Comments Add Comment

यु–१८ च्याम्पियनसिपमा भुटानलाई हराएर माल्दिभ्स तेस्रो

१२ असोज, काठमाडौं । नेपालमा जारी साफ यु– १८ च्याम्पियनसिप अन्तर्गत तेस्रो स्थानका लागि भएको प्रतिस्पर्धामा माल्दिभस विजयी भएको छ ।

ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) कम्प्लेक्सको मैदानमा आइतबार विहान भएको प्रतिस्पर्धामा भुटानमाथि १–० को जित निकाल्दै माल्दिभ्स तेस्रो भएको हो ।

माल्दिभ्सलाई जित दिलाउन इब्राहिम इमरानले ७५ औं मिनेटमा गरेको गोल निर्णायक रह्यो । मैदानको मध्यभागबाट आएको लामो पासलाई इमाराले पेनाल्टी बक्सभित्रबाट भुटानका रक्षकलाई बिट गराउँदै जाली चुमाउँदै उनको गोल निर्णायक बनेको हो ।

सुरुआतबाट माल्दिभ्सलाई दबाबमा राख्दै उत्कृष्ट खेल पस्किए पनि भुटानले पाएका राम्रा अवसरलाई सदुपयोग गर्न नसक्दा स्तब्ध भएको हो । निकै प्रतिस्पर्धात्मक बनेको खेलमा माल्दिभ्सले भने पाएको एक मात्र अवसरलाई सदुपयोग गर्दै तेस्रो स्थान बनाउन सफल भएको हो ।

समूह चरणको खेलमा साविक विजेता नेपाललाई पराजित गरेको भुटान सेमिफाइलनमा बंगलादेशसँग ४–० ले पराजित भएको थियो । यस्तै तेस्रो बनेको टोली माल्दिभ्स पनि भारतसँग ४–० ले नै पराजित भएको थियो ।

६ देशले सहभागिता जनाएको प्रतियोगितामा आयोजक अखिल नेपाल फुटबल संघ एन्फाले सहभागी टोलीलाई दुई समूहमा विभाजन गरी राउन्ड रोविन प्रणालीमा प्रतिस्पर्धा गराएको थियो । यसअघि सम्पन्न दुई संस्करणको उपाधि विजेता नेपाल समूह चरणबाटै बाहिरिएको थियो ।

प्रतियोगिताको उपाधिका लागि भने आजै दिउसो २ः३० बजे भारत र बंगलादेश उपाधिका लागि प्रतिस्पर्धा गदैछन् । फाइनल खेल हलचोकस्थित एपीएफ क्लबको मैदानमा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment