Comments Add Comment

एनआरएनएको लगानी : गफ मात्रै ठूलो !

अध्यक्ष भन्छन्– लगानी धेरै छ, तर तथ्यांक छैन

२७ असोज, काठमाडौं । गैरआवासीय नेपाली संघको (एनआरएनए) को नवौं विश्व सम्मेलन मंगलबारदेखि काठमाडौंमा सुरु हुँदैछ । विश्व सम्मेलनमा सहभागी हुन सोमबार मध्यान्हसम्म १ हजार ५ सयभन्दा बढी मतदाताहरु काठमाडौं ओर्लिसकेका छन् ।

‘म, मेरो, एनआरएनए र मेरो नेपाल’ भन्ने नारासहित हुने सम्मेलनको मूख्य आयोजक नै नेपाल सरकार रहेको छ । परराष्ट्र मन्त्रालयको संयोजकत्वमा नेपाल उद्योग बाणिज्य महासंघ र एनआरएनएको संयुक्त मूल आयोजक समिति बनाइएको छ ।

एनआरएनएको विश्व सम्मेलनलाई सरकारले सँधै बिशेष महत्व दिने गर्छ । यसको प्रमुख कारण हो एनआरएनबाट नेपालमा वैदेशिक लगानी भित्रने लोभ । एनआरएनहरुले यही लोभ देखाएर सरकारलाई सम्मेलन आयोजक मात्र बनाउँदैनन्, सरकारबाट उल्लेख्य बजेट पनि प्राप्त गर्छन् । तर, अहिलेसम्मको आँकडा हेर्दा एनआरएनको संस्थागत लगानी ठोसरुपमा देखिँदैन । भएको लगानी पनि उत्पादनमूलक क्षेत्रमा छैन ।

एनआरएनले कति लगानी भित्र्यायो त ? भन्ने अनलाइनखबरको प्रश्नमा अध्यक्ष भट्ट भन्छन्, ‘एकिन तथ्यांक पाउन त मुश्किल छ ।’

उनले केही वर्ष पहिले पत्रकारहरुकै एक संस्थाले विभिन्न ठाउँमा एनआरएनएले ३२ अर्ब लगानी गरेको देखाए वास्तविक तथ्यांक भन्न नसकिने बताए । यद्यपि, अहिलेसम्म खर्ब हाराहारीमा लगानी पुगिसकेको हुन सक्ने उनको भनाइ छ ।

कहाँ–कहाँ छ एनआरएनएको लगानी ?

गफ ठूलै गरे पनि वास्तविक एनआरएनको लगानी भने खासै ठूलो छैन । औंलामा गन्न सकिने एनआरएनहरुले सेवाका केही क्षेत्रमा लगानी गरेका छन् ।

एनआरएनएका संस्थापक अध्यक्ष डा. महतोको ठूलो लगानी अस्पतालमा छ । उनले अन्तर्राष्ट्रिय मापदण्डको सेवासहित ७५० बेडको मेडिसिटी अस्पताल स्थापना र सञ्चालन गरेका छन् । यसअघि सानिमा बैंकमा लगानी गरेका महताले मेडिसिटी अस्पताल सञ्चालनमा ल्याएपछि भने त्यसमै केन्द्रित भएका छन् । उनले यस हस्पिटलमा ७ अर्ब रुपैयाँभन्दा बढी लगानी गरेको बताइन्छ ।

संघका पूर्वअध्यक्ष शेष घलेको लगानीमा कान्तीपथमा शेराटन होटल निर्माणाधिन छ । उक्त पाँचतारे होटलमा घलेले ८ अर्ब लगानी गर्ने घोषणा गरेका थिए । भूकम्प तथा विविध कारण होटलको लागत बढ्ने अनुमान गरिएको छ ।

संघका अर्का पूर्व अध्यक्ष जीवा लामिछानेको पनि होटल क्षेत्रमा लगानी छ । उनले काठमाडौंमै होटल अकामा सञ्चालन गरिरहेका छन् । उनले यहाँ अर्ब हारहारीमा लगानी गरेका छन् । यो होटलमा संघको आगामी निर्वाचनमा अध्यक्षका उम्मेद्वारी कुमार पन्तको समेत लगानी रहेको बताइन्छ ।

संघका वर्तमान अध्यक्ष भवन भट्टको होटल, वायुसेवा कम्पनी, जलविद्युत्, मदिरा उत्पादन गर्ने कम्पनी तथा सञ्चार माध्यमहरुमा समेत लगानी रहेको छ । उनले शिक्षा क्षेत्रमा समेत लगानी गरेका छन् । कति लगानी छ भन्ने चाहिँ उनी खोल्न चाहदैनन् । निकै समय अघिदेखि काभ्रेको धुलिखेलमा धुलिखेल माउन्टेन रिसोर्टमा उनले लगाी गरेका छन् ।

सन् २०१२ मा एनआरएनएले ‘एनआरएन इन्भेष्टमेन्ट कम्पनी’ दर्ता गरेर लगानी गर्ने योजना बनाएको थियो । जसअनुसार हाइड्रोपावरमा एनआरएनले सामुहिक रुपमा लगानी शुरु गर्‍यो । उपाध्यक्ष कुमार पन्त लमजुङको दोर्दी आयोजनामा एनआरएनले सामुहिक रुपमा गरेको लगानी बताउँछन् ।

एनआरएनले सामुहिक रुपमा लगानी गरेको देखिने एक मात्रै आयोजना २७ मेगावाटको दोर्दी खोला जलविद्युत् आयोजना हो । स्पष्ट रुपमा देखिने सामुहिक लगानी नभए पनि व्यक्तिगतहरुमा भने ठूलो रहेको एनआरएनएको दावी छ । एनआरएनएका प्रवक्ता भुवन घिमिरे भन्छन्, ‘गैरआवासीय नेपालीहरुले व्यक्तिगत रुपमा धेरै लगानी गर्नु भएको छ, तर तथ्यांकमा बोल्न सकिने अवस्था छैन ।’

एनआरएनएका संस्थापक अध्यक्ष उपेन्द्र महतोले अस्पतालमा एनआरएनले ठूलो लगानी गरेको बताए । त्यसबाहेक धेरै एनआरएनएहरुले बैंकहरुमा लगानी गरेको पनि उनको भनाइ छ ।

अध्यक्ष भट्ट एनआरएनमा नेपाली पासपोर्टवाहकहरुलाई गणना नगरिने भएकाले लगानी धेरै नदेखिएको बताउँछन् ।

‘कतिपयले आफ्नो लगानी भन्नै मान्दैनन्, फेरी एनआरएनएहरु नेपाली पासपोर्टबाहक पनि छन्’ उनी भन्छन्, ‘नेपाली पासपोर्ट भएकाहरुलाई नेपाली नै मानिन्छ, तर एनआरएन भनेका उनीहरु पनि हुन् ।’

नेपाली पासपोर्टबाहकले गरेको लगानीलाई बाहिरबाट आएको नमानिने हुँदा पनि तथ्यांक संकलन हुन नसकेको उनको भनाइ छ ।

स्थापना हुन नसकेको कोष

केही महिनाअघि काठमाडौमा भएको लगानी सम्मेलनमा एनआरएनएले नेपालको पूर्वाधार विकासमा १० अर्ब लगानी गर्ने गरी सरकासँग सम्झौता गरेको थियो । विभिन्न देशमा रहेका नेपालीहरुले पुँजी संकलन गरेर कोष बनाउने र उक्त कोषमा जम्मा भएको पूँजी नेपालको पूर्वाधार विकासमा खर्च गर्ने गरी भएको सम्झौता कार्यान्वयनमा आउन सकेको छैन ।

विश्व सम्मेलनको पूर्वसन्ध्यामा आयोजना गरिएको पत्रकार सम्मेलनमा एनआरएनले साना–साना रकम समेत लगानी गर्नका लागि एक ‘फण्ड’ स्थापना गर्ने बताएको थियो । सोमबार आयोजित पत्रकार सम्मेलनमा एनआरएनएका प्रवक्ता भुवन घिमिरेले यस वर्षको विश्व सम्मेलनपछि नयाँ कम्पनी दर्ता गरेर फण्ड स्थापना गरिने बताए ।

उपाध्यक्ष पन्तले नेपाल सरकारको समेत लगानीमा म्युचुअल फण्ड स्थापना गर्ने बताए । यसले विभिन्न देशमा रहेका गैरआवासी नेपालीलाई स–सानो पुँजी समेत लगानी गर्न सहज हुने उनको भनाइ छ ।

फण्ड स्थापना गर्ने योजना नयाँ भने होइन । एनआरएनए स्थापनाकालमै फण्ड स्थापनाको बहस शुरु भएको थियो । संस्थाको संस्थापक अध्यक्षमा डा. उपेन्द्र महतो नेतृत्वको समितिले त्यसबेलै फण्ड स्थापना गर्ने बताएको थियो । तर, उनीपछि धेरैवटा नेतृत्व फेरिइसक्दा पनि फन्ड स्थापना हुन सकेको छैन ।

सन् २०१२ मा एउटा लगानी कम्पनी भने एनआरएनले दर्ता गरेको थियो । त्यो कम्पनीबाट अहिले केहि जलविद्युत् आयोजनाहरुमा लगानी गर्ने काम भइरहेको छ ।

डा. महतो पछि देबमान हिराचन, जीबा लामिछाने, शेष घले हुँदै वर्तमान अध्यक्ष भवन भट्टको पनि कार्यकाल सकिन लागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment