Comments Add Comment

स्वस्थ रहन घर पालुवा जनावर

कुकुरलाई सबैभन्दा बफादार घरपालुवा जनावर मानिन्छ । त्यसैले अधिकांश मानिसहरुले आफ्नो घरमा कुकुर पाल्ने गरेका हुन्छन् । आजको दिनमा कुकुर पाल्नु केवल आफ्नो स्ट्याटस सिम्बोलको कुरामात्र रहेन, अहिले खुशी रहन, स्वस्थ रहन, ऊर्जावान व्यक्तित्व बनाउन तथा सकारात्मक सोचाइका लागि समेत कुकुर पाल्नु उपयुक्त मान्न थालिएको छ ।

एउटा विश्वव्यापी भनाइ के छ भने, कुकुर पाल्ने ६५ वर्षका व्यक्तिहरु आफ्नो वास्तविक उमेरभन्दा १० वर्षभन्दा कम उमेरका देखिन्छन् । उनीहरु हरेक समय ऊर्जाले भरपूर देखिन्छन् । कुकुर पाल्ने व्यक्ति सधैं तनावमुक्त र हँसिलो स्वभावको देखिन्छ ।

हालसालै भएको एउटा सर्वेक्षणका अनुसार कुकुर पाल्नाले घरका वृद्ध-वृद्धाहरुको मानसिक र शारीरिक स्वास्थ्यमा पनि धेरै सकारात्मक प्रभावहरु पर्छ ।

बर्लिनस्थित यूनिभर्सिटी अफ सेन्ट ऐन्ड्रयूजका शोधकर्ता फेन्ग झिक्याङका अनुसार ६५ वर्षभन्दा माथिका व्यक्तिहरुको शारीरिक सक्रियता बढ्नुको सीधा सम्बन्ध कुकुर पाल्नुसँग रहेको पाइन्छ । जुन वृद्ध-वृद्धाले कुकुर पालेका छन्, उनीहरु कुकुर नपाल्ने समकक्षीहरुको तुलनामा १२ प्रतिशत सक्रिय रहेको पाइन्छ । कुकुर मालिक हुनुको बोध व्यक्तिगत सक्रियतालाई प्रेरणा प्रदान गर्छ भने वृद्ध-वृद्धाहरुलाई सामाजिक सहयोगको अभाव खड्किँदैन । कुकुर पाल्नाले नराम्रो मौसम, बिरामी र निजी सुरक्षा जस्ता धेरै समस्याहरुलाई समाधान गर्न पनि सिकिन्छ ।

एउटा सर्वेक्षणअनुसार कुकुर पाल्ने शारीरिक रुपले मात्र सक्रिय नभएर उनीहरुको गतिशीलताको स्तर पनि आफूभन्दा १० वर्ष कम उमेरका व्यक्तिहरुको जस्तै थियो ।

४० देखि ४५ वर्षको उमेरसम्म हामी सबै आफ्नो करियर, विवाह, परिवार र बच्चाको रेखदेख आदिमा व्यस्त हुन्छौं । ४५ वर्षको उमेरपछि हाम्रो शरीरलाई विस्तारै बुढेसकालले छुन थाल्छ । ५० देखि ५५ वर्षको उमेरसम्म पुग्दा नपुग्दै हामी रिटायरमेन्ट र खालीपनको सोचाइले दिक्क हुन थाल्छौं । त्यस्ता विभिन्न किसिमका तनाव हाम्रो मानसिक स्वास्थ्यमा मात्र नभएर हाम्रो शारीरिक स्वास्थ्यमा पनि नराम्रो असर पुर्‍याउँछ । त्यस्तो स्थितिमा घरपालुवा कुकुरले तपाईंलाई यी समस्याहरु कम गर्न सहयोग पुर्‍याउँछ ।

कुकुर पाल्नुका फाइदाहरु

घरमा कुकुर भएको खण्डमा तपाईं दिनहुँ छिटो उठेर त्यसलाई घुमाउन लिएर जानुहुन्छ । साँझमा पनि त्यसलाई लिएर ‘इभिनिङ वाक’मा जानुहुन्छ । त्यसप्रकार तपाईं प्रतिदिन ३ देखि ४ किलोमिटरसम्म हिँड्नु हुन्छ । त्यसो गर्दा तपाईंको शरीरले बिहानको ताजा र सफा हावा प्राप्त गर्नुको साथै रक्त सञ्चालन पनि सही तरिकाले हुन्छ । तपाईंको सम्पूर्ण शरीरको व्यायाम हुन्छ साथ-साथै सम्पूर्ण तनाव पनि हट्छ ।

घरमा पनि तपाईं कुकुरको रेखदेख गर्नुहुन्छ । त्यसक्रममा तपाईं कुकुरलाई खाना खुवाइदिने, नुहाइदिने, औषधि खुवाउने र खोप लगाउन भेटेनरीसम्म लिएर जाने गर्नु हुन्छ । त्यसो गर्दा आफ्नो घरमा पालेको कुकुरको मात्र होइन, आफ्नो पनि ध्यान राख्ने बानी बस्छ साथै समय पनि राम्रोसँग बित्छ ।

जब तपाईं घरमा कुकुर पाल्नु हुन्छ, त्यसबाट फैलने ब्याक्टेरियाप्रति तपाईं सतर्क रहनुहुन्छ । कुकुरको शरीरबाट झर्ने रौंलाई हटाउन तपाईं दिनहुँ घरको सफाइ गर्नु हुन्छ । त्यसो गर्दा तपाईंको घर सफा पनि हुन्छ ।

कुकुर पाल्नाले तपाईंको सामाजिक जीवन पनि बढ्छ । भनिन्छ कुकुरसाथमा लिएर हिँड्न निस्कने व्यक्तिहरुको अञ्जान व्यक्तिहरुसँग छिट्टो मित्रता हुन्छ ।

कुकुरले क्यान्सर रोगसमेत पत्ता लगाउँछ भन्ने कुराले तपाईं आश्चर्यमा पर्न सक्नु हुन्छ । यो कुरा एक अध्ययनले पत्ता लगाएको हो । न्यूजर्सी निवासी एलिनालाई आफूलाई स्तन क्यान्सर भएको कुरा थाहा थिएन । उनले पालेेको कुकुर दिनहुँ उनी भएको ठाउँमा आएर उनको छातिमा टाउको राखेर उदास हुन्थ्यो । त्यो कुकुरले धेरै समयसम्म एलिनाको त्यो भाग सुँघ्ने र उदास भएर खाना नखाइ बस्ने गर्दथ्यो । आफ्नो कुकुरले किन यस्तो गरिरहेको छ भन्ने कुरा एलिनालाई थाहा थिएन । तर, ४ महिनापछि एलिनालाई आफ्नो स्तनमा एउटा ग्रन्थी पलाएको थाहा भयो । त्यसको जाँच गर्दा उनलाई स्तन क्यान्सर भएको पत्ता लाग्यो ।

एलिनालाई सही समयमा आफ्नो स्तन क्यान्सरको बारेमा थाहा भयो, त्यसको सफल शल्यक्रिया भयो र आज एलिना एकदम ठीक छिन् । अहिले उनको घरमा पालेको कुकुर निकै खुशी छ र अहिले त्यो कुकुरले एलिनाको छाती पनि सुँघ्दैन ।

यदि आफ्नो मालिकको शरीरको कुनै विशेष भागमा यदि कुकुरले बारम्बार चाट्छ भने जचाउँदा धेरैपटक त्यो ठाउँमा क्यान्सर भएको पाइएको छ । कुकुरमा घ्राण शक्ति धेरै नै हुन्छ । कुकुरमा धेरै किलोमिटर टाढासम्म सुँघ्ने क्षमता हुन्छ । त्यसैले हिँजोआज कुकुरलाई क्यान्सर पत्ता लगाउनको लागि प्रशिक्षित पनि गरिन थालिएको छ । बम, बारुद जस्ता कुराहरु पनि कुकुरले सुँघेर पत्ता लगाउँछ । सेना, प्रहरीले अपराधि पत्ता लगाउन कुकुरको प्रयोग गर्ने चलन त विश्वव्यापी नै छ ।

त्यसबाहेक कुकुरमा विशेष प्रकारको संवेदनशीलता पनि हुन्छ, जसकारण चोर, बदमासको व्यवहारलाई चिन्छ र भुक्न थाल्छ । घरमा कुकुर पालिएको छ भने तपाई निश्चिन्त भएर घर बाहिर जान सक्नु हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment