्ये एक हुन् । स्थानीय साहित्यकारहरुका अभिभावकसमेत रहेका लाकोजुले पछिल्लो समय ल्याएको पुस्तक मेरो घामभित्र भविश्यका आशालाग्दा सङ्केत देख्न सकिन्छ । ‘मेरो घाम’ कविता सङ्ग्रहका केही कविताले नेपाली कविताको धार परिवर्तन गर्ने क्षमता राख्छन् ।

यो पनि पढ्नुहोस साताका पाँच पुस्तक : बढ्यो गैरआख्यानको बजार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment