Comments Add Comment

ट्वीटरको स्विकारोक्ति : प्रयोगकर्ताका डाटा विज्ञापनका लागि प्रयोग गरियो

इमेल, ठेगाना तथा फोन नम्बर लगायतका प्रयोगकर्ताका महत्वपूर्ण तथा निजी जानकारीहरु विज्ञापन प्रयोजनका लागि प्रयोग गर्ने गरिएको ट्वीटरले खुलासा गरेको छ ।

प्रयोगकर्ताका डाटाहरु सुरक्षाका कारणले अन्य कम्पनीलाई सुम्पिएको र त्यहीँबाट भुलवश ती डाटाहरु विज्ञापनसँग सम्बन्धित विषयमा प्रयोग भएको ट्वीटरले स्वीकार गरेको हो ।

यद्यपि यसको असर कति प्रयोगकर्ताहरुलाई पर्यो भन्ने कुरा एकिन नभएको भन्दै ट्वीटरले आफ्नो साझेदार तथा कुनै तेश्रो पक्षले प्रयोगकर्ताका व्यक्तिगत डाटाहरु बाहिर कहिल्यैपनि शेयर भने नगरेको जिकिर गरेको छ ।

ट्वीटरले भनेको छ, ‘हामीले हालैमात्र थाहा पाएका छौँ कि प्रयोगकर्ताको तर्फबाट उनीहरुका अकाउन्टको सुरक्षाका लागि शेयर गरिएका इमेल ठेगाना वा मोबाइल नम्बर जस्ता डाटाहरु भुलवश विज्ञापनका लागि प्रयोग गरिए । ती डाटाको उपयोग लक्षित वर्ग विज्ञापन प्रणालीका लागि गरिएको थियो ।’ तर सेप्टेम्बर १७ देखि भने यस्तो गडबडीलाई हटाइएको र प्रयोगकर्ताका डाटहरु पूर्णरुपमा सुरक्षित र गोप्य रहेको ट्वीटरले जनाएको छ ।

ट्वीटरले प्रयोगकर्ताका डाटाहरु विज्ञापनका लागि प्रयोग गरिएको घटनाप्रति माफी माग्दै आगामी दिनमा गल्ती नदोहोर्‍याउने जनाएको छ ।

स्मरण रहोस् सर्वाधिक लोकप्रियमध्येको एक सोसल मिडियामा प्लेटफर्मको रुपमा रहेको ट्वीटरमा दैनिक सक्रिय प्रयोगकर्ताको संख्या १३ करोड ९० लाख रहेको छ । ती मध्ये २ करोड ९० लाख त अमेरिकामा मात्रै रहेका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment