Comments Add Comment

सामाजिक सुरक्षा कोषमा पाँच हजार रोजगारदाता

दैनिक १५–१६ रोजगारदाता थपिन्छन्

८ असोज, विराटनगर । सरकारले तामझामका साथ सुरु गरेको सामाजिक सुरक्षा योजनामा पाँचहजार रोजगारदाता र ७५ हजार मजदुर आवद्ध भएका छन् । गत साउन १ गतेबाट सुरु योजनामा मंगगलबार सम्म ७५ हजार सात सय ९१ मजदुर र पाँच हजार ६४ रोजगारदाता सहभागी भएका हुन् ।

सामाजिक सुरक्षा कोषकी प्रवक्ता रमा भट्टराईका अनुसार सुरक्षा कोषमा जोडिने मजदुर र रोजगारदाताको संख्या दैनिक बढ्दो छ । सरकारले सामाजिक सुरक्षा कोषमा सहभागिताका लागि उद्योगहरुलाई असोज मसान्तसम्मको समय दिएको छ । पछिल्लो समय दैनिक १६–१६ जना रोजगारदाता र सदर पाँचसय भन्दा बढी मजदुर जोडिदै आएका छन् ।

परिचय पत्र बुझ्ने रिलायन्स पहिलो

सामाजिक सुरक्षा कोषले पहिलो पटक सुरक्षा योजनामा सहभागी मजदुरको परिचय पत्र वितरण गरेको छ । बुधबार विराटनगरमा अन्तरक्रिया कार्यक्रम गरी कोषले रिलायन्स स्पिनिङ मिल्स प्रालि सुनसरीका करिब चार हजार मजदुरको परिचयपत्र हस्तान्त्रण गरेको हो ।

कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले रिलायन्स स्पिनिङ मिल्स प्रालिका प्रतिनिधि मोहन पोखरेललाई एकमुष्ट परिचय पत्र हस्तान्त्रण गरेका हुन् ।

कोषले कार्यालयमा आउने उद्योग तथा मजदुरहरुलाई केही समय अघिदेखि परिचय पत्र दिदै आएको थियो । तर बुधबारबाट औपचारिक रुपमा परिचय पत्र बाँड्न सुरु गरेको ज्ञवालीले बताए ।

असोज मसान्तसम्म सहभागी हुन म्याद

सरकारले सबै क्षेत्रका रोजगारदाता र श्रमिकहरुलाई कोषमा सहभागिताका लागि असोज मसान्तसम्मको समय दिएको छ । असोज मसान्तसम्म सहभागी नहुनेलाई सरकारले अन्य योजना बनाएर योजनामा जोड्ने भट्राईले बताइन् ।

उनका अनुसार नेपालमा ४० हजार रोजगारदाताहरु कोषमा सहभागी हुने अपेक्षा गरिएको छ । करिब ४० हजार रोजगारदाता कोषमा सहभागी हुँदा पाँचलाख श्रमिकहरु जोडिने उनको भनाइ छ ।

३१ प्रतिशत योगदान

सामाजिक सुरक्षा कोषमा सहभागिता जनाउँदा श्रमिकले मासिक पारिश्रीमकको ३१ प्रतिशत रकम जम्मा गर्नुपर्ने ज्ञवालीले बताए । मजदुरले जम्मा गरेको रकमले भैपरी आउँदा व्यक्ति र परिवारको सुरक्षाको ग्यारेन्टी गर्ने छ ।

कोषमा सहभागिता जनाउँदा मासिक पारिश्रमिकको १ प्रतिशत औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना, १.४ प्रतिशत दुर्घटना तथा अशक्तता सुरक्षा योजना, आश्रित परिवारको सुरक्षाका लागि ०.२७ प्रतिशत तलबबाट काटिन्छ र वृद्धाअवस्थाको सुरक्षा योजनाका लागि २८.३३ प्रतिशत रकम कोषमा जानेछ ।

सामाजिक सुरक्षा योजनामा सहभागिता जनाएका श्रमिकले १८० महिना (१५ वर्ष) कोषमा योगदान गरेपछि स्वत निवृत्तिभरणमा सहभागी हुनेछन् ।

सुरक्षा योजनामा सूचिकृत श्रमिकको १५ वर्ष कोषमा योगदान पूरा नभई मृत्यु भएको अवस्थामा दम्पत्तिले निवृत्तिभरणको ५० प्रतिशत आजिवन निवृत्तिभरण पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment