Comments Add Comment

यसरी बन्यो ‘बटौली’को भिडियो

काठमाडौं । तीन महिनामा एउटा फिल्म बन्छ । एक दिनमै एउटा म्युजिक भिडियो तयार हुन्छ । तर, मैले एउटा म्युजिक भिडियो निर्माणमा चार महिना खर्च गरेँ । यो बाध्यता र आवश्यकता दुबै थियो । मैले जुन म्युजिक भिडियो बनाउने जिम्मेवारी पाएको थिएँ, त्यसलाई राम्ररी खिपेर निर्माण गर्छु भनेर लागिपरेँ । करियरको पूर्वार्द्धमा आफ्नो चिनारी बनाउनका लागि पनि म कठिन मेहनत गर्न तयार थिएँ ।

अहिले दिनमा दर्जन हाराहारी म्युजिक भिडियो निर्माण हुन्छ । त्यसमध्ये कति म्युजिक भिडियो हेर्नलायक वा दर्शक/स्रोता रिझाउने खालको हुन्छ ? लेखाजोखा छैन । के चाहिँ भन्न सकिन्छ भने यीमध्ये अधिकांश म्युजिक भिडियोको लगानी ‘बालुवामा पानी’ हुने गरेको छ । अर्थात् निरर्थक हुनेगर्छ ।

म आफ्नो कामलाई सार्थक बनाउने प्रयास र दबाबमा थिएँ ।

हुन त म्युजिक भिडियो निर्माण गर्ने काम त्यति महत्वको नहोला । यद्यपि एउटा संघर्षरत व्यक्तिका लागि यो ‘फलामको च्युरा’ चपाउनु सरह पनि हुनेगर्छ ।

हर्क साउदसँगको भेट

गणेश सेन्चुरीको  ‘लुकिछिपी किन मायामा’ बोलको गीतको भिडियो भर्खर रिलिज गरेर बसेको थिएँ । यसमा पाएको प्रेरणादायी प्रतिकृयाले म पुलकित थिएँ । उक्त भिडियो मैले आफ्नो गृहथलो इलामको विभिन्न भेगमा गरेको थिएँ, जसका लागि तीन महिना पुरापुर समय लागेको थियो ।

भिडियोका दृश्यहरु प्राकृतिक वा स्वभाविक देखियोस् भनेर एउटै दृश्य कैद गर्न तीन दिनसम्म मेहनत गरेँ । उक्त भिडियो सार्वजनिक भएपछि अपेक्षित खुशी प्राप्त भइरहेकै थियो ।

यसै क्रममा मेरो निकट गीतकार दाजु हर्क साउदले बागबजार स्थित आफ्नो आराधना क्याफेमा बोलाएर भन्नुभयो, ‘एउटा गीत छ ‘बटौली’ शीर्षकको तपाईंले भिडियो बनाइदिनु पर्‍यो ।’ उनीसँगै गायक मनीष ढकाल पनि थिए ।

सुरुमा गीत सुन्दा सामान्य लाग्यो । तर, हर्क दाइले त्यसको बखान गरेपछि म तयार भएँ, बटौली बनाउन ।

यसरी लिइयो विपिन कार्कीलाई

मलाई म्युजिक भिडियोलाई कथानक ढंगले पेश गर्न मन लाग्छ । ‘बटौली’मा पनि मैले कथा बुनेको छु । खासगरी यसले एउटा कालखण्ड र ग्रामीण समाजको तस्वीर देखाउँछ ।

यसको भिडियो तयारीको लागि लोकेसन हेर्न म बुटवल र पाल्पा २ पटक गएँ । किनभने यो गीतको शीर्षक ‘बटौली’ बुटवलको पुरानो नाम हो । त्यहाँको स्थानीयतालाई नजिकबाट नियालेर भिडियोमा उतार्ने मेरो उद्देश्य थियो ।

यसको भिडियो निर्माण गर्न ४ महिना समय लागेको छ । कथा फुराउन करिब २ महिना लाग्यो । सबै कुरा व्यवस्था मिलाइरहँदा मलाई यसको प्रमुख चरित्र विपिन कार्की हुनुपर्छ भन्ने लागिरहृयो । मैले जुन पात्रको परिकल्पना गरेको थिएँ, त्यसलाई दुरुस्त उतार्नका लागि विपिन कार्कीभन्दा दोस्रो पात्र थिएन ।

हामीले उनलाई भेट्यौं । कथाको सार सुनाएपछि उनी तयार भए ।

अव्यक्त यौनको कथा 

बटौली अर्थात् बुटवल, तिनाउँ किनारको शहर । तिनाउँ किनारको यस गीतमा नेपाली समाजमा पच्ने सभ्य यौन चाहनाका कुराहरु देखाइएको छ । गीत शुरु हुनु अगावै देखाइएका दृश्यहरुले पात्र र पात्रको उद्देश्य स्थापित गरेपछि गीत शुरु भएको छ । बटौली परतिरको एउटा सामान्य गाउँको चित्रण गरिएको ठाउँबाट विपिन कार्की आफ्नी सानैमा विवाह भएकी र माइतमा १२ वर्षदेखि बसिरहेकी श्रीमती लिन तानसेन वरपर गाउँमा  जान्छन् ।

उनमा भएको श्रीमतीको माया र बयस्क स्वरुपमा हुने यौन चाहनालाई सरल फिल्मी भाषामा व्यक्त गर्न प्रयास गरेको छु । यौन शब्दलाई बेचेर अनि उत्तेजक अभिव्यक्तिको खेती गरेर भिडियो अनि चलचित्र निर्माण गर्नेहरुका लागि यो भिडियोको प्रस्तुतीकरण मार्फत् यौनका आयामलाई प्रस्तुत गर्न खोजिएको हो ।  यहाँ छोरा बुहारी ल्याउन एकदिन पनि कुर्न सक्ने अवस्थामा छैन र बुबालाई सोझै म कुर्न सक्दिन भन्दिन्छ, सुन्दा सहजै पच्छ अनि सभ्य पनि छ ।

कथानक म्युजिक भिडियो

एउटा अडियो गीत तयार हुनका लागि रचनाकारले महिनौं लगाएर शब्दको रचना गर्छ । उस्तै समय सो शब्दमा संगीत भर्न संगीतकारले समय खर्च गरेको हुन्छ । संगीत संयोजन गरेर रेकर्ड गर्दासम्म आधा वर्ष जस्तो लाग्छ । सो गीतलाई दर्शक सामु ल्याउनका लागि भिडियो अनिवार्य जस्तै बनेको छ । अनि गीत लिएर सर्जकहरु म्युजिक भिडियो बनाउनको लागि प्रोडक्सन हाउसमा जानुहुन्छ । निश्चित बजेटमा भिडियो हप्ता दश दिन भित्रमा तयार हुन्छ ।

हरेक हप्ता दर्जनौं म्युजिक भिडियो रिलिज भईरहेका हुन्छन् । दर्शक श्रोताहरुले नयाँ-नयाँ शीर्षकका म्युजिक भिडियो हेर्न पाईरहनुभएको हुन्छ । तर, म्युजिक भिडियोमा हुने कन्टेन्ट सधैँ हेरिरहेको जस्तै बासी हुन्छ ।

म म्युजिक भिडियोलाई दुई भागमा विभाजन गरेर हेर्छु एउटा गीत अर्को भिडियो ।  गीत बन्नलाई जसरी समय लागेको हुन्छ ।  भिडियोमा पनि त्यसैगरी समय दिएर राम्रो कथासारमा बनाउन सकियो भने दर्शक श्रोतालाई न्याय हुन्छ । त्यसो गरियो भनेमात्र म्युजिक भिडियो सार्थक सिद्द हुन्छ, कलात्मक हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment