Comments Add Comment

७५६ मेगावाटको तमोर जलाशययुक्त आयोजना चिनियाँ कम्पनीको पोल्टामा

२६ असोज, काठमाडौं । लगानी बोर्डले ७ सय ५६ मेगावाटको तमोर जलाशययुक्त आयोजना निर्माणको जिम्मा चिनियाँ कम्पनी पावर चाइनालाई दिएको छ । चिनियाँ राष्ट्रपति सी जीनफिङ नेपाल भ्रमणमा रहेको सयममा लगानी बोर्डले जलविद्युत् लगानी तथा विकास कम्पनी लिमिटेडसँग जेभी रहेको चिनियाँ कम्पनीलाई आयोजना जिम्मा लगाएको हो ।

बोर्डबाट पत्र प्राप्त भएलगत्तै पावर चाइनाले नेपालको जलविद्युत लगानी तथा विकास कम्पनीसँग आयोजना कार्यान्यवन गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेका छन् ।

गत साउनमा बोर्डले यो आयोजनाको लागि पावर कन्स्ट्रक्सन कर्पोरेसन अफ चाइना लिमिटेड तथा नेब्रास पावर कतार होल्डिङसँग जेभी रहेको फुजी इलेक्टि्रक कम्पनी लिमिटेड जापानसँग प्रस्ताव माग्ने निर्णय गरेको थियो । अन्तिम चरणमा छानिएका कम्पनीबाट आएका प्रस्ताव मूल्यांकनका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनको संयोजकत्वमा प्राविधिकसहितको समिति गठन पनि गरिएको थियो । सोही कमिटिको सिफारिस अनुसार कम्पनी छानिएको हो ।

समझदारीपत्रमा जलविद्युत् लगानी तथा विकास कम्पनी लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत छवीराज पोखरेल र पावर चााइनाका चतर्फबाट उपध्यक्ष पान देङ युले हस्तक्षर गरे ।

जलविद्युत लगानी तथा विकास कम्पनीसँग रहेको रोल्पाको १५६ मेगावाटको माडी बहुउद्देश्यीय आयोजना पनि पावर चाइनासँग मिलेर आयोजना विकासका गर्ने गरी समझदारीपत्रमा हस्ताक्षर भएको छ । यसमा २६ प्रतिशत लगानी जलविद्युत् लगानी तथा विकास कम्पनी लिमिटेडको र ७४ प्रतिशत लगानी पावर चाइनाको हुने प्रमुख कार्यकारी अधिकृत पोखरेलले जानकारी दिए । तमोरमा भने दुई कम्पनीको लगानी हिस्सा कति हुने भन्ने पछि टुंगो लाग्ने उनले बताए ।

ऊर्जामन्त्री वर्षमान पुन ‘अनन्त’, ऊर्जासचिव दिनेशकुमार घिमिरे र लगानी बोर्डमा प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीको उपस्थितिमा यो समझदारी भएको हो ।


पावर चाइनाको नेपालमा मेट्टा सर्भिसेज एजेन्टका रुपमा छ । यो कम्पनीका मालिक यसअघि नेपालमा पश्चिम सेती अलपत्र पारेर फर्किएको चिनियाँ कम्पनी थ्री गर्जेजको पनि एजेन्ट थिए । वर्षौं आयोजना होल्ड गरेर अन्तिममा अनेक बाहाना देखाएर थ्री गर्जेजले पश्चिम सेती छाडेको थियो । हाल यो आयोजना अनिश्चियको भूमरीमा परहेको छ ।

पावर चाइनाले पाएको तमोर आयोजना नेपाल विद्युत् प्राधिकरणले अध्ययन गरिरहेको थियो । यसमा शक्तिकेन्द्रहरू सल्बलाएपछि प्राधिकरणले अनुमतिपत्र नै नवीकरण गरेन ।  चैत १५ र १६ गते काठमाडौंमा भएको लगानी सम्मेलनमा आयोजनामा लगानी गर्न पाँचवटा कम्पनी इच्छुक देखिएका थिए ।

२०७० साउन १६ गते प्राधिकरणले विद्युत् विकास विभागबाट तमोर जलाशययुक्त आयोजना अध्ययनका लागि अनुमतिपत्र पाएको थियो ।  सन् १९८५ मा जाइकाले प्रारम्भिक अध्ययन गरेको यो आयोजना ऊर्जा उत्पादनका हिसाबले महत्वपूर्ण छ ।

पाँचथर, तेह्रथुम र ताप्लेजुङको सिमानामा बन्ने आयोजना ७६२ मेगावाटमा बनाउन सकिने प्राधिकरणको अध्ययनले देखएको छ ।  सुक्खायाममा दिनमा ८ घण्टा सञ्चालन गर्न सकिने यो आयोजना वर्षामा मा १६ घण्टा लगातार चलाउन सकिन्छ ।

आयोजनाबाट सुक्खायाममा १ हजार १११ गिगावाट आवर र वर्षायाममा १ हजार ८७२ गिगावाट विद्युत् उत्पादन हुन सक्छ ।  तमोर आयोजनाको बाँध तेह्रथुमको ओख्रे र पाँचथरको स्याबरुम्बाको सीमा भएर बग्ने लम्बुदोभानबाट डेढ किलोमिटर ताल बन्नेछ । यो आयोजना पूर्वपश्चिम ४ सय केभीको प्रशरणलाइनबाट ७५ किलोमिटरको दूरीमा छ ।

आयोजना मोरङ, सुनसरी औद्योगिक क्षेत्र र प्रस्तावित दमक औद्यदोगिक करिडोरसँग नजिक छ । जलाशययुक्त आयोजना भएकाले यो आयोजना बने सुख्खायाममा यसले अधिक उत्पादन दिन सक्नेछ ।

आयोजनामा २०५ मिटरको ड्याम बनाए ७६२ मेगावाट बिजुली उत्पादन हुने प्राधिकरणको अध्ययनले देखाएको छ । त्यसलाई बढाएर ३ सय मिटर र्पुयाए तमोरबाट २५ सय ६५ मेगावाट बिजुली उत्पादन हुनेछ ।

तमोरमा २०५ मटिर बाँध लगाउँदा जम्मा १२६ घरपरिवारमात्रै विस्थापित हुनेछन् । यो जलाशयमा जम्मा डुबानमा पर्ने जग्गामध्ये ५ प्रतिशत मात्रै खेती योग्य हुनेछ । यो आयोजना बुढीगण्डकी भन्दा आधा लगानीमै बन्ने अनुमान छ ।

बुढीगण्डकीमा २५ सय ४९ मिलियमन अमेरिकी डलर लगानी गर्दा ३३ सय ८३ गिगावाट आवर बिजुली प्राप्त हुन्छ । तर, तमोरमा १२ सय १७ मिलियन अमेरिकी डलर लगानी गर्दा ३३ सय ५५ गिगावाट आवर विजुली उत्पादन हुन्छ । त्यसैले यो आनयोजना अघि बढाउन ढिलाई गर्न नहुनेमा स्थानीयले जोड दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment