Comments Add Comment

कालीप्रसादको ‘काँडामा हाँसेको जिन्दगी’ सार्वजनिक

१२ असोज, काठमाडौं । कवि तथा गीतकार कालीप्रसाद रिजालको सस्मरणात्मक जीवनकथा ‘काँडामा हाँसेको जिन्दगी’ सार्वजनिक भएको छ ।

नेपालयले संचालन गर्दै आएको सांगीतिक कार्यक्रम ‘पलेँटी’को सांगीतिक माहोलमा ११ गते शनिबार साँझ रिजालको नयाँ पुस्तक विमोचन भएको हो ।

वि.सं. १९९६ विराटनगरमा जन्मेका रिजालले ‘काँडामा हाँसेको जिन्दगी’मा उसबेलाको विकट नेपाल र आफ्नो व्यक्तिगत जीवनयात्रालाई समेटेका छन् ।

शनिबारको पलेँटीमा रिजालले भोगेको त्यही समय र उनको गीति तथा कविता यात्राको चर्चा भएको थियो । कार्यक्रममा उनले रचना गरेका आठवटा गीतहरू प्रस्तुत भएका थिए ।

लामो समय सरकारी सेवामा कार्यरत कालीप्रसाद नेपाली सांगीतिक र साहित्यिक क्षेत्रमा क्रियाशील छन् ।

‘सानैदेखि गीत, संगीत, गायन मेरो रुचिको विषय भएकोले आफूलाई लागेको कुरा भन्थेँ । त्यही कुराकानीले मलाई गीति लेखनमा फसायो,’ रिजालले कार्यक्रममा भने, ‘नारायण गोपालको गीत लेख्नै पर्छ भन्ने आदेश नै दिनुभयो र मैले गीत लेख्न छोडेको २० वर्षपछि ढोका बन्द गरेर घोत्लिँए ।’

उनले अघि थपे, ‘एक्लै दिनमा दुईवटा गीत लेखें- ‘आँखा छोपी नरोऊ भनी’ र ‘झरेको पात झैँ भयो ।’  रिजाल बोलीमा नारायण गोपालसँगको उनको सिर्जनात्मक निकटताको झलक अनुभूत गर्न सकिन्थ्यो ।

कार्यक्रममा रिजालले आफू सरकारी ओहदामा हुँदा नेपालको पश्चिमी बादीबस्तीमा पुगेको कारुणिक संस्मरणसँगै ‘हामरी बिटियाको नत्था तोडिदिनुहोस्’ कविता सुनाएका थिए ।

कविता वाचनको लगत्तै ‘काँडामा हाँसेको जिन्दगी’ र उनको काव्यिक व्यक्तित्वमाथि समालोचक रजनी ढकालले समीक्षात्मक टिप्पणी गरेकी थिइन् । त्यसपछि पुस्तक सार्वजनिक गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment