Comments Add Comment

किसानले फलाए ८ सय ३ किलोको फर्सी, अढाई किलोको गोलभेँडा

Photo Credit : Xinhua

क्यानडामा हरेक वर्ष फर्सी प्रतियोगिता हुने गर्दछ । फर्सी फेस्टिबल अन्तर्गत हुने उक्त फर्सी प्रतियोगिता यस पटक निकै विशेष रह्यो ।

क्यानडाको ब्रुस काउन्टीस्थित पोर्ट एल्गिन गाउँमा शनिवार भएको प्रतियोगितामा एक से एक बडेमानका फर्सीहरु प्रदर्शन गरियो ।

उक्त फर्सी प्रदर्शनी प्रतियोगितामा ओन्टारियोस्थित क्यामेरोनका बासिँदा जेन र फिल हन्ट दम्पत्तिले फलाएको सबैभन्दा ठूलो आकारको फर्सी विजेता बनेको छ ।

हन्ट दम्पत्तिले ८ सय ३ किलो ५४ ग्रामको फर्सी प्रतियोगितामा ल्याएका थिए । त्यो भिमकाय फर्सी हेर्दैमा सबैजना तिनछक परे । अन्ततः सबैभन्दा ठूलो फर्सीको उपाधि जित्दै हन्ट दम्पत्तिले झण्डै अढाई लाख रुपैयाँ बराबरको पुरस्कार जिते ।

त्यतिठूलो आकारको फर्सी कसरी फल्यो ? भनेर ती दम्पत्तिलाई सोध्नेहरु धेरै थिए । किसान जेन हन्टका अनुसार उनले फर्सीको बियाँ राम्रोसँग करेसाबारी बनाएर रोपे । आसपासका झारपात सबै हटाए । फर्सी रोपेर उम्रिएसँगै त्यसमा कम्पोष्ट मल हाल्दै निरन्तर हेरचाह गरिरहे ।

सो प्रतियोगितामा जेफ वार्नर नामका किसानले फलाएको ७ सय ६५ किलोको फर्सीले दोश्रो स्थान हासिल गरेको छ भने क्रिस लिओन्सले फलाएको ७ सय ५४ किलोको फर्सी तेश्रो भएको छ ।

फर्सी मात्र होइन प्रतियोगितामा अन्य तरकारी तथा फलफूलहरुको पनि भिडन्त भएको थियो । जसमा ५७ किलोको खरबुजा, १२७ इन्च लामो लौका, २१ किलोको बन्दा, अढाई किलोको गोलभेँडा, २३९ इन्च अग्लो मकैको बोट, १०६ किलोको कुभिण्डो, ८ किलोको काँक्रो तथा आधा किलोको खुसार्नी लगायतले आ आफ्नो विधामा प्रथम पुरस्कार पाएका थिए ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment