Comments Add Comment

एनआरएन चुनाव : पन्तले भने- हतार नगर्नू, आचार्यले भने- हाँसीहाँसी चुनाव लडौं

२४ असोज, बार्सिलोना । बिहीबार ३ वटा हेलिकप्टर चढेर दर्जनबढी एनआरएनका नेताहरु पर्बत पुगे । सन्दर्भ थियो पैयुँ गाउँपालिका ४ हुवासमा आयोजित अन्तर्राष्ट्रिय पर्वत समाजको दोस्रो महाधिवेशन ।

एउटा समाजको अधिवेशनमा दर्जन बढी एनआरएन नेताहरु किन पुगे त ? दशैंको चटारो नसकिदै हेलिकप्टर चढेर शुभकामना बाँड्नमात्र उनीहरु त्यहाँ पुगेका होइनन् । यसको भित्रिपाटो हो एनआरएनएको नवौं अन्तर्राष्ट्रिय महाधिवेशन र चुनावी जोडघटाउ ।

एक सातापछि हुने संघको महाधिवेशनको चुनावी खिचातानीको जोडदार सुरुवात एनआरएन नेताहरुले पर्वतको हुवासबाट नै गरेका छन् । संसारभर रहेका पर्वतेली एनआरएनहरुको मत बटुल्न र आफ्नो उम्मेदवारीको प्रचारप्रसारका लागि उनीहरु त्यहाँ पुगेका हुन् । त्यहाँ पुग्ने अधिकांश एनआरएन नेताहरुले हेलिकप्टर चढेका तस्वीरहरु सामाजिक सञ्जालमा पोष्ट गरे । तर कार्यक्रममा सहभागिता जनाएको बिषय र हुवासका तस्वीरहरुलाई उनीहरुले खासै महत्व दिएनन् ।

चुनावी खिचातानी 

एनआरएनए उपाध्यक्ष तथा अध्यक्षका प्रत्यासी गोरखाका कुमार पन्तले कार्यक्रमलाई सम्बोधन गर्दै  ५-७ दिनसम्म अझै सहमति हुनसक्ने र मिलेर जाने बिश्वास ब्यक्त गरे । अर्का उपाध्यक्ष पर्वतका कुल आचार्यलाई संकेत गर्दै उनले भने, ‘घाम जहिले पनि पूर्वबाट उदाउँछ। त्यो पूर्व भनेको बिस्तारै गोरखा हुँदै पर्वत आउने हो । यसपटक धैर्यता गर्‍यो भने भोलिको दिनमा पर्वतले अवश्य नेतृत्व पाउने छ । त्यस्तो संकेत देखिन थालेका छन् ।’

उनले घुमाउरो शैलीमा चेतावनी दिदै धेरै हतार नगर्न सुझाव दिए। ‘तपाई हामी सबैलाई थाहा छ, धेरै हतार गर्‍यो भने के हुन्छ भनेर । विस्तारै स्टेपवाई सिढी चढ्नुपर्छ’ पन्तले बताए।

तर उनको सहमतिको आशालाई चिर्दै अर्का प्रत्यासी  कुल आचार्यले भ्रममा नपर्न गैर आवासीय नेपालीहरुलाई अनुरोध गरे । सहमति नहुनेबारे सार्बजनिक रुपमा नै जानकारी गराउदै उनले चुनावका लागि तयार हुन पन्तलाई चुनौती दिए । ‘कुमारजी यही हुनुहुन्छ, मैले धेरै ठाउँमा पनि भन्ने गरेको छु । उहाँ र मेरो बीचमा सहमति भएको छ भन्दैगर्दा धेरै जना अल्मलिनु भएको छ । मैले उहाँलाई प्रस्ताव गरेको छु । हाँसीहाँसी चुनाव लडौं । जसले बढी मत ल्याउछ उसलाई सहयोग गरौं । कम मत ल्याउनेलाई सम्मान गरौं ।’

आफू २ दशकदेखि बेलायतमा रहे पनि पर्वतको छोरा भएकाले आशिर्वाद लिन हुवास आएको बताउँदै आचार्यले आफूलाई बिजयी गराउन गैर आवासीय नेपालीहरुलाई अनुरोध गरे । कार्यक्रमलाई सम्बोधन गर्दै पर्वतकै उपाध्यक्षका उम्मेदवार बेल्जियम निबासी अर्जुनकुमार श्रेष्ठ र कोषाध्यक्षका उम्मेदवार जापानका महेशकुमार श्रेष्ठ, सह-कोषाध्यक्षका उम्मेदवार रसिया निबासी गोबिन्दप्रसाद गौतमले आफूलाई बिजयी गराउन अनुरोध गरे ।

प्रमुख अतिथिको रुपमा बोल्दै राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले एनआरएनहरुलाई नेपालको विकासको साझेदारी बन्न अनुरोध गरे । उनले चुनावी माहोलबारे पनि बोल्दै आफ्नो जन्मथलो पवर्तबाट एनआरएन नेतृत्वका लागि थुप्रै उम्मेदवारहरु रहेकोमा खुशी ब्यक्त गर्दै बधाई तथा शुभकामाना ब्यक्त गरे ।

आचार्य र पन्तको उम्मेदवारी तिमिल्सिनाले भने, ‘दुवैजना गाउँमा सामान्य परिबारमा हुर्केका ब्यक्तिहरु आफ्नै मेहनतले  अहिले संसारभर नेपालीहरुको नेतृत्व लिन मैदानमा हुनुहुन्छ । दुवै गण्डकी प्रदेशकै हुनुहुन्छ। हामी प्रदेशवासीलाई यो गर्वको कुरा हो ।’

अन्तर्राष्ट्रिय पर्बत सेवा समाजको दोस्रो अधिबेशनबाट पुरण गिरीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ ।

को-को पुगेका थिए हुवासमा ?

उपाध्यक्षका उम्मेदवार अर्जुनकुमार श्रेष्ठ, महासचिवका उम्मेदवारहरु डा. हेमराज शर्मा, डिबी क्षेत्री, सचिवका उम्मेदवार शिवकुमार बरुवाल, कोषाध्यक्षका उम्मेदवार सोम सापकोटा, महेशकुमार श्रेष्ठ, सुदन थापा, सह-कोषाध्यक्ष पदका उम्मेदवार गोबिन्दप्रसाद गौतम, लोक दाहाल, युरोप संयोजकका उम्मेदवार एकराज गिरीलगायत दर्जनबढी एनआरएनए नेताहरु हुवास पुगेका थिए ।

एनआरएनको निर्बाचनमा अन्तर्राष्ट्रिय संजाल सहितका क्षेत्रीय समाजहरुको समेत ठुलो प्रभाव हुने हुँदा उनिहरु पर्वेतेली एनआरएनहरुको मत माग्न हुवास पुगेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment