Comments Add Comment

साम्राज्ञीको तर्क–‘स्टारडमले मात्र कहाँ पुग्छ, मुख मात्र हेर्न को आउँछ र ?’

चलचित्र ‘ए मेरो हजुर २’मा काम गर्दा र अहिले ‘रातो टिका निधारमा’मा काम गरिरहँदा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह आफ्नै स्टारडममा अन्तर देख्छिन् । अहिले दर्शक चलाख छन् । कलाकारको अनुहार मात्र हेर्न दर्शक हलसम्म पुग्दैनन् । साम्राज्ञीले यो राम्रोसँग वुझेकी पनि छिन् । उनी भन्छिन्–‘अहिले स्टारडमले मात्र पुग्दैन । कुनै कलाकारको मुख मात्र हेर्न त को आउँछ र ? एउटा राम्रो कथा, राम्रो कलाकार, राम्रो क्यानभास पनि चाहिन्छ । दर्शकको मन छुने चलचित्र बन्नुपर्छ ।’

साम्राज्ञीले अगाडि थपिन्–‘म पनि एउटा दर्शक हुँ । चलचित्रको ट्रेलर मन परेपछि मात्र म हलसम्म जान्छु । चलचित्र हेर्दा यो कलाकार रहेछन् भन्ने त हुन्छ नै । तर, समग्रमा चलचित्र नै राम्रो हुन आवश्यक छ ।’

चलचित्र ‘ए मेरो हजुर २’मा काम गर्दा धेरै दर्शकले ‘ड्रिम्स’की नायिकाले कस्तो काम गरेकी रहिछन् भनेर हेर्न आएको साम्राज्ञीको वुझाई छ । उनले भनिन्–‘धेरैले मेरो काम हेर्न त्यो चलचित्र हेर्न आउनुभएको थियो । तर, अहिले मेरो अनुहारले मात्र चलचित्रलाई पुग्दैन । नेपाली केटा केटी धेरै त गुड लुकिङ नै छन् । तर, म राम्रो काम गर्छु भन्ने इख लिइएन भने काम छैन ।’

चलचित्र ‘रातो टिका निधारमा’को कथा छोएपछि मात्र आफूले काम गरेको उनले सुनाइन् । साम्राज्ञीले भनिन्–‘मैले गाउँले भूमिका गर्दिन भनेर हल्ला फिजाइयो । यो त मैले सोचेको पनि थिइनँ । तर, यो चलचित्र हेरिसकेपछि दर्शकलाई त्यसको पनि जवाफ हुनेछ ।’

अशोक शर्मा निर्मित तथा निर्देशित चलचित्रमा उनले नव–नायक अंकित शर्मासँग रोमान्स गरेकी छिन् । साम्राज्ञी अंकितसँग आगामी दिनमा पनि काम गर्न मन लागेको सुनाउँछिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment