Comments Add Comment

स्पेनको मड्रिडमा नेपाली उत्पादन प्रदर्शनी

१० असोज, काठमाडौं । स्पेनको मड्रिडमा आयोजित अन्तर्राष्ट्रिय प्रर्दशनीमा नेपाली उद्योग व्यवसायी पनि सहभागी भएका छन् ।

शुक्रबार स्पेनको राजधानी मड्रिडमा सुरु भएको एक्सपो टुराल २०१९ प्रर्दशनीमा नेपाली उत्पादनसहितका ३५ व्यवसायी सहभागी भएका हुन् ।

प्रर्दशनीमा नेपाल र स्पेनका भाषा धर्म, कला संस्कृति तथा उत्पादनहरु झल्किने स्टल राखिएको छ । स्पेनको राजधानी मड्रिड अवस्थित मुख्य प्रदर्शनी भवन फेरिया डि मड्रिडमा भएको प्रर्दशनीमा नेपालको छुट्टै पभेलियन राखिएको छ ।

प्रदर्शनीस्थल ७ हजार स्वायर मिटर क्षेत्रफलमा फैलिएको छ । प्रर्दशनीमा नेपालको पर्यटकीय क्षेत्र, पर्वतारोहण सम्बन्धी जानकारीको साथै भ्रमण वर्ष २०२० का बारेमा जानकारी दिने छुट्टा छुटै स्टल राखिएको छ ।

त्यसैगरी हस्तकला, काष्ठनिर्मित सामान, पस्मिना, नेपाली कागजका सामानहरु, चित्रकला, मूर्ति, ढाका, अल्लो, बेतबाट बनेका सामान, बाँसको जराबाट बनेका सामानलगायतका सामग्री राखिएको छ ।

नेपाल अन्तर्राष्ट्रिय प्रदर्शनी संघका महासचिव शान्तकुमार श्रेष्ठले प्रर्दशनीमा सहभागी भएका नेपाली उत्पादनले नेपालको पर्यटन, कला, संस्कृति, परम्परा, कृषि तथा व्यापार व्यवसायलाई अन्तर्राष्ट्रिय क्षेत्रमा परिचित गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए ।

यो प्रदर्शनीमा साना तथा मझौला ब्याबसायी महासंघ र नेपाल अन्तराष्ट्रिय प्रर्दशनी संघले नेपालको तर्फबाट संयोजनकारी भूमिका निर्वाह गरेको छ ।

कार्यक्रममा फाउण्डेशन लुम्बिनी ग्राण्डका जोसेफ म्यानुअल भिलानोभाले नेपाल र स्पेनबीचको व्यवसायिक सम्बन्ध बिस्तार गर्नुका साथै नेपालको पर्यटन प्रवर्द्धनको साथै शान्ति स्थापनाका लागि फलदायी हुने बताए ।

फाउण्डेशनले मड्रिडमा बुद्धको ५ हजार स्वायर फिटको मूर्ति बनाउँदै छ । मिनी लुम्बिनीको अवधारणाअनुसार मिनी लुम्बिनीको झण्डै १ हेक्टर क्षेत्रफलमा सो मूर्ति बनाउन लागिएको छ ।

नेपालको लुम्बिनी सांस्कृतिक उपमहानगरपालिका र मड्रिड महानगर बीच मड्रिडमा मिनी लुम्बिनी बनाउने सम्झौता भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment