Comments Add Comment

उपान्यास प्रतिगन्ध लिएर आए सरुभक्त

पोखरा । साहित्यकार सरुभक्त २०६१ सालमा अमेरिका यात्रामा थिए । राष्ट्रकवि माधव घिमिरेको गीति नाटक मालती मंगले प्रदर्शन गर्ने टोलीको नेता बनेर उनी अमेरिका पुगेका थिए । उनले अमेरिकाका विभिन्न सहर घुमे । त्यतिबेला ओरिका पुगेका नेपालीबीचको विखण्डन र विसंगतिलाई देखे ।

परिवारिक कलह र विगठनलाई सरुभक्तले अध्ययन गरे । फैलिरहेको विश्व आतंकवाद नियाले । भिन्न खालको डायस्पोराको कथालाई लेख्नुपर्छ भन्ने उनलाई लाग्यो । फर्केलगत्तै उनले अमेरिकामा देखेको, महसुस र अध्ययन गरेको कथालाई लेख्न चाहान्थे ।

नेपाल प्रज्ञा प्रतिष्ठानको सदस्य हुँदा लेख्छु भनेको कथा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको कुलपति हुँदा मस्तिष्कबाट कापिमा उतारे । अघिल्लो वर्षमात्रै उनले प्रतिष्ठानबाट उनको कार्यकाल सके ।

अमेरिकामा परिकल्पना गरेको त्यही कथा १५ वर्षपछि मात्रै सरुभक्तले उपन्यासका रुपमा तयार पारेका छन् । उपन्यासको नाम दिए, प्रतिगन्ध । फेरिएको लाहुरेको परिभाषालाई टिप्दै अमेरिकन लाहेरेहरुको कथामाथि सरुभक्तले उपन्यास तयार पारेका हुन् । प्रतिगन्धको आइतबार लोकार्पण भएको छ ।

प्रतिगन्ध सरुभक्तको सातौं उपन्यास हो ।

युवा आख्यानकार त्रय गनेस पौडेल, सरस्वती प्रतीक्षा र तीर्थ गुरुङले संयुक्त रुपमा प्रतिगन्धको लोकापर्ण गरेका छन् । सरुभक्तले यो उपन्यास घरेलु सहरबाटै सार्वजनिक गर्न चाहन्थे । त्यही चाहनाअनुसार पोखरा उद्योग वाणिज्य संघको अमृत कक्षमा प्रतिगन्ध लोकार्पण भयो ।

कवि तीर्थ श्रेष्ठकानुसार उनी लेखकीय जीवन बाँच्छन् । हरेक विषयबस्तुलाई उनले फरक र लेखकीय दृष्टिकोणले हेर्छन् । त्यसैकुरालाई प्रसंग जोड्दै सरुभक्तले भने ‘म त्यस्तो जाँगरिलो लेखक होइन । मलाई बढी अल्छी मान्न जाँगर चल्छ । जुन बेला अल्छी मान्ने जाँगर चल्दैन । त्यो बेला लेख्छु ।’

आख्यानकार गनेस, सरस्वती र तीर्थले सरुभक्तले उपन्यासमा अहिलेसम्मको प्रयोगलाई भत्काएर नयाँ स्वाद दिएको बताए । उनीहरुकै भनाइअनुसार उपन्यास लेखनमा निर्मम भएर जोखिम लिएका छन् ।

एउटै उपन्यास पढ्दा एकै पटक ४/५ वटा उपन्यास पढेको भान हुने र त्यो प्रतिगन्धको शक्ति भएको सरस्वतीले बताइन् । ‘यो विदेशिने युवाको कथा हो,’ सरस्वतीले भनिन्, ‘रमाइलो पाउनुहुन्न । यसमा ऐठनै ऐठन छन् । आतंकवादमुन्तिर पिल्सिएको मरञ्च्याँसे मानवता पाउनुहुन्छ ।’ प्रतिगन्धमा सहनशीला, सुशीला महिलाको कथा होइन, सहनशील र सुशील पुरुषको कथा रहेको प्रतीक्षाले बताइन् ।

भारतीय, बि्रटिस, हङकङ लाहुरे हुँदै बिस्फोटक रुपमा फेरिएको लाहेरेको भरिभाषा र त्यसैअनुरुप अमेरिका पुगेकाहरुको कथा प्रतिगन्धमा रहेको आख्यानकार तीर्थले टिप्पणी गरे । ‘हाम्रो श्रम र मस्तिष्क पलायन छ । राज्यको एउटा प्रमुख आयस्रोत अझै पनि लाहुरेहरु छन् । सरुभक्तको उपन्यास प्रतिगन्धमा नेपाली ढुकढुकी लिएर बाँचेका अमेरिकन लाहुरेहरुको कथा व्यथा छ,’ आख्यानकार तीर्थले भने, ‘व्यक्तिगत जीवनमा आइपर्ने विखण्डन र संघर्ष उपन्यासमा छ ।’

आख्यानकार गनेसले प्रतिगन्ध पढिरहँदा कुनै नेपाल वा पोखराको लेखकले होइन अमेरिकाको कुनै लेखकले लेखेको अनुभव हुने बताए ।

अमेरिकाको स्थान, रहनसहन र परिवेशलार्य सरुभक्तले उपान्यासमा कलात्मक ढंगले बर्णन गरेको उनको भनाइ थियो । उपान्यासमा ४ पात्रका आआˆनै कथा रहेको बताए । ‘तिनै पात्रको पारिवारिक विखण्डन, प्रममा धोकाधडी उपान्यासमा छ,’ गनेसले भने, ‘संघर्षको धागोले ती कथालाई जोडेको छ ।’ प्रतिगन्धले भोकको द्वन्द्वलाई देखाएको उनको टिप्पणी थियो ।

सरुभक्तले लाहुरेको छोरो नभए पनि लाहुरेको भाञ्जा भएकाले बाल्यकालदेखि नै देख्न र बुझ्न पाएको बताए । पहिले सम्पादनको चेतना नभएको बताउँदै सरुभक्तले यो उपन्यास सम्पादनसहित आएको बताए । ‘विदेशका ठूला लेखकले मान्छे हायर नै गरेर सम्पादन गर्छन् । प्रत्येक लेखक आफैंमा एक सम्पादक हो,’ सरुभक्तले सम्पादनको प्रसंगलाई जोडे, ‘सम्पादन गर्ने चेतना हामीमा थिएन । नयाँ आख्यानकार र पठक संस्कृति बढेपछि प्रकाशन गृहहरुले सम्पादनको अभ्यास गरे ।’

कवि तीर्थ श्रेष्ठले सरुभक्तसँग अरुले देख्न र लेख्न नसक्ने विषयलाई टिप्ने खुबी भएको बताए । ‘मान्छेको हेर्ने दृष्टिको फरक हुन्छ । सरुभक्तले कुनै ठाउँलाई हेर्दा त्यसलाई लेखकीय हिसाबले कहाँनेर कसरी समावेश गर्न सकिन्छ भनेर फरक ढंगले हेर्छन्,’ तीर्थले भने । सरुभक्तका सहपाठीसमेत रहेका कवि तीर्थले सरुभक्तसँग विशेषखालको लेखकीय शक्ति रहेको बताए ।

सरुभक्त आफैं संस्थापक रहेको पोखराको पुरानोमध्येको संस्था पोखरेली युवा सांस्कृतिक परिवारले प्रतिगन्ध लोकार्पणको चाँजो मिलाएको थियो । उपेन्द्र पौडेलले सरुभक्तको सहरका रुपमा पोखरा चिनिएको बताए ।

संख्याका अध्यक्ष प्रकाश ज्ञवालीले सरुभक्तहरुले जन्माएको पोखरेली युवा सांस्कृतिक परिवारको ब्यानरमा उनी नै हुर्केको, खेलेको र सिर्जनाले सिञ्चित आँगनमा कार्यक्रम गर्न पाउँदा हुनु गर्वको कुरा भएको बताए ।

सरुभक्तले पहिलो कृति निकालेका थिए, ‘बन्द खामभित्र ।’ यो मुक्तक संग्रह थियो । मुक्तकको सहरको रुपमा चिनिएको पोखराबाट सरुभक्तको साहित्यिक पुस्तक प्रकाशनको यात्रा पनि मुक्तकबाटै सुरु भयो । त्यो २०३५ सालतिरको कुरा थियो । त्यसयता मुक्तक, नाटक, कविताका ७ वटा संग्रह प्रकाशित गरेपछि सरुभक्तले उपन्यासमा हात हाले । २०४४ सालमा उनको पहिलो उपन्यास निस्क्यो । जसको नाम थियो, ‘एक अविनवको आत्मकथा ।’ त्यसपछि फेरि २ वटा कविता र नाटकको कृति निकाले । २०४८ सालमा उनको दोस्रो उपन्यास निस्क्यो, पागल बस्ती ।

यो उपन्यासको नयाँ प्रयोगले सरुभक्तलाई साहित्य फाँटमा स्थापित र बत्रहुचर्चितमात्रै बनाएन मदन पुरस्कारसमेत दिलायो ।

त्यसयता सरुभक्त मानक साहित्यकारका रुपमा तरुनी खेती, बाल उपन्यास अध्याँरो कोठा, समय त्रासदी र चुली उपान्यास प्रकाशित भइसकेका छन् । उनका विभिन्न विधामा झण्डै ५० कृति प्रकाशित छन् ।

तस्वीरः धुर्व केसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment