Comments Add Comment

स्विजरल्याण्डमा किन गरियो हिमनदीको अन्तिम संस्कार ?

२०६६ सालमा नेपालमा सगरमाथाको आधार सिविरमा मन्त्रिपरिषदको बैठक बसेको थियो ।

खासमा जलवायु परिवर्तनले हिमालय क्षेत्रमा पारेको असरबारे विश्व समुदायको ध्यानाकर्षण गराउनका लागि सगरमाथामा क्याबिनेट बैठक बसेको थियो ।

त्यहीँ बेला माल्दिभ्समा चाहीँ समुद्रको पानी मुनि क्याबिनेट बैठक बसेको थियो ।

जलवायु परिवर्तनका बारेमा ध्यानाकर्षणका लगि विश्वमा अनेक खाले अभियान तथा प्रदर्शनहरु हुने गरेका छन् । त्यहीँ क्रममा हालै स्विजरल्याण्डमा निकै फरक खालको कार्य गरिएको छ ।

स्वीसवासीहरुले हालै त्यहाँको एउटा हिमनदीको अन्तिम संस्कार गरेका छन् । विश्व उष्णिकरणका कारण पग्लिएर अस्तित्व नै संकटमा परेको उक्त हिमनदीको अन्तिम संस्कार गरी शवयात्रा समेत गरिएको हो ।

अन्तिम संस्कार गरिएको उक्त हीमनदीको नाम पिजोल हो ।

करिब अढाई सय स्थानीय बासिन्दाहरु २७ सय मिटर उचाइको पिजोल हिमाल चढेर उक्त हिमनदी भएको ठाउँमा पुगे अनि अन्तिम संस्कारको कार्यमा भाग लिए ।

अस्टि्रयाको सिमानामा पर्ने उत्तर पूर्वी स्विजरल्याण्डको उक्त हिमनदी निकै तीव्र रुपमा पग्लिरहेको छ ।

अन्तिम संस्कार समारोहमा भाग लिन गएका हिमनदीविद म्याथियस ह्यूसका अनुसार अन्तिम संस्कार तथा शवयात्रामा कालो पहिरन लगाएका अढाई सय मानिस सहभागी थिए ।

यो हिमनदीको ८० प्रतिशत हिउँ सन् २००६ मै पग्लिसकेको थियो । सन् १९८७ मा यसको क्षेत्रफल ३.२० लाख वर्ग किमी रहेकोमा अहिले केवल २६ हजार वर्ग किमी रहेको छ ।

विज्ञहरुका अनुसार अब वैज्ञानिक रुपमा पिजोलमा हिमनदीको कुनै स्वरुप बँचेको छैन । त्यसैले यसको अन्त्यष्टिसँगै त्यसलाई मृत घोषित गरिएको छ । हिमनदी विद म्याथियस पिजोल शिखरमा धेरै पटक चढिसकेका छन् र आफ्नै आखा अगाडि हिमनदी बिलाएको देखका छन् ।

हिमनदीको अन्त्य एउटा असल साथीको मृत्यु सरह पीडादायी भएको उनको भनाइ छ ।

वैज्ञानिक अध्ययन अनुसार सन् २०५० सम्ममा आल्प्स पर्वत श्रृंखलाका ४ हजार हिमनदीहरुको आधा बरफ पग्लिसक्नेछ ।

स्मरण रहोस् यसअघि गत अगष्टमा आइसल्याण्डमा एउटा यस्तै हिमनदीको अन्तिम संस्कार गरिएकेा थियो । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment