Comments Add Comment

सन्दुक रुइतको रिंगटा लाग्ने पदयात्रा

चौंरीहरुको चालमा अलि ढिलो हिँड् है, केटा,” पहराका भित्तामा ढाड टाँसेर साँघुरा पहाडी भन्ज्याङहरु छिचोल्दै जाँदा सोनामले केटौले छोरालाई भने, “सीधा अगाडि हेरेर हिँड् । बाटाको ढुङ्गो वा चट्टान हेरेर मात्र खुट्टा टेक् । तल्तिर नहेर्, यताउता नहेर्, मन कतै नबराल् ।” जीवनको यात्राका लागि त्यो बडो राम्रो सुझाव थियो ।

धेरै अघिदेखि एकदमै ज्योतिर्मय सौन्दर्यले सुसज्जित ठाउँका रुपमा हिमालयको बयान गर्ने गरिएको छ । नेपालको बाटो गरी तिब्बत प्रवेश गर्ने प्रथम पश्चिमा अन्वेषक र लेखक पिटर माथ्थिउसेन पहिलो पटक सगरमाथा देख्दा एकदमै मन्त्रमुग्ध भएका थिए । सन् १९७८ मा लेखिएको स्नो लियोपर्ड पुस्तकमा “स्वर्गतुल्य चमकदार शिखर” भनी सगरमाथाको बयान गरिएको छ ।

सानो केटो छँदा सन्दुकलाई हिमाल, विशेषगरी त्यसमध्ये पनि कञ्चनजङ्घालाई पवित्र शक्ति भएको आफ्नो गृह पहाड मान्न सिकाइएको थियो । थुपै्र पश्चिमाहरुका दृष्टिमा हिमालहरु विजय प्राप्त गरिने वस्तुभन्दा पनि सम्मान गरिनुपर्ने ठाउँ हुन्, जहाँ बाँच्नका लागि सहनशीलता, आस्था र भौतिक शक्तिको खानी नै चाहिन्छ ।

संसारको छानो छिचोल्नु कति खतरनाक हुन सक्छ भन्ने कुराको पहिलो चोटि अनुभव गर्दै थिए सन्दुक । उनको उमेरका धेरैजसो केटाका लागि यो झन्डैजसो कल्पनाबाहिरको यात्रा थियो । यस्तो यात्रामा सन्दुकले कपडाका मामुली चिनियाँ जुत्ता लगाएर आफ्ना बासँग दुई हप्तासम्म नाक ठोक्किने भीर, बरफका चक्का र जोडले हुत्तिँदै बग्ने नदीमाथि हालिएका मुढाका धराप साँघुहरु तरे ।

सन्दुकलाई बाले दुर्लभ रेडपान्डाहरू बसोवास गर्ने बाँस झ्याङ्हरू देखाए । उनी मकैका पहेंलपुर बारी र हरिया चिया बगान देखेर मुग्ध भए । पदयात्राको अन्तिम दिन जब सन्दुक दार्जीलिङको छेउछाउ पुगे, त्यहाँको होहल्ला र हाहाकारले उनको दिमाग लाटियो

उनीहरुको गन्तव्य भारतको पश्चिम बङ्गालको उत्तरमा पर्ने दार्जीलिङको इसाई स्कुल सेन्ट रोबर्ट्स स्कुल थियो, जहाँ रूइतका बाले उनलाई भर्ना गरेका थिए । कागको उडाइका हिसाबले त्यो यात्रा त्यस्तै एक सय ५० किलोमिटरको हुँदो हो । तर बाटो कति साह्रो ढुङ्ग्याने र घुमाउरो थियो भने त्यसको वास्तविक दूरी नाप्न असम्भव छ । त्यस बखत त्यहाँ पुग्ने अर्को बाटो छँदै थिएन ।

रूइतका बा साँघुका ससाना तख्तामाथि र ढुङ्ग्याने बाटोमा यसरी फटाफट हिँडे, मानौं त्यो उनको स्वाभाविक गुण हो । त्यसैले त उनका खुट्टा चौंरीहरुका झैं ठीक ठाउँमा टेक्थे । उनी चौंरीहरुझैं चुस्त र विश्वस्त थिए । उनको चालमा मोहकता पनि थियो । तर सात वर्षको उमेरमा सन्दुकचाहिँ आफ्ना खुट्टालाई भर्खर सदाउँदै थिए । जीवनका ती कठोर प्रथम दिनहरुमा त्यस्ता थुप्रै क्षणहरु थिए जतिखेर उनी यति लडखडाए, लडे वा डराए कि उनका खुट्टा डेग चल्नै मानेनन् । त्यस्तो बेलामा सोनामको व्यापारिक कामकाज र यात्राहरुको प्रबन्ध मिलाइदिने बफादार सहयोगी धार्के सन्दुकलाई फकाइफुल्याई अगाडि बढाउँथे ।

सन्दुक धार्केलाई विश्वास गर्थे । उनी भन्थे, “उनको अनुहार साह्रै दयालु थियो । बाटो काट्दा वा साँघु तर्दा म डराएँ भने उनी मलाई हात समातेर डोर्‍याउँथे । अनि राति मलाई धाप मार्दै सुताउँथे । उनी मलाई कोट लाउन सघाउँथे । अनि बाटो लाग्नुअघि मैले नास्ता मनग्गे खाए, नखाएको ख्याल गर्थे ।”

पहिलो रात सोनाम र धार्के थाकेर साह्रै लखतरान भएका थिए । त्यसैले तिनले सुकुटी हालेको ढिँडो मात्रै पकाए । सन्दुकचाहिँ रूनरून खोज्दै थिए । उनी घर फर्केर आफ्नी आमाको भान्सामा जान र परिवारका सबै जनासँग अँगेनाका छेउको न्यानो ओछ्यानमा सुत्न हुरूक्क भएका थिए ।

“पहाडको गुफामा सुत्दा म पक्का पनि चिन्तित भएँ हुँला । किनभने बिहान ब्यूँझिँदा थाहा भयो— मैले त ओछ्याएको भेडाका छालाको राडीमा पिसाब फेरेको पो रहेछु,” सन्दुक भन्छन् ।

सधैंजसो कठोर रूइतका बाले सात वर्षका केटालाई यो सब कति
बिरानो लागेको होला भनी बुझेका हुनुपर्छ । उनीहरुले कञ्चनजङ्घाको दक्षिण मोहडामा लागेको घाम हेर्दै गर्दा सोनामले चाहिँ चिया पकाए, ढिँडो ओडाले अनि पिसाबले निथ्रुक्कै भिजेको राडी चौंरीका ढाडमा सुकाए । त्यसबारे उनले केही भनेनन् ।

उनीहरुको यात्रामा आइरहने प्रत्येक साना, हल्लिने झोलुङ्गे पुलहरुदेखि सन्दुक डराउँथे । पाइलो छिसिक्क रड्कियो कि हिउँको दरारमा झ्वाम्मै खसियो । सानो भूलचुकले गर्दा ज्यानै जान सक्थ्यो । एक ठाउँमा त उनीहरुले काठको एउटै फलेकमा हिँडेर हुङ्कारमय तमोर नदी तरे ।

सन्दुक भन्छन्, “मलाई सम्झना छ— धार्केले मेरो एउटा हात समाते अनि अर्का व्यापारीले मेरो अर्को हात समाते । मैले तल हेरिनँ । मलाई थाहा थियो— नदीमा खसें भने मलाई हुत्त बगाइहाल्छ ।”

सन्दुकको तागत छिट्टै बढ्यो । एकाध दिनमै उनलाई लाग्यो— बा जुन धातुले बनेका हुन्, म त्यही धातुले बनेको हुँ । यात्राको आखिरीतिर दलबलका हरेक जनालाई भेट्ने गरी हिँड्न सक्दा उनी फुरूङ्ग भए ।

सन्दुक प्रायः घण्टौंसम्म आफ्ना बा वा धार्केका पाइला पछ्याउँदै हिँडे । त्यसरी हिँड्दा आफ्नै मुटुको ढुकढुकी सुनेको र लाठेहरुलाई भेट्न शरीरको एकएक थोपो तागत लगाएको उनलाई राम्रै सम्झना छ ।

भुवादार पुच्छर भएका, हिमरेखामाथिको धेरै उचाइमा खुबै फूर्तिला देखिने तर कम उचाइमा भने चाल घटाउन जिद्दी गर्ने चौंरीहरुसँग उनी मोहित भए । उनलाई तिनका रौं झ्याम्म भएका यालहरुमा बाँधिएका चमकदार रङ्गीन रिबनहरु र घण्टीहरु औधी मन परे ।

सेरोफेरोको बन्जर र त्यसैत्यसै डर लाग्ने खालको भूदृश्य उनीहरुका लागि बिरानो थियो । आखिर त्यही त तिनको संसार थियो । तिनले आफ्नो सारा यात्राभरि अरु कसैलाई भेटेनन् । चीलहरुले शिरमाथि वेग मार्दा आउने आवाज, नदीको गर्जन र बेलाबेला ढुङ्गा गुड्दा आउने आवाज सिवाय त्यहाँ कुनै आवाज सुनिँदैनथ्यो । कुनै बेला त यति सुनसान हुन्थ्यो कि मौनता नै गोलीको विस्फोट जस्तो लाग्थ्यो । सोनाम र धार्के चिनेजानेका भेडा गोठालाहरुका छाप्रामा वा गुफाहरुमा वास बस्थे । उनीहरुले सानो आगो बालेर आलु र मकै वा दालभात पकाउँथे ।

राति ताराहरु यति चम्किला र नजिकै देखिन्थे कि सन्दुकलाई यसो हात लम्काएर तारा छुन सकिएला कि जस्तो लाग्थ्यो । धार्केले ओछ्याइदिएको राडीमा पल्टियो कि उनी घुप्लुक्क निदाइहाल्थे ।

पूर्वी नेपाल र भारतको सिमानै सिमाना भएर जाने बाटो सबैभन्दा थकाइलाग्दो थियो । तिनले अनेक दिन तापक्रम शून्यभन्दा कम भएको र हिउँले चारैतिरबाट हरदम झापट दिइरहने नाङ्गो टाकुरो भएर अघि बढ्नुपर्‍याे । सन्दुकसँग टोपी त थियो तर पन्जा थिएनन् । उनका हात यति कठ्याङ्ग्रिए कि उनलाई आफ्ना औंला झर्लान् कि जस्तो लाग्यो । उनलाई चिसो बतासले लुगाभित्र घुसेर हाने जस्तो लाग्यो । बतासले कसो उनको ज्यान नलिएको !

पहराको थाप्लो र हिउँको संसारबाट तल दार्जीलिङ नजिक पश्चिम बङ्गालका अलि मुलायम र सौम्य डाँडाहरुमा झरेपछि बल्ल सोनामको टोलीले न्यायो महसुस गर्न थाल्यो । एक घण्टाभित्र अचानक उनीहरुलाई एकदमै फरक भूदृश्य भएको ठाउँमा भित्रिएको अनुभूति भयो । उनीहरु धूपी र लाली गुराँसका बोटहरुको बीचबाट अघि बढे ।

सन्दुकलाई बाले दुर्लभ रेडपान्डाहरु बसोवास गर्ने बाँस झ्याङहरु देखाए । उनी मकैका पहेंलपुर बारी र आँखाले भ्याएसम्मको सेरोफेरोमा फैलिएका मखमलीमय हरिया चिया बगान देखेर मुग्ध भए । पदयात्राको अन्तिम दिन जब सन्दुक र सोनाम दार्जीलिङको छेउछाउ पुगे, त्यहाँको होहल्ला र हाहाकारले उनको दिमाग लाटियो ।

साइकलका लहरहरु एक स्वरमा घण्टी बजाउँदै बत्तिए । पसलहरुका रेडियोहरुमा हिन्दी गीत घन्किए । पसलका दराजहरु सजिलै हात लागेको पैसा राखिएका सिसाका भाँडाहरु र बिस्कुटहरुले भरिभराउ थिए । रङ्गीन सारी र राता टीका लगाएका महिला अप्सरा जस्ता थिए । नीला आँखा र खैरो कपाल भएका अग्ला गोराहरु त झनै आश्चर्यजनक थिए ।

सन्दुकले मोटरगाडी देखेको त्यो पहिलो चोटि हो । उनी भन्छन्, “मलाई ती मिसिनहरु बडो विचित्रका लागे ।” त्यस दिन विश्वकर्माको पूजा गर्न बसहरु सयपत्रीका मालाले चिरिच्याट्ट सिँगारिएकाले पनि उनलाई ती अझ विचित्र लागेका थिए ।

त्यो भद्रगोल तमासा हेर्दे उभिँदा सन्दुकलाई तीव्र हीनभावनाले छोप्यो ।

“यसो निहुरिएर आफ्ना चौंरीको ऊनका घरबुना कमिज सुरूवाल हेर्दा म कसरी लाजले भुतुक्क भएको थिएँ, त्यो मलाई अझै सम्झना छ । मलाई त आफू कस्तो पाखे रहेछु भन्ने लाग्यो । मानौं, म प्राग्ऐतिहासिक युगबाट आधुनिक सहरमा एकाएक प्रकट हुन पुगें । मलाई त कता लुकूँ, कता बिलाऊँ भन्ने लाग्यो ।”

तर, सन्दुकले लुक्ने र बिलाउने मौकै पाएनन् । सन्दुकलाई थाहा भएको अर्को कुरा के भने उनका बा धार्के र टोलीका अरु मानिससँग बिदा हुँदै आफ्ना छोरालाई झङ्ल्याङझुङ्लुङ पार्दै एउटा बसको छतमा चढाउँदै थिए । “जिल्ल पर्दै बसका ठूला रबरका पाङ्ग्रा हेरेको मलाई सम्झना छ । हैन, के यो जिनिस उठ्न लाग्या हो ? के यसलाई घोडाले घिसार्ने हो ? कि यो पानीमा पौडिने हो ?” उनले स्मृति उघारे, “बाले अरु यात्रुहरुलाई हामीलाई छतमा सिट खोजिदिन बिन्ती बिसाए । ड्राइभरले अगाडि ह्यान्डिल चलाउँदा र इञ्जिन स्टार्ट गर्दा निस्केको आवाजले मेरो सातो लियो । सडक र मोडहरुमा बसले घच्याक र घुचुक हल्लाउँदा बाले मलाई समातेको अझै सम्झना छ ।”

आखिरमा बस दार्जीलिङ पुगेर धूवाँको मुस्लो ओकल्दै घ्याच्च रोकिएपछि उनीहरु छतबाट हातपाउ टेकेर बडो गाह्रोसँग ओर्लिए । अनि हिमालको दृश्य देखिने अग्लो पर्वतीय नगरीको बीचैबीच सेन्ट रोबर्ट्स स्कुलतिर लागे ।

सन् १९३० मा ब्रिटिस मिसिनरीले इँटाको गारो लगाएर बनाएको आवासीय स्कुल थियो त्यो । उनीहरुले चौर पार गर्दा पानी फोकाका कारण सन्दुक आफ्ना खुट्टा खोच्याउँदै थिए । बाबुछोराले एकदमै मौन भावले आँखा उठाएर काठका बडाबडा ढोकाहरु हेरे । अनि ढोका ढक्ढक्याउँदै लामो सास फेरे ।

(अली ग्रिपरद्वारा अंग्रेजी भाषामा लेखिएको सन्दुक रुइत पुस्तकको अंश । यसैसाता बजारमा आएको यो पुस्तकको नेपाली संस्करण खगेन्द्र संग्रौलाले अनुवाद गरेका हुन् )

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment