Comments Add Comment

वित्तीय पहुँच विस्तारमा फड्को, एक वर्षमै २० प्रतिशतले बढ्यो

१३ असोज, काठमाडौं । नेपालका ६१ प्रतिशत नागरिकमा वित्तीय पहुँच पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा गभर्नर चिरन्जीवि नेपालले आर्थिक वर्ष २०७५/७६ को अन्तसम्म ४१ प्रतिशत  रहेको वित्तीय पहुँच २० प्रतिशतले बढेर ६१ प्रतिशत पुगेको जानकारी दिएका हुन् ।

‘वित्तीय पहुँच केही समय अघिसम्म ४१ प्रतिशत मात्रै थियो, तर हाम्रो रिसर्च डिपार्टमेन्टले अध्ययन गरेको छ ६१ प्रतिशत पुगिसकेको छ’ उनले  भने, ‘केही दिनमै हामी नयाँ रिपोर्ट सार्वजनिक गर्दैछौं ।’

मिडिया इन्टरनेसनलको वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा बोल्दै गभर्नर नेपालले सबै स्थानीय तहमा वाणिज्य बैंक पुर्‍याउने राष्ट्र बैंकको योजना पनि सफलतानजिक पुगेको बताए । उनले ७५३ मध्ये ७३९ स्थानीय तहमा वाणिज्य बैंकका शाखा पुगिसकेको जानकारी दिए ।

कार्यक्रममा बोल्दै बैंकर्स संघका निवर्तमान अध्यक्ष अनिल केशरी शाहले मुलुकमा वित्तीय साक्षरता कमजोर अवस्था रहेको भन्दै वित्तीय साक्षरता अभिवृद्धिका लागि सबै लागि पर्नु पर्ने बताए । नविल बैंकका प्रमुख कार्यकारी अधिकृत समेत रहेका शाहले वित्तीय साक्षरता अभिवृद्धिका लागि मिडिया इन्टरनेशलले वीज रोप्ने काम गरेको समेत बताए ।

कार्यक्रममा डेभलपमेन्ट बैंकर्स एशोसिएसनका अध्यक्ष गोविन्द प्रसाद ढकालले बैंकिङ पहुँच बाहिर रहेका नेपालीलाई बैंकिङ पहुँचमा ल्याउने राष्ट्र बैंक सक्रियतालाई प्रशंसा गर्नु पर्ने बताए ।

कार्यक्रममा मिडिया इन्टरनेसनलले प्रदान गर्दै आएको वित्तीय साक्षरतामा कलम चलाउने आर्थिक पत्रकारलाई दिईने पुरस्कार अनलाइनखबरकर्मी रोयल आचार्यलाई प्रदान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment