Comments Add Comment

तिलोत्तमामा लगानी गर्नेलाई करमा छुटै-छुट

४ असोज, बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले काठमाडौं बाहिर पहिलोपटक आयोजना गरेको लगानी सम्मेलनमा लगानीकर्ताहरुलाई विभिन्न कर छुटका आकर्षक योजनाहरु अघि सारेको छ ।

लगानी सम्मेलनका क्रममा सम्झौता हुने परियोजनाहरुका लागि रोजगारीका आधारमा व्यावसायिक करमा विभिन्न छुट दिने गरी नगरकार्यपालिका वैठकले निर्णय गरेको छ ।

लगानी सम्मेलनमा सम्झौता हुने परियोजनाका लागि कर छुट, जग्गा प्राप्ति लगायतमा लगानीकर्तालाई सहुलियत प्रदान गरिने नगर प्रमुख वासुदेव घिमिरेले बताए ।

नगरपालिकामा अत्यावश्यक परियोजना कार्यान्वयनका लागि नगरपालिकाले जग्गा लिजमा उपलब्ध गराउने नीति लिइएको नगर प्रमुख घिमिरेले जानकारी दिए । ‘लगानीकर्ताहरु जग्गा नपाएर फर्किनुपर्ने अवस्था आउन नदिन हामीले लिजमा जग्गा उपलव्ध गराएर परियोजना अघि बढाउन अनुमति दिन्छौं’ घिमिरेले भने ।

परियोजनासम्म जाने र आउने बाटोको पहुँच सुविधा नगरपालिकाले दिने भएको छ । सडक पूर्वाधारले परियोजनालाई जोडेसँगै परियोजना सफल रुपमा अगाडि बढ्ने भएकाले बाटोको पहुंच सुविधा नगरपालिकाले दिने निर्णय भएको उनले बताए ।

त्यसैगरी नगरपालिकाले न्यूनतम ५० जनासम्मलाई रोजगारी दिने परियोजनालाई स्थापनाको पाँच वर्षसम्म व्यावसायिक करमा ५० प्रतिशत छुट दिने योजना बनाएको छ ।

‘व्यवसायीको माग र समस्या हामीले जतिसक्दो सम्बोधन गर्ने प्रयास गरेका छौं’-नगर प्रमुख घिमिरेले भने ।

त्यस्तै न्यूनतम तीनसय जना सम्मलाई रोजगारी दिने परियोजनालाई स्थापनाको १० वर्ष सम्म व्यावसायिक करमा ७५ प्रतिशत छुट दिइने नगरपालिकाको योजना छ । तीनसय जना भन्दा माथि पांचसय जना सम्मलाई रोजगारी दिने परियोजनालाई स्थापनाको १२ वर्ष सम्म व्यावसायिक करमा ९० प्रतिशत छुट दिइनेछ । पांचसय जना भन्दा माथि रोजगारी दिने परियोजनालाई स्थापनाको १५ वर्षसम्म व्यवसायिक करमा शतप्रतिशत छुट दिइने निर्णय भएको प्रवक्ता सुरेन्द्र श्रीले जानकारी दिए ।

यसैगरी परियोजनाको भवन, टहरा तथा संरचना निर्माणको लागि नगरपालिकाबाट नक्सा पास गर्दा ५० देखि तीनसय जना सम्मलाई रोजगारी दिने परियोजनालाई ५० प्रतिशत नक्सा पास दस्तुरमा छुट दिने नीति लिएको पनि प्रवक्ता श्रीले बताए ।

कृषिमा आधारित दुग्ध उद्योग, मत्स्यपालन, माछाभुरा उत्पादन, प्रशोधन एवं प्याकेजिङ, कोल्ड स्टोर आदि परियोजनालाई स्थापनाको सातवर्ष सम्म नगरपालिकाले लिने व्यवसायिक कर र नक्सा पास दस्तुरमा ५० प्रतिशत छुट दिइने छ ।

तिलोत्तमा एकीकृत फोहरमैला व्यवस्थापन केन्द्रलाई परियोजना स्थापनाको ७ वर्षसम्म नगरपालिकाले लिने व्यवसायिक करमा लाग्ने रकम तथा नक्सा पास दस्तुरमा ६० प्रतिशत छुट दिइने उनले जानकारी दिए ।

पर्यटन तथा मनोरञ्जनसँग सम्बन्धित होटल तथा मनोरञ्जनसँग सम्बन्धित परियोजनालाई स्थापनाको ५ वर्ष सम्म नगरपालिकाले लिने व्यवसायिक करमा लाग्ने रकम तथा नक्सा पास दस्तुरमा ५० प्रतिशत छुट दिइने छ ।

न्यूनतम ५० जनालाई रोजगारी दिने परियोजनालाई ५ वर्षसम्म सम्पत्ति करमा शत प्रतिशत छुट र परियोजनाका लागि जग्गा खरिदमा सहजीकरण गरिनुका साथै विद्युत सेवाका लागि पनि सहजिकरण हुने प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाले बताए । लगानी सम्मेलनमा नगरपालिकाले विभिन्न २२ वटा परियोजनाका स्टल राख्ने छ । ती मध्ये सम्मेलनकै दिन आधा दर्जन परियोजनामा लगानी सम्झौता हुने अपेक्षा नगरपालिकाको छ ।

तिलोत्तमाको कोटिहवास्थित टाइगर प्यालेस रिसोर्टमा हुने लगानी सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको र स्वदेशी र विदेशी समेत गरी पांच सय लगानीकर्ता सहभागी हुने सापकोटाले बताए ।

पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्ने सम्मेलनमा अर्थमन्त्री डा. युवराज खतिवडा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई, सातवटै प्रदेशका मुख्यमन्त्री र आर्थिक मामिला तथा योजना मन्त्री,राष्ट्रिय योजना आयोगका पदाधिकारी,नीजि क्षेत्रका अगुवा व्यवसायीहरु सहभागी हुने र लगानी भित्राउने सम्बन्धमा समूहगत छलफल हुने कार्यक्रम तय भएको लगानी सम्मेलन सचिवालयका विष्णु अर्यालले जानकारी दिए । स्वदेशी लगानीकर्तालाई प्राथमिकता दिइएको सम्मेलनमा ५० अर्ब  रुपैयाँ भित्राउने लक्ष्य रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment