Comments Add Comment

माइक्रोसफ्टलाई पछि पार्दै एप्पल बन्यो सबैभन्दा मूल्यवान कम्पनी

आइफोन निर्माता कम्पनी एप्पल पुनः अमेरिकाको सबैभन्दा मूल्यवान कम्पनी बन्न सफल भएको छ । पछिल्लोपटक बजारमा ल्याइएका आइफोन ११ सिरिजका स्मार्टफोनको लोकप्रियता र बढ्दो मागसँगै एप्पल अमेरिकाको सबैभन्दा मूल्यवान कम्पनी बन्दै माइक्रोसफ्टलाई पछि पारेको हो ।

सबैभन्दा मूल्यवान अमेरिकी कम्पनी बनेको एप्पलको बजार मूल्य १० खर्ब ७ अर्ब डलर पुगेको छ ।

पछिल्लो समय अमेरिका र चीनबीचको व्यापार युद्धबाट प्रभावित भएता पनि एप्पलको सेयर मूल्यले कीर्तिमान कायम गर्दै प्रतिसेयरको मूल्य २३६.२१ डलर पुगेको छ ।

पछिल्लोपटक अमेरिकी र चिनियाँ वार्ताकारहरूबीच भएको वार्ताका क्रममा तनाव घटाउने प्रारम्भिक सहमति भएसँगै एप्पलको सेयर मूल्य बढेको छ ।

स्मरणरहोस् योसँगै अहिले १० खर्ब डलरभन्दा बढी मूल्यका अमेरिकी कम्पनीहरू दुईटा मात्र छन् । मूल्यवान कम्पनीको पहिलो नम्बरमा एप्पल र दोस्रोमा माइक्रोसफ्ट छ ।

अमेजन पनि १० खर्ब डलर मूल्यको नजिक पुगेको छ ।

सन् २०११ यता एप्पल कम्पनीको सेयर मूल्य ५ गुणाले बढिसकेको छ । सीईओ टिम कुकले पछिल्लो समयमा बजेट स्मार्टफोनको खोजी गर्ने प्रयोगकर्तालाई समेत समेट्ने रणनीति लिएसँगै एप्पलले आइफोन ११ सिरिज बजारमा ल्याएको थियो । आइफोन ११ भारत तथा चीनजस्ता धेरै मोबाइल प्रयोगकर्ता भएका देशहरुमा निकै नै लोकप्रिय बनिरहेको छ ।

आइफोन ११ को अत्यधिक लोकप्रियतासँगै एप्पलले यसको उत्पादनसमेत बढाउने घोषणा गरिसकेको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment