Comments Add Comment

६ खर्बको दशैं अर्थतन्त्रः दक्षिणामै १५ अर्ब !

१९ असोज, काठमाडौं । मिठोमसिनो खाने र राम्रो लगाउने चाड दशैं । तर, दशैंको आयाम यतिमा मात्रै सिमित छैन । यो एउटा धार्मिक र सांस्कृतिक महत्व बोकेको चाड त हुँदै हो, देशको अर्थव्यवस्थालाई चलायमान बनाउनका लागि पनि यो पर्व निकै महत्वपूर्ण छ ।

हुने-खानेले मात्र होइन, नहुनेले समेत जोरजाम गरेर दशैं मनाउने गर्छन् । ‘लाहुर’बाट ‘पाहुर’ बोकेर आउने दाजुभाइले हिजो परिवारका लागि एकसरो कपडा मात्र बोकेर आउँथे, आज उनीहरुको भारीमा एउटा टीभी र केही थान मोबाइल समेत थपिएका छन् । अझै राम्रो कमाई छ भने मोटरसाइकल नै बुकिङ भएको हुनसक्छ ।

वाणिज्य विभागको वाषिर्क तथ्यांक अनुसार औसतः दैनिक १२ सय खसी-बोका र ८ सय राँगा-भैसी मासुको प्रयोजनका लागि खपत हुन्छ । काठमाडौंमा मात्र १० औं हजार खसी-बोकाको खपत हुन्छ । कुखुराको संख्यात्मक गणना छैन ।

दशैं र तिहारलाई लक्षित गरी नयाँ लत्ता-कपडा र अन्य सामानको जोरजाम गर्ने प्रचलनका कारण चाडबाडमा सबैभन्दा धेरै सामान आयात हुने नेपाल राष्ट्रिय व्यवसायी महासंघका नरेश कटुवाल बताउँछन् । ‘बजार बिकेन्दि्रत भएको छ, अब सामान किन्न काठमाडौं नै आउने बाध्यता छैन,’ उनी भन्छन्, ‘तर, लत्ता-कपडा र जुत्ता आयातको सबैभन्दा ठूलो हिस्सा असोज र कात्तिकमा विक्री हुन्छ ।’

अर्थतन्त्रका सबै अवयव एकैपटक चल्मलाउने भएकाले चाडबाडको समयलाई चलायमान अर्थतन्त्रको संज्ञा दिन्छन् पूर्वअर्थसचिव शान्तराज सुवेदी । ‘अर्थतन्त्रका धेरै क्षेत्रमा दशैं र तिहारले प्रभाव पार्छ,’ उनी भन्छन्, ‘यसले पूर्वाधार निर्माणको जस्तो दीगो प्रभाव त पार्दैन, तर केही समय अर्थतन्त्रका हरेक अवयवलाई चलायमान भने बनाउँछ ।’

अर्थशास्त्रीहरुका अनुसार दशैं र तिहारमा मात्र कूल गार्हस्थ उत्पादनको करीव २० प्रतिशत हाराहारीमा उपभोग हुने गर्छ । त्यसमध्ये पनि दशैंको भूमिका बढी हुन्छ । दशैंसँग जोडिएका हरेक क्षेत्रको हिसाव गर्दा अनुमानित ६ खर्ब हाराहारीको कारोबार हुने गरेको बताइन्छ । पूर्वअर्थसचिव सुवेदी भन्छन्, ‘ठ्याक्कै हिसाव राख्ने संयन्त्र त बनिसकेको छैन, तर जीडीपीको २० प्रतिशत हाराहारीको उपभोग यस चाडमा हुने अनुमान छ ।’

टीकाटालोमा १५ अर्ब

नेपाल राष्ट्र बैंकले हरेक दशैंमा नयाँ नोट वितरण गर्छ । सर्वसाधारणले दशैंमा दक्षिणा दिने प्रयोजनका लागि नयाँ नोट सटही गर्छन् । यस वर्ष करीव १५ अर्ब रुपैयाँ हाराहारी नयाँ नोट वितरण भएको छ । राष्ट्रबैंकले प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँका दरले नयाँ नोट वितरण गरेको थियो । सामान्यतया दशैंको बेला साटिने नयाँ नोट टिकोटालोको प्रयोजनमा खर्च हुन्छ ।

पौने खर्ब रेमिट्यान्स

आर्थिक वर्ष २०७५/७६ मा कूल ८ खर्ब ७९ अर्ब २८ करोड रेमिट्यान्स भित्रिएको थियो । यो रेमिट्यान्सलाई औसतमा हिसाव गर्दा महिनामा ७३.२५ अर्ब रेमिट्यान्स नेपाल भित्रन्छ ।

नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार आव २०७५/७६ को असोज महिनामा मात्र ८९ अर्ब रेमिट्यान्स भित्रिएको थियो ।

चालु आवमा यो रकम अझै बढ्ने छ । चाडबाडलाई लक्षित गरी नेपालीले पठाउने रकमले दशैंको अर्थतन्त्रलाई ठूलो टेवा दिने गरेको छ । खासगरी आम नेपालीको जीवनस्तर उकास्न रेमिट्यान्स सहयोगी माध्यम बनेको छ ।

कृषि उत्पादनको खपत

अनौपचारिक अर्थतन्त्रका माध्यमबाट पनि दशैंमा अर्थतन्त्र चलायमान हुन्छ । शहरबाट एकसाथ ठूलो जनसंख्या ग्रामिण भेगमा जान्छन् । तथ्यांकीय गणनामै नआएको धेरै रकमको कारोबार यस मौकामा हुने गरेको अर्थशास्त्रीहरु बताउँछन् । ‘घरमा पालेको खसी बेचेर बालबच्चालाई नयाँ लुगा किनिदिने धेरै परिवार हुन्छन्,’ पूर्वअर्थसचिव सुवेदी भन्छन्, ‘तथ्यांकमा नदेखिने तर, अर्थतन्त्रमा कुनै न कुनै रुपमा योगदान दिनेगरी ग्रामीण भेगमा पैसा खेलिरहेको हुन्छ ।’

सूचिकारले काम पाउँछन्, सडक तथा हवाई यातायात व्यवसायीले दोब्बरभन्दा बढी क्षमतामा कमाई गर्छन् । मदिराको व्यापार उत्तिकै फस्टाएको हुन्छ ।

ग्रामिण भेगमा हुने हाटबजार, जात्रा मेला पर्वले समेत ग्रामिण भेगको अर्थतन्त्रलाई चलायमान बनाउने गर्छ । समग्रमा चाडबाडले कृषि उपजको खपतमा सकारात्मक भूमिका खेल्ने गरेको छ ।

दशैं बोनसको आकर्षण

नेपालमा सरकारी कर्मचारीले वर्षमा १३ महिनाको तलव प्राप्त गर्छन् । १२ महिनाबाहेक एक महिना कर्मचारीलाई दशैं बोनसका रुपमा उपलब्ध गराइन्छ ।

सरकारी कोषबाट तलव खाने झण्डै ६ लाख कर्मचारीले दशैं बोनस पाउँछन् । यता, निजी क्षेत्रले पनि पछिल्लो समय कर्मचारीलाई दशैं बोनस उपलब्ध गराउन थालेका छन् । तर यसमा एकरुपता भने छैन । जे भए पनि दशैं बोनसले गर्दा कर्मचारी परिवारलाई दशैं मनाउन सहज हुने गरेको छ ।

उपयोगमै खर्च

दशैंको खर्च उत्पादनमुलक भने होइन । करीव ६ खर्ब रुपैयाँ नेपालीले कुनै न कुनै रुपबाट उपयोगमै खर्च गर्छन् ।

त्यसमध्ये ठूलो रकम उपभोग्य वस्तु आयातमै विदेशिने गरेको छ । सवारी साधन र विद्यूतीय सामान खरीद गर्ने मौसम नै चाडबाड हो । भन्सार विभागको तथ्यांकअनुसार आर्थिक वर्ष २०७५/७६ को तीन महिना (साउन-भदौ-असोज) मा मात्र ४ खर्ब रुपैयाँ बराबरको कूल वैदेशिक व्यापार भएको थियो ।

त्यसमध्ये आयात ३ खर्ब ७३ अर्ब रुपैयाँ बराबरको आयात मात्र भएको छ । चालु आवको साउन महिनामा मात्र १ खर्ब ६ अर्ब रुपैयाँ बराबरको सामान आयात भएको छ । नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवालकाअनुसार दशैंलाई लक्षित गरी साउनबाटै आयात शुरु हुन्छ । त्यसकारण यो तीन महिनामा उपभोग्य सामानको खपत अधिक हुने गरेको छ । राष्ट्रबैंकले दशैंको बेला मात्र बैंकहरुलाई ५० अर्बभन्दा बढीको भुक्तानी दिने गर्छ ।

फेरिएको दशैं

दुई छाक मासु, मासु पकाउने मरमसला, एक-एक जोर नयाँ लुगा, टुकी बाल्न पुग्ने मट्टीतेल, केही छाक खान पुग्ने चामल, चिउरा, दशैंमा टिका लगाएर दिन पुग्ने दक्षिणा र रातो माटो तथा सेतो कमेरोको जोहो गरेपछि सामान्यतया दशैं खर्च टर्ने जमाना थियो । कृषिमा मात्र आधारित अर्थतन्त्रले अब बिस्तारै विस्तारित रुप लिएको छ । मानिससँग हातहातमा पैसा छ, नयाँ लुगा किन्न र मासु खान अब दशैं कुर्नु पर्दैन । फलस्वरुप अब मानिस बिलासितातर्फ लागेका छन् । दशैंको मुखमा स-परिवार घुमघाममा निस्कने प्रचलन पछिल्लो वर्ष निकै बढेको छ ।

पर्यटन व्यवसायी यम खड्काका अनुसार दशैंको बिदामा घुम्न निस्कने युवायुवती तथा परिवारको संख्या ठूलो छ । खासगरी दशैंमा टिका नलगाउने, हिन्दुबाहेक अन्य धर्मावलम्बीले समेत समान रुपमा बिदा पाउँछन् । उनीहरुले दशैंको बिदालाई घुमघाममा परिणत गरी रमाइलो गर्न लागेका छन् ।

अब गाउँघरबाट लिंगे पिङ लोप हुँदैछन् । त्यसको स्थान क्रमशः स्थानीय क्लवले आयोजना गर्ने दशैं मेलाले विस्थापित गरी मेसिनबाट चल्ने रोटे पिङले लिन थालेको छ ।

गाउँ पस्यो अवसर

ठूला शहरमा केन्दि्रत आर्थिक अवसर क्रमशः गाउँ पस्ने क्रममा छ । नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष कटुवाल भन्छन्, ‘पहिले बुटवलको खुद्रा व्यापारीले दशैंका सामान किन्न काठमाडौं आउनुपथ्र्यो । अब त्यो जमाना छैन । बुटवलका व्यापारी आफै चीन र भारत पुगेर सिधै बुटवलमा लगेर सामान बेच्न सक्षम भइसके । अब काठमाडौंमा दुई वर्ष अगाडीको जस्तो व्यापारको रौनक हुँदैन ।’

यही ट्रेन्ड पूर्वदेखि पश्चिमसम्मका शहरसम्म रहेको उनी बताउँछन् । अब काठमाडौं हुँदै सुर्खेत जाने लाहुरेले काठमाडौंबाट सामान बोकेर जाँदैन, सबै सामान सुर्खेतमा पाउने भएपछि उसको किनमेल घर नजिकै हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment