Comments Add Comment

एसियाका बाख्रा विज्ञहरूको सम्मेलन चितवनमा हुने

५ असोज, काठमाडौं । चितवनको कृषि तथा वनविज्ञान विश्वविद्यालयमा एसिया क्षेत्रीय बाख्रा विज्ञ सम्मेलन हुने भएको छ । ‘विकासशील विश्वमा खाद्य तथा पोषण सुरक्षाका लागि बाख्रापालन’ भन्ने मूल नाराका साथ आगामी कात्तिक ३ गतेदेखि ६ गतेसम्म विश्वविद्यालयमा सम्मेलन हुन लागेको हो ।

आइतबार ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा विश्वविद्यालयकी कायम मुकायम उपकुलपति प्रा.डा. शारदा थपलियाले दिएको जानकारीअनुसार नेपाल, चीन, भारत, पाकिस्तान, बंगलादेश, अमेरिका, क्युबा, क्यानडा, इटाली, जापान, हंगेरी, इन्डोनेसिया, फ्रान्स, केन्यालगायत १४ देशका प्रतिनिधिहरुको सम्मेलनमा सहभागीता रहने छ ।

सम्मेलनमा अन्तर्राष्ट्रिय बाख्रा एसोसिएशनका अध्यक्ष डा. वेथ मिलर, आगामी वर्ष हंगेरीमा हुने अन्तर्राष्ट्रिय बाख्रा विज्ञ सम्मेलन २०२० को आयोजक समितिका अध्यक्ष डा. सान्डोर कुकोभिक्स, चीनको हेवई कृषि विश्वविद्यालयका डीन प्रा.डा.यिङ्गजी झाङ, जापानको मिजो विश्वविद्यालयका प्रा.डा. योशिहाकी हायासी लगायतका विषेशज्ञ सहभागी हुनेछन् ।

सम्मेलनमा बाख्रा अनुसन्धान र विकासमा विशिष्ट योगदान पुर्‍याउन सफल वैज्ञानिक, अनुसन्धानदाता, उद्यमी र विद्यार्थीहरुले ३८ बढी मौखिक, ४२ वटा पोष्टरहरु गरी १०७ वटा कार्यपत्रहरु पेश गर्ने सम्मेलनका सदस्य सचिव डा. निराजन भट्टराईले जानकारी दिए ।

सम्मेलनमा बाख्रामा लाग्ने पीपीआर रोग र त्यसको नियन्त्रण, बाख्रा पालन र भ्याक्सिन व्यवसायमा महिला सहभागीता जस्ता विषयमा विज्ञहरुबीच छलफल पनि हुने छ । सम्मेलनले चितवनको कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुरमा वैज्ञानिक बाख्रापालनको नमूना राष्ट्रिय अनुसन्धान तथा स्रोत केन्द्र बनाउने दीर्घकालीन उद्देश्य लिएको सम्मेलन संयोजकसमेत रहेकी कामु उपकुलपति प्रा.डा. थपलियाले जानकारी दिइन् ।

कृषि तथा वनविज्ञान विश्वविद्यालयले यसअघि सन् २०१७ मा भैंसी र सन् २०१८ मा पोल्ट्री विज्ञ सम्मेलन आयोजना गरेको थियो ।

नेपालमा के छ बाख्राको अवस्था ?

पशु सेवा विभागका महानिर्देशक डा. वंशी शर्माले दिएको जानकारीअनुसार नेपालका पशु चौपायाको कुल संख्यामध्ये बाख्राको संख्या सबैभन्दा धेरै अर्थात् १ करोड १६ लाख रहेको छ । विश्वमा करिब ३५१ प्रजातिका बाख्रामध्ये एशिया महादेशमा मात्रै १४६ प्रजातिका बाख्रा पाइन्छन् भने नेपालमा ४ प्रजातिका रैथाने बाख्रा छन् ।

नेपालमा बोर जातको बाख्रालाई व्यवसायिक रुपमा पाल्ने अभियान चलेको छ । यसबाट बढी फाइदा हुने भएकोले व्यवसायिक किसानहरु यसतर्फ आकर्षित हुन थालेका छन् ।

विश्वको कुल बाख्राको संख्याको करीव ९२.५ प्रतिशत एशिया र अफ्रिका महादेशमा पाइने बाख्रा विज्ञ डा. निराजन भट्टराईले जानकारी दिए । विश्वव्यापी बाख्रापालनको तथ्यांक हेर्दा संख्याको आधारमा नेपाल विश्वमा दशौं स्थानमा छ । पहिलो स्थानमा चीन र दोस्रोमा भारत पर्दछन् ।

व्यापार तथा निर्यात प्रवर्द्धन केन्द्रको २०७४/०७५ को तथ्यांकअनुसार नेपालमा गत वर्ष भारत, मलेसिया, इटाली, फ्रान्स, अष्ट्रेलिया, पोल्याण्ड र जर्मनीलगायतका देशबाट करिब ५ अर्ब बराबरको जीवित बाख्रा र मासु आयात भएको छ । जसमध्ये ३ अर्ब २९ करोड बराबरको जीवित बाख्रा र १८ करोडको मासु आयात भएको छ ।

‘नेपालमा व्यवसायिक बाख्रापालनको प्रचुर सम्भावना छ, तर परम्परागत पालन प्रणाली, बाख्रा विशेष दाना उपलब्ध नहुनु, उन्नत घाँस खेती नहुदा समस्या देखिन्छ,’ बाख्राकै विषयमा पीएचडी गरेका डा. भट्टराईले भने, ‘वैज्ञानिक र व्यवसायिक बाख्रापालन, नश्ल सुधार, मूल्य श्रृंखला विकास, उत्पादन विविधीकरण, र दिगो बजार व्यवस्थापन गर्न सके बाख्राको मासुमा हामी आत्मनिर्भर बन्न सक्छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment