Comments Add Comment
क्रिकेट संघको चुनौती :

आईसीसीसँगै राष्ट्रिय टिमको विश्वास जित्न सजिलो छैन

टिप्‍पणी

१२ असोज, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को नवनिर्वाचित कार्यसमितिले निलम्बन फुकुवाका लागि प्रक्रिया अगाडि बढाउने पहिलो निर्णय गरेको छ । नेपाली क्रिकेटको सबैभन्दा ठूलो टाउकोदुखाई बनेको विषयलाई क्यानले पहिलो प्राथमिकतामा राख्नु स्वाभाविक पनि हो ।

शनिबार भएको विशेष अधिवेशनले चतुरबहादुर चन्दको नेतृत्वमा १७ सदस्यीय कार्यसमिति चुनेको थियो । लगत्तै बसेको बैठकले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)को निलम्बन फुकुवाका लागि आवश्यक प्रक्रिया अगाडि बढाउने निर्णय गरेको क्रिकेट संघका सचिव अशोकनाथ प्याकुरेलले बताए ।

यद्यपि, निलम्बन फुकुवा क्रिकेट संघको हातमा भने छैन । आगामी १३ अक्टोबरमा बस्ने आईसीसी बोर्ड बैठकमा नेपालको निलम्बन फुकुवाबारे छलफल हुनेछ । स्रोतका अनुसार क्रिकेट संघको स्वतन्त्र टोलीले पेश गर्ने रिपोर्टका आधारमा आईसीसीले निर्णय लिनेछ । एक सदस्यका अनुसार आईसीसी बोर्ड बैठकको निर्णयपछि क्रिकेट संघको बैठक बस्ने तयारी छ ।

निलम्बन फुकुवा सबैथोक होइन

क्रिकेट संघका पदाधिकारी १३ अक्टोबरमा निलम्बन फुकुवा हुने ढुक्क छन् । क्रिकेट संघको सबै प्रक्रियामा आईसीसी स्वयं संलग्न भएकाले उसित अब निलम्बनलाई निरन्तरता दिने बहाना बाँकी पनि छैन । यसबाट नेपाली क्रिकेटले लामो समयदेखि झेलिरहेको समस्याबाट निकास पाउनेछ ।

तर फुकुवापछि पनि नेपाली क्रिकेटको बागडोर पूर्ण रुपमा संघको हातमा आउन समय लाग्छ । यो ६ महिनादेखि एक वर्षसम्म वा त्यसभन्दा पनि बढी लाग्न सक्छ ।

आईसीसीले क्रिकेट संघलाई निलम्बन गर्दा चुनावमा मात्र प्रश्न उठाएको थियो । तर, त्यसअघि नै उसले आर्थिक पारदर्शीता, संगठनात्मक संरचना लगायतका विषयमा समेत चासो राख्दै आएको थियो । त्यही क्रममा क्रिकेट संघमा कार्यकारी अधिकृत (सीईओ) नियुक्त गरेर सुधारको प्रयास पनि भएको हो । त्यही बेला राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले चुनावमा प्रश्न उठाउँदै तदर्थ समिति बनाएपछि २०७३ वैशाख दोस्रो साता आईसीसीले निलम्बनको निर्णय लियो ।

अहिले आईसीसीकै अगुवाईमा विधान संशोधन लगायतका प्रक्रिया पुरा गरेर चुनाव भएको छ । क्रिकेट संघका एक सदस्य भन्छन्, ‘हामीले मुखले आर्थिक पादर्शीता कायम गछौं भने पनि व्यवहार नहेरी आईसीसीले पत्याउनेवाला छैन । त्यसैले आईसीसीले भोलि नै सबथोक हामीलाई दिन्छ भन्ने लागेको छैन ।’

राष्ट्रिय टिमको विश्वास आर्जन

आईसीसीको विश्वास जित्नु मात्र होइन, सरकार, राष्ट्रिय खेलकुद परिषद् र खेलाडीहरुलाई विश्वासमा लिएर अगाडि बढ्नु पनि नयाँ नेतृत्वको अर्को चुनौती हो ।

विगततिर फर्किएर हेर्ने हो भने क्रिकेट संघमा भएको भद्रगोलबारे खेलाडीहरुले समेत आवाज उठाएका थिए । बारम्बार घचघच्याउँदा पनि सुनुवाई नभएपछि उनीहरुले राष्ट्रिय प्रतियोगिता बहिष्कार गर्ने निर्णय समेत लिए । अहिले क्रिकेट संघमा आएका अधिकांश अनुहार तीनै छन्, जो त्यतिबेला संघको कुनै न कुनै जिम्मेवारीमा थिए ।

त्यसैले अहिलेको नेतृत्वले जसरी ‘हामी सच्चियौं’ भनेर आईसीसीको विश्वास जित्नुपर्छ, त्यसरी नै खेलाडीहरु र सिंगो राष्ट्रिय टिमलाई भरोसा दिलाउनुपर्छ । यसका लागि पनि बोलेर मात्र हुँदैन, लथालिंग बनेको घरेलु क्रिकेटको संरचना विकाससँगै खेलाडीहरुको वृत्तिविकासको ठोस योजना ल्याउनुपर्छ ।

यसका साथै सरकार, राष्ट्रिय खेलकुद परिषद्का साथै निजी क्षेत्रसँग मिलेर काम गर्नुपर्नेछ । ‘यो हाम्रा लागि चुनौती मात्र होइन, अवसर पनि हो’ एक सदस्य भन्छन् ।

संघका प्रदेश ३ का अध्यक्ष एवं पूर्वखेलाडी राजु बस्न्यात क्रिकेट संघको नेतृत्वले छिट्टै ठोस योजना ल्याउने र त्यसअनुसार काम गर्ने विश्वास व्यक्त गर्छन् ।

नयाँ प्रस्थानविन्दू

जे भए पनि नेपाल क्रिकेट संघको निर्वाचनसँगै नेपाली क्रिकेटलाई सही ट्र्याकमा ल्याउन बाटो खुलेको छ । यदि अपेक्षा मुताबिक आईसीसीले आफ्नो निलम्बन फुकुवा गरेमा त्यो नेपाली क्रिकेटका लागि नयाँ प्रस्थान बिन्दू बन्नुपर्छ ।

क्रिकेट संघले सम्वोधन गर्नुपर्ने विषय यावत् भए पनि मुल अभिष्ट भनेको नेपाली क्रिकेटको स्तर अभिवृद्धि नै हो । त्यसका लागि भौतिक संरचना निर्माण र खेलाडीहरुको सेवा–सुविधा अनि म्याच एक्सपोजर सबैभन्दा महत्वपूर्ण विषय हुन् । नेपाली क्रिकेट समर्थकहरु हाम्रो टोलीले एकदिवसीय विश्वकप र टेस्ट क्रिकेट खेलेको हेर्न चाहन्छन् । त्यसका लागि स्पष्ट योजनासहित क्यानको नयाँ नेतृत्व अघि बढ्नुपर्छ । पहिलेकै शैलीले पर्याप्त हुन्न ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment