Comments Add Comment

इराकमा सरकारविरुद्ध प्रदर्शन, ६० को मृत्यु, प्रधानमन्त्रीद्वारा शान्तिको अपिल

१८ असोज, काठमाडौं । इराकको राजधानी बगदादमा जारी सरकार विरोधी प्रदर्शनको क्रममा चार दिनको अवधिमा ६० जनाको मृत्यु भएको छ । करिब २ सय जना घाइते छन् ।

इराकमा बढ्दो बेरोजगारी, खराब सार्वजनिक सेवा र भ्रष्टाचारबाट आक्रोशित युवा सरकारविरुद्ध प्रदर्शनमा उत्रिएका छन् । सरकारविरोधी प्रदर्शन हिंसात्मक बनेको छ ।

मृत्यु हुनेको संख्या शुक्रबार दोब्बरले बढेको बीबीसीले जनाएको छ । सेनाका अनुसार अज्ञात बन्दुकधारीले बगदादमा चार जनालाई गोली हानेर मारेको र मारिनेमा दुई जना प्रहरी अधिकारी पनि रहेको जनाएको छ ।

यसैबीच प्रधानमन्त्री अदेल अब्देल महदीले भने शान्तिको अपिल गरेका छन् । उनले गरिब परिवारलाई सहयोग गर्न हरसम्भव कोसिस गरिरहेको जनाएका छन् । कुनै पनि समस्याको समाधान जादूको छडीजस्तो हुँदैन भन्दै उनले जनतालाई संयमित हुन र शान्ति कायम राख्न अपिल गरेका छन् ।

प्रधानमन्त्रीले संयमित हुन भने पनि इराकमा विरोध प्रदर्शन रोकिएको छैन । प्रदर्शन झन् चर्किंदै गएपछि राजधानी बगदादसहित धेरै स्थानमा अनिश्चितकालीन कर्फ्यू लगाइएको छ । इन्टरनेट सेवा पनि बन्द गरिएको छ ।

शुक्रबार बगदादको तहरीर चोकसम्म पुग्ने कोसिस गरिरहेका प्रदर्शनकारीहरुमाथि सुरक्षाकर्मीले गोली चलाएका थिए ।

यसैबीच इराकका एक वरिष्ठ शिया नेता अयातोल्लाह अली अल सिस्तानीले विरोध प्रदर्शनप्रति दुःख व्यक्त गरेका छन् । उनका प्रवक्ता अहमद अल सेफीले भनेका छन्- सरकार जनताका आशा अपेक्षा पूरा गर्न असफल भएको छ । प्रशासनले परिवर्तन अति आवश्यक छ भन्ने बुझ्नुपर्छ । यदि जनताले परिवर्तन चाहन्छ भने सरकारले त्यसलाई सुन्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment