Comments Add Comment

मौरीको रानो हराएको त्यो दिन

सन् २००६ को सेप्टेम्बर । अफिसको कामको सिलसिलामा युगान भाइ, रितेश र म सगरमाथा राष्ट्रिय निकुञ्जतिर गएका थियौं । सगरमाथातिरको यात्रा हामी तीनै जनाको लागि पहिलो थियो । अर्कोतिर त्यसै समयमा हाम्रो कार्यालय प्रमुख डा. चन्द्र प्रकाश गुरुङसहितको टोली कञ्चनजंघा संरक्षण क्षेत्र समुदायलाई हस्तान्तरण गर्न ताप्लेजुङ्ग लाग्दै थियो । डा. चन्द्र गुरुङलाई हामी सबै ‘डाक्टर साब’ भनी सम्बोधन गर्थ्यौं ।

त्यहाँ जानको लागि मिंग्मा शेर्पा सरले मलाई काठमाडौं, ओखलढुंगा, ताप्लेजुंग र ताप्लेजुङ्गको घुन्सा रुटको नक्सा को–अर्डिनेटसहित बनाइदेऊ भन्नुभएको थियो । मैले थ्रीडी म्याप कोअर्डिनेटसहित प्रिन्ट गरेर दिएको थिएँ ।

अफिसको माहोल एकदम उत्साहित थियो । किनभने कञ्चनजंघा संरक्षण क्षेत्रलाई नेपाल सरकार वन मन्त्रालयले समुदायलाई हस्तान्तरण गर्दै थियो । सन् १९९७ देखि विश्व वन्यजन्तु संरक्षण कोष (डब्लु.डब्लु.एफ)ले कञ्चनजंघा संरक्षण क्षेत्रमा आर्थिक तथा प्राविधिक सहयोग पुर्‍यार्‍याउँदै आएको थियो र संरक्षण क्षेत्र समुदायलाई हस्तान्तरण गर्न लागिको यो अवसर नेपालका लागि मात्रै होइन, विश्वकै लागि पहिलो थियो ।

युगान भाइलाई फक्दिनतिर छोडेर हामी नाम्चेतिर लाग्यौं । हिरा गुरुङ, हरिस राई, कमल थापा जो मेरा अनन्य साथी थिए, उनीहरुसँग नाम्चेमा भेट भयो । निकुञ्जको कर्मचारी तथा मध्यवर्ती स्थानीय समुदायलाई वन्यजन्तु, यिनका बासस्थान, विचरण क्षेत्रको अनुगमन, नक्सांकनसम्बन्धी तालिम दियौं । हामीले समुदायमा गरेको हरेक कामको विवरण कसरी राख्ने भनेर पनि सिकायौं ।

गोकर्णजंग थापा

भोलिपल्ट अन्तिम दिनको तालिम सकाएर हिरा र रितेशलाई लिएर म होटेलतिर लागेँ । रितेश होटेलमै बस्यो । म भने हिरालाई लिएर उसको कोठामा गएँ । समुदायलाई संरक्षण क्षेत्र हस्तान्तरण गर्ने कार्यक्रम कस्तो भयो होला भन्ने चासो थियो । डाक्टर साब, मिंग्मा सर, डा. हर्क गुरुङ सर, जेनिफर, शरद राई, डीजी साब, डीडीजी नारायण सर कति खुसी हुनुभयो होला भन्ने कौतुहलता थियो । त्यसैले समाचार हेर्न भनेर कोठाको टीभी खोलियो । समाचारको समय सकिइसकेको हुनाले मैले टीभी स्क्रिनमा स्क्रोल भइरहेका समाचारका हेडलाइनतिर नजर दौडाएँ । अलिकति झलक्क ‘हेलिकोप्टर’ शब्द देखें । कौतुहलता झन् बढ्यो । स्क्रोल बारमा आँखा झिपिक्क नहुने गरी सबै पढिराखेँ ।

म त छाँगोबाट खसे जस्तै भएँ । हरिस राई पनि यही कोठामा आउँछ र रमाइलो गरेर बस्नुपर्छ भन्ने योजना भताभुंग भयो । किनभने ताप्लेजुङमा वन राज्यमन्त्री गोपाल राईसहितका २४ संरक्षणकर्मी सवार हेलिकोप्टर सम्पर्कविहीन भएको हेडलाइन टीभीको स्क्रिनमा देखियो । मन भारी भो । अनायासै मेरो मुखबाट निस्कियो– हाम्रो अफिसको रानो चढेको हेलिकोप्टर हरायो । त्यो हेलिकोप्टरमा सवार विश्व वन्यजन्तु कोष नेपालको प्रतिनिधि डा. चन्द्रप्रकाश गुरुङ हाम्रो गुरु हुनुहुन्थ्यो ।

अब यहाँ बसेर हुँदैन, जो जुन हालतमा छौं झोला भिर्ने अनि लुक्ला एरपोर्टतिर कुदने भन्ने योजना बन्यो । त्यसै दिन नाम्चे आएका युगान भाइ र रितेशलाई बोलाउँदै थिएँ, हरिस राई पनि टुप्लुक्क आइपुगे । मैले उनीहरुलाई कञ्चनजंघा संरक्षण क्षेत्र समुदायलाई हस्तान्तरण गर्न गएको टोली सवार हेलिकोप्टर सम्पर्कविहीन भएको जानकारी गराएँ । उनीहरु पनि अवाक भए ।

हामी सबै अपराह्न ४ बजेतिर लुक्ला झर्‍याैं । बास बस्न फक्दिन पुग्ने लक्ष्य थियो । । जोरसल्ले कटेपछि अँध्यारो भयो । अक्करको बाटो तल दूधकोशी नदी सुसाइरहेको थियो । मोबाइलको स्क्रिनको उज्यालोको भरमा करिब ११ बजेतिर हामी फक्दिन पुग्यौं ।

हामीलाई थाक्ने छुट थिएन । मानसपटलमा हेलिकोप्टर, २४ जना अनि आफ्नो अनन्य सरहरुको चित्र घुमिरहेको थियो । उहाँहरु कसैलाई पनि केही नहोस् भनेर कामना गरिरहेका थियौं । भगवान ! नराम्रो समाचार सुन्न नपरोस् । सबै जना सकुशल हुनुहोस् भनेर पुकार गरिरहेका थियौं ।

स्याटलाइट फोनबाट काठमाडौं अफिसमा सम्पर्क गर्दै अपडेट लिने कोसिस पनि गरिरहेका थियौं । हेलिकोप्टर हराएको खबर थाहा पाएदेखि भोक, निद केही पनि लागेन । राति करिब २ बजेतिर ओछ्यानमा एकछिन पल्टिएर ४ बजेतिर उठ्यौं । हामी सबै लुक्ला एयरपोर्ट गयौं । प्लेन चढेर काठमाडौं फर्किन हतारिएका थियौं हामी । यती एयरलाइन्सका कर्मचारीसँग बुझ्दा लुक्लाबाट काठमाडौं फर्किने अरु कोही नभएको थाहा पायौं । युगान, रितेश, हिरा, हरिस, हाम्रै अफिसको काममा गएका कन्सलट्यान्ट कमल राई र मलाई लिएर प्लेन लुक्लाबाट काठमाडौंका लागि उड्यो ।

कालो बादल बाहेक केही देखिँदैन । धेरै समयसम्म कालो बादल बाहेक अरु केही नदेख्दा हामी आत्तियौं । मौसम प्रतिकूल जस्तो लागेर हामी सबै मुखामुख गर्न थाल्यौं । ताप्लेजुङमा हेलिकोप्टर वेपत्ता भएको खबर र हामीलाई छिटो काठमाडौं पुग्ने हतारो भएकाले पनि मनमा धेरै कुराहरु खेले । कतै हामी चढेको प्लेन पनि…।

म सोझै ककपिटमा गएर जीपीएस रिडिङ्ग गरेँ । डिसप्लेमा रुटसँगै छेउँछाउँका ठाउँहरुको नाम हेरेँ । ‘बनेपा’ शब्द देखेँ । खुसी लाग्यो । साथीहरुलाई हामी काठमाडौँ एयरपोर्ट पुग्न लाग्यौं, बनेपा क्रस गर्‍याैं भनेर जानकारी गराएँ । सबै साथीहरु निर्धक्क भए ।

त्रिभुवन विमानस्थलमा ओर्लिएपछि ढुक्क भयो । तर, अफिसको माहोल कस्तो होला ? साथीहरु कति चिन्तामा होलान् ? यस्तै कुराहरु सोच्दा सोच्दै हिरा र युगान ट्याक्सी लिएर आए । हामी त्यही ट्याक्सी चढेर अफिस पुग्यौं । अफिस शोकमा थियो । सबै साथीहरुका आँखा राता थिए । कसैले घरमा जानै मन लागेको, राति अफिसकै सोफामा सुतेको, कोही भुइँमै सुतेको कुरा गर्थे ।

सन्तोषमणि नेपाल सरले हेलिकोप्टरबाट स्याटलाइट फोनमार्फत अन्तिम कुराकानी भएको जीपीएस लोकेसनको बिभिन्न निकायमार्फत खोजी गर्दै हुनुहुन्थ्यो । आङ्ग फुरी शेर्पा दाजु, डा. घनश्याम गुरुङ सर घुन्सामा समुदायलाई उचित परिचालन गरी खोज तथा उद्धार कार्यमा जुट्नु भएको थियो । अनिल मानन्धर सर सबैतिर व्यवस्थापनमा व्यस्त हुनुहुन्थ्यो । कन्चन थापा भाइले पनि भरमग्दुर आफ्नो च्यानल प्रयोग गर्नु भएको थियो । मैले सबै स्याटलाइट फोनको समन्वय गर्दै हेलिकोप्टर दुर्घटना भएको सम्भावित स्थानको नक्सा तयार परेर दिन्थेँ । हामी रानो हराएका कर्मी मौरी जस्तै थियौं, तर धैर्यताका साथ आ–आफ्ना काममा व्यस्त थियौं ।

हेलिकोप्टर दुर्घटना भएको पक्का थियो र त्यसमा सवार व्यक्तिहरु जीवित फेला पार्ने आश पनि मरिसकेको थियो । अन्ततः श्री एयरलाइन्सको हेलिकोप्टर दुर्घटना भएको स्थान पत्ता लाग्यो । दुर्घटनास्थल घुन्साको फले भिर अति नै बिकट थियो । कठिनाइको बाबजुद घनश्याम सर, आङ्गफुरी शेर्पा दाजु, स्थानीय निकाय, नेपाल सरकारका बिभिन निकाय, सुरक्षाकर्मी सबैको अदम्य साहस र सहयोगमा २४ जनाको शव काठमाडौं आइपुग्यो ।

२०६३ असोज ७ गते भएको यो अकल्पनीय दुर्घटनामा तत्कालीन वन तथा भू–संरक्षण राज्यमन्त्री गोपाल राई, राईकी श्रीमती मीना राई, भूगोल तथा योजनाविद डा. हर्क गुरुङ, संरक्षणविद डा. तीर्थमान मास्के, वन मन्त्रालयका तत्कालीन सचिव डा. दामोदरप्रसाद पराजुली, राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु विभागका महानिर्देशक नारायण पौडेलको निधन भएको थियो । यसैगरी विश्व वन्यजन्तु कोष नेपालका प्रतिनिधि डा. चन्द्रप्रकाश गुरुङ, विश्व वन्यजन्तु कोष एसिया प्यासिफिक प्रमुख मिङ्मा शेर्पा, ताप्लेजुङ उद्योग वाणिज्य संघका सदस्य विजय कुमार श्रेष्ठ, ताप्लेजुङका दावा शेर्पा, दुई सञ्चारकर्मीलगायत २४ जनालाई गुमाउनु पर्‍याे ।

आ–आफ्नो धर्म र चलनअनुसार उहाँहरु सबैको अन्तिम संस्कार गरियो । अन्तर्राष्ट्रिय, राष्ट्रिय, स्थानीय तह सबैले संरक्षण क्षेत्रका विशेष व्यक्तिहरु गुमायौं । मैले त्यो सँगसँगै राष्ट्रिय र अन्तर्राष्ट्रिय छबी बनाएका भूगोलविद मेरा गुरुहरु गुमाएँ । आज सम्झन्छु, डा. हर्क गुरुङ जीवित भएको भए नेपालको संघियताको नक्सांकनमा उहाँको योगदान कस्तो हुने थियो होला । म सबै होनहार संरक्षणकर्मीहरुलाई आजीवन सम्झिरहने छु ।

उहाँहरुका बाँकी सपनालाई हामी सबै मिलेर साकार बनाउनु छ । यसो गरेमात्रै दिवंगत संरक्षणकर्मीहरुको सम्मानमा असोज ७ गते मनाइने ‘राष्ट्रिय संरक्षण दिवस’ मनाउनु सार्थक हुनेछ, उहाँहरुप्रति सच्चा श्रदाञ्जली हुनेछ ।

(थापा विश्व वन्यजन्तु कोषमा कार्यरत छन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment