Comments Add Comment

बैतडीमा पुल निर्माणको माग गर्दै २५ दिनदेखि अनशन   

१५ असोज, बैतडी । भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाकामा पक्की पुल निर्माणका लागि रिले अनशन सुरु गरेको २५ दिन भइसकेको छ । अहिलेसम्म पुल निर्माणका विषयमा सरकारीपक्षबाट कुनै पहल नभएकाले आफूहरुको अनशन जारी रहेको झुलाघाट पक्की पुल निर्माण संघर्ष समितिका संयोजक नरबहादुर चन्दले बताए ।

झुलाघाट नाकामा पक्की पुल निर्माणका लागि सरकारले ठोस पहल नचाल्दासम्म आफूहरुको अनशन जारी रहने उनले जानकारी दिए ।

रिले अनशनमा भजनकीर्तन, ड्यौडा गीत गाउँदै सरकारलाई दबाब दिने गरिएको सङ्घर्ष समितिका सदस्य दीपेश शाहले जानकारी दिए । झुलाघाट नाका सुदूरपश्चिमको आर्थिक विकाससँग जोडिएको नाका भएकाले यो नाकामा पुल आवश्यक रहेको उनको भनाइ छ । पुल निर्माणका लागि आफूहरुले दशकौँदेखि दबाब दिँदै आएको भए पनि सरकारले नसुनेको बैतडी उद्योग वाणिज्य संघका उपाध्यक्ष खीमानन्द भट्टले जानकारी दिए ।

अनशनमा बैतडीवासीले स्वस्फूर्त रुपमा सहभागिता एवं सहयोग गर्दै आएका छन् । अनशनमा उद्योग वाणिज्य संघसँगै निर्माण व्यवसायी सङ्घ, यातायात व्यवसायी सङ्घ, पत्रकार महासङ्घ तथा होटल व्यवसायी सङ्घले समेत ऐक्यबद्धता जनाएको छ । सरकारी पक्षको उदासीनताका कारण अनशन अझै लम्बिने देखिएको छ ।

झुलाघाट नाकामा पक्की पुल निर्माणका लागि सबै दलका शीर्ष नेताहरुले आश्वासन दिएको भए पनि कसैले पूरा नगरेकाले आफूहरु आन्दोलनमा उत्रिन बाध्य भएको अनशनमा सहभागीले बताएका छन् । आफूहरुका माग पूरा गर्नेतर्फ सरकार सचेत नभए माइतीघर मण्डलामा अनशन थाल्नेसमेत चेतावनी दिइएको छ ।

२०५९ सालमा दश हजार बैतडीवासीको हस्ताक्षर सङ्कलन गरेर तत्कालीन सरकार र भारतीय राजदूतावासलाई ज्ञापनपत्र बुझाएको भए पनि अहिलेसम्म कुनै सुनुवाइ नभएको बताइएको छ । यसका साथै मोटरेबल पुल निर्माणको लागि २०७५ फागुनमा प्रधानमन्त्रीलाई ज्ञापनपत्रसमेत बुझाइएको थियो । करीब १५० वर्ष अगाडि मात्रै इष्ट इण्डिया कम्पनीले नेपाल–भारत सीमानाका झुलाघाटस्थित महाकाली नदीमा बनाएकोे झोलुङ्गे पुल जीर्ण बन्दै गएपछि बैतडीलगायत सुदूरपश्चिमवासी समस्यामा परेका छन् । सुदूरपश्चिमका पहाडी जिल्ला भित्रिने झुलाघाट पुरानो प्रवेशद्वार हो । जिल्ला प्रशासन कार्यालय अगाडि भदौ २२ गतेदेखि अनशन सुरु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment