Comments Add Comment

पर्यटनमा अगुवा गण्डकी प्रदेश

गण्डकी प्रदेश प्राकृतिक, सांस्कृतिक तथा सहासिक पर्यटनका हिसाबले अत्यन्त महत्वपूर्ण प्रदेश हो । मौलिक कला,संस्कति, प्राकृतिक एवम् ऐतिहासिक सम्पदा र भौगोलिक तथा जैविक विविधताले यस प्रदेशका अमूल्य निधि हुन् । पर्यटकीय दृष्टिकोणले अत्यन्त सुन्दर यहाँका अमूल्य कला, संस्कृति र प्राकृतिक, ऐतिहासिक सम्पदा र प्रचूरताका हिसाबले गण्डकी प्रदेश अग्रस्थानमा छ ।

जैविक, सामाजिक, सांस्कृतिक, साहसिक, ऐतिहासिक र धार्मिक विविधताले यस प्रदेशको पर्यटनमा अहम् भुमिका खेलेका छन् । नेपाललाई सन् १९४९ पश्चात् बाह्य पर्यटनका लागि खुल्ला गरिएको हो । फ्रेन्च नागरिक मौरिस हर्जगले १९५० को जुन ३ मा पहिलो पटक अन्नपूर्ण हिमाल आरोहण गरी सुरुवात गरेको गण्डकीको पर्यटन क्षेत्र बर्तमान अवस्थामा गण्डकी प्रदेशको अर्थतन्त्रको प्रमुख आधारशिला बन्न पुगेको छ ।

गण्डकी प्रदेशका पर्यटकीय गन्तव्यहरुको विविधिकरण गर्दै नयाँ पर्यटकीय स्थल र उपजहरुको पहिचान, विकास तथा पर्यटकीय पूर्वाधारहरुको विकास गरी पर्यटन प्रवद्र्धनको माध्यमबाट रोजगारीका अवसर वृद्धि गरी गरिबी न्यूनिकरण गर्दै जनताको जीवनस्तर सुधार गर्नु आजको आवश्यकता हो ।

पछिल्लो तथ्याङले नेपाल आउने पर्यटकको ४५ प्रतिशत पर्यटक गण्डकी प्रदेश आउने गरेको देखाउछ् । बार्षिक रुपमा आन्तरिक र बाह्य पर्यटक गरी १० लाख भित्रिने यस प्रदेशमा बाह्य पर्यटकले ५४ डलर र आन्तरिकले ५ हजार रुपैयाँ खर्च गर्ने गरेको देखिन्छ । गण्डकी प्रदेशमा पर्यटनबाट कुल रोजगारीको १५ प्रतिशत मानिसहरुले रोजगार पाएको देखिन्छ ।

पर्यापर्यटन, ग्रामीण पर्यटन, धार्मिक तथा सांस्कृतिक पर्यटन, सहासिक पर्यटनजस्ता पर्यटकीय गतिविधिहरुको उल्लेखनीय सम्भावना बोकेका कारणले नै गण्डकी प्रदेश पर्यटनका हिसाबले अगाडि देखिएको पाइन्छ ।

गण्डकी प्रदेशमा मुत्तिनाथ, मनकामना, दामोदरकुण्ड, गलेश्वर, विन्दावासिनी, ढोरवराह, केलादीघाट, त्रिवेणी, देवघाट, सेतीवेणी लगायतका धार्मिक पर्यटकीय गन्तव्य पर्दछन् भने ढोरपाटन शिकार आरक्ष, अन्नपूर्ण, तथा मनास्लु संरक्षण क्षेत्र, धौलागिरी, अन्नपूर्ण तथा मनास्लु हिमश्रृखंला र सो अन्तर्गत रहेका महत्वपूर्ण हिमालले यो प्रदेशको पर्यटकीय आयाम थपेको छ ।

संसारकै अग्लो ताल तिलिचो, रामसारमा सुचीकृत पोखराका ९ तालहरु, संसारकै सबै भन्दा गहिरो गल्छी, शालिग्राम पाइने कालिगण्डकी नदी तथा अन्धगल्छी, रुप्से झरना, विभिन्न गुफाहरु, ग्रामीण बस्ती, होमस्टेहरु, विश्व प्रसिद्ध अन्नपूर्ण पदमार्गका साथै मौलिक संस्कृतिहरु यहाँका प्रमुख पर्यटकीय गन्तव्य स्थल बनेका छन् ।

पर्यटनको प्रचुर सम्भावनालाई दृष्टिगत गर्दै गण्डकी प्रदेश सरकारले सन् २०१९ लाई आन्तरिक पर्यटन भ्रमण बर्ष, २०२० लाई छिमेकी देश भ्रमण बर्ष, २०२१ लाई पर्यटन पूर्वाधार बर्ष र २०२२ लाई गण्डकी प्रदेश अन्तराष्ट्रिय भ्रमण बर्षको रुपमा मनाउने घोषणा गरेको छ ।

उक्त पर्यटन वर्षलाई भव्यताकासाथ सफल पार्न निजी क्षेत्रको सक्रिय सहभागितामा विश्व पर्यटन दिवसको अवसर पारेर गण्डकी प्रदेश सरकार विश्व पर्यटन संघले तयार पारेका ‘नारा पर्यटन र रोजगारी : भविष्यमा सवैलाई लाभकारी’ को नाराका साथ “गण्डकी प्रदेश पर्यटन प्रवद्र्धन अभियान २०१९” लिएर असोज ९ गतेदेखि १६ गतेसम्म देशका प्रमुख शहरहरु पाल्पा, बुटवल, भरतपुर, हेटौँडा, वीरगञ्ज, बिराटनगर, जनकपुर, काठमाण्डौँ लगायतका शहरमा पुग्यो । सो अवसरमा राष्ट्रिपति, नेपाल सरकारका मन्त्री, सम्बन्धित प्रदेशका मुख्यमन्त्री, मन्त्री लगायतलाई गण्डकी प्रदेश घुम्न आउन गण्डकी प्रदेशका पर्यटन मन्त्री विकास लम्सालले निमन्त्रणा पत्रसमेत प्रदान गरे ।

यस अभियानबाट आन्तरिक भ्रमण वर्ष २०१९, प्रमुख शहरहरुमा गण्डकी प्रदेशका बारेमा प्रचार प्रसार, पर्यटकीय आर्कषणहरुको बारेमा आन्तरिक पर्यटकहरुलाई बुझाउने र नेपालका प्रमुख शहरहरुका पर्यटन व्यवसायीहरु बीचमा व्यवसायिक सम्बन्ध स्थापित गर्ने र “प्रादेशिक सरकारका साथै निजी क्षेत्रका व्यापारिक प्रतिष्ठानहरुसँग व्यापारिक वार्तालाभ, अनुभव आदान प्रदान तथा अन्य व्यावसायिक कार्यक्रमहरु आयोजना गर्‍यो ।

यसका अतिरिक्त गण्डकी प्रदेश सरकार बाट स्थानीय पत्रकारसँग भेटघाट कार्यक्रम गर्ने र प्रदेशभित्रका फोटो प्रर्दशनी गर्ने, सांस्कृतिक कार्यक्रम गीत र नाच प्रस्तुत गर्ने तथा पत्रकार सम्मेलन गर्ने कार्यक्रम पनि भयो । यो सेल्स मिसन कार्यक्रमले आन्तरिक पर्यटन प्रबर्द्धनको लागि गण्डकीमा भएका चीजहरुको सुरुमा आन्तरिक रुपमा नै प्रचार प्रसार गर्‍यो । राष्ट्रिय, अन्तराष्ट्रिय स्तरमा निकै चर्चा कमायो सबैलाई गण्डकी प्रदेश जाउँ जाउँ जगायो । धेरै मानिसहरु गण्डकी प्रदेश एकपटक घुम्नैपर्ने भनी पहिलो सुचीमा पोखरालाई राख्न लालायित भए ।

आन्तरिक पर्यटन वष २०१९ मनाईरहेको गण्डकी प्रदेश सरकारले यस बर्ष आधारशिला तय गर्ने र २०२२ भित्रमा २० लाख पर्यटक भित्र्याउने महत्वाकांक्षी लक्ष्य समेत लिएको छ । सोअनुरुप पर्यटन समिति गठनदेखि पर्यटकीय क्षेत्रहरुको सूची प्रकाशन, हरेक जिल्ला र स्थानीय तहमा पर्यटन समिति गठन भइसकेका छन् ।

प्रदेशभित्रको तयारी पूरा गरिसकेपछि प्रदेश सरकारले प्रचारप्रसारको कामलाई तीव्र रुपमा अगाडि बढाएको छ भने आवश्यक पूर्वाधारको व्यवस्था मिलाउन लागिपरेको छ । प्रदेश सरकारले पर्यटनबाटै  समृद्धि प्राप्त गर्ने निष्कर्षका साथ पर्यटनलाई समृद्धिको पहिलो आधार मानेको छ ।

नेपालीहरुको महान् चाड दसैं र तिहारको लामो विदाको प्रारम्भिक अवस्था भएकोले यो समय पर्यटन प्रवद्र्धनको दृष्टिकोणले उपयुक्त रहने भन्दै सेल्स मिसन थालेको सरकारले पर्यटनको सिजन शुरु हुदाँ नहुँदै गण्डकी प्रदेशमा लाखौँ पर्यटक भित्र्याउन सफल समेत भएको छ । गण्डकी प्रदेशसहित ५ प्रदेशमा आयोजना गरिएको गण्डकी प्रदेश पर्यटन प्रवद्र्धन अभियानको प्रभाव राम्रै परेको मान्न सकिन्छ । अहिले पोखरामा पर्यटकको खचाखच छ भने होटल रेष्टुरेण्ट पर्यटकले भरिभराउ छ । गण्डकी प्रदेशका अन्य पर्यटकीय स्थलहरुमा समेत पर्यटकको भिडनै लागेको छ ।

उत्तरतर्फ टलक्क टल्कने हिमाल, फेवातालमा डुबुल्की मारेको माछापुच्छ्रे सुन्दर शहर पोखरामा मात्र नभई गण्डकी प्रदेशका तालतलैया, मठमन्दिर, स्मार्ट भिलेज लगायतका स्थानहरुमा यतिखेर आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल देखिएको छ ।

दशैँ तिहारको बीचमा विभिन्न स्कूल तथा क्याम्पसमा बिदा भएका कारण पनि देशका विभिन्न भागबाट आउने पर्यटकले यहाँको पर्यटन चलायमान बनाएको छ । दशैँ बिदा शुरु भएलगत्तै विभिन्न भागबाट पोखरा आउने पर्यटकका कारण यहाँका पर्यटन व्यवसायीलाई यो यामको उपयोग गर्न भ्याई नभ्याई बनाएको छ ।

विगतका वर्षको तुलनामा यस याममा विदेशी पर्यटकको पनि राम्रै चाप देखिएको छ । बिदेशी पर्यटकहरुसमेत गण्डकी प्रदेश भ्रमण गर्न रुचि देखाउने गरेका छन् ।

अन्नपूर्ण चक्रीय पदमार्ग, धौलागिरि चक्रीय पदमार्ग र मर्दी हिमाल ट्रेक जाने पर्यटहरुको सख्यामा समेत वृद्धि भएको छ ।

सेप्टेम्बरको मध्यदेखि अक्टोबर, नोभेम्बरसम्म पर्यटकीय सिजन मानिन्छ । दशैँ तिहारको समयमा धार्मिकरुपमा आउने भारतीय पर्यटकका कारण पनि यहाँको पर्यटन चलायमान हुने गरेको छ । अघिल्लो वर्ष भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मुक्तिनाथको दर्शन भ्रमण गरेपछि भारतका विभिन्न स्थानबाट मुक्तिनाथ पुग्ने पर्यटकको संख्या समेत ह्वात्तै बढेको छ । चिनियाँ राष्ट्रपति सि जिनपिङको नेपाल भ्रमणले पनि चिनियाँ पर्यटक नेपालमा खनिने अपेक्षा गरिएको छ ।

पछिल्लो समय नेपालीमा घुमफिर संस्कृति बढ्दै गएको पाइन्छ । यसरी आन्तरिक तथा बाह्य पर्यटक गण्डकी प्रदेशमा खचाखच हुदै गए गण्डकी प्रदेश सरकारले लिएको २०२२ मा गण्डकी घुम्ने पर्यटक २० लाख पुर्‍याउने लक्ष्य पूरा हुने कुरामा कुनै शंका छैन ।

बिदेशी पर्यटकको तथ्याङ संकलन गर्दै आएको प्रदेश सरकारले ०७५ साल साउन यता करिब ४ लाख बिदेशी पर्यटक भित्र्याउन सफल भएको छ । गण्डकी प्रदेशका विभिन्न पर्यटकीय स्थलहरु घुम्ने आन्तरिक पर्यटक त दिनानुदिन बढिरहेकै छन् । अब यही अवसरलाई छोप्न गण्डकी प्रदेश सरकारले पर्यटकीय पूर्वाधार निर्माणदेखि एक पर्यटकीय स्थलदेखि अर्को पर्यटकीय स्थल जोड्ने सडकलाई व्यवस्थित गर्न ढिला गर्नुहुँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment