Comments Add Comment

एयरपोर्टदेखि हायातसम्म एनआरएनले देखाएको तमासा

नेपालीलाई सभ्यता सिकाउने एनआरएन आफैं कति सभ्य ?

३० असोज, काठमाडौं । विदेशमा बस्ने नेपालीहरुले त्यहाँको उदाहरण दिँदै नेपालभित्रको बेथिति र अनुशासनहीनताबारे सामाजिक सञ्जालमा गुनासो र आक्रोश व्यक्त गरिरहन्छन् । तर, उनीहरु आफैंले चाहिँ विदेशमा बसेर के सिके त ? यसपालिको गैरआवासीय नेपाली स‌ंघ (एनआरएन)को नवौं विश्व सम्मेलनका क्रममा आएका प्रतिनिधिहरुले देखाएको तमासा हेर्दा लाजमर्दो स्थिति देखिएको छ ।

तीन दिनदेखि काठमाडौंको हायात होटलमा एनआरएन सम्मेलन चलिरहेको छ । निर्धारित कार्यक्रम अनुसार बुधबार नै एनआरएनले नयाँ नेतृत्व पाइसक्नु पर्ने थियो ।तर, प्राविधिक गडबडी र आन्तरिक विवादले अहिलेसम्म मतदान नै हुन सकेको छैन । करिब २ हजार प्रतिनिधिहरुको बसाई लम्बिएको छ ।

यसपालि एनआरएनहरुको तमासा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै सुरु भयो । नेपाली भूमिमा पाइला टेकेदेखि बालुवाटार हुँदै हायात होटल चावहिलसम्म उनीहरुले जात्रा देखाइरहेका छन् ।

घटना १

सम्मेलनमा सहभागी हुन अष्ट्रेलियाबाट नेपाल आएका प्रतिनिधि रमेश थापाले विमानस्थलमा बितन्डा गरेका थिए । उनलाई सहयोग गर्ने अर्की एनआरएन थिइन् उषाकिरण वरिया ।

उनीहरुसहित पाँच जना अष्ट्रेलियाबाट एकसाथ नेपाल आएका थिए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कक्षमा पूरा गर्नुपर्ने प्रक्रियाका लागि उनीहरु लाइनमा बसेका थिए । अष्ट्रेलियाको नागरिक बनिसकेका उनीहरु नेपालको भिसा लिएर आएको र एनआरएनको कुनै परिचयपत्र नभएकाले विदेशीहरुसँगै लाइनमा उभिनुपरेको थियो । तर, लामो लाइनमा बस्नु परेको भन्दै उनीहरुले विमानस्थलभित्रै वितण्डा मच्चाए ।

विमानस्थलको सिस्टम राम्रो नभएको र दुःख पाइएको भन्दै थापाले कर्मचारीसँग झगडा गरेका थिए । डेस्कको सीसा समेत उनले फुटाएपछि अध्ययागमनले नियन्त्रणमा लिएको थियो । थापासँगै रहेकी उषाकिरण भने त्यहाँबाट बाहिरिन सफल भइन् ।

यद्यपि, दुबैजनालाई अध्यागमनले कारबाही गरिसकेको छ । तोडफोडमा उत्रिएका थापालाई ५० हजार रुपैयाँ धरौटी लिएर छाडिएको छ भने उषाकिरणलाई २५ हजार रुपैयाँ जरिवाना तोकिएको छ ।

रिहाइ गर्न एनआरएन नेताको दबाबका बीच उनीविरुद्ध विभागले अध्यागमन ऐन, २०४९ र नियमावली, २०५१ बमोजिम कारबाही गरेको हो । विभागका महानिर्देशक ईश्वरराज पौडेलेले थापालाई जरिवाना तिराइएको जानकारी दिएका छन् ।

घटना २

एनआरएनको ‘नेपाली पारा’ सचिवालयको भवनमा आयोजित पत्रकार सम्मेलनमा पनि देखियो । यो पत्रकार सम्मेलन अति अव्यवस्थित र भद्रगोल थियो । साथै कार्यालय परिसरको वातावरण पनि अस्तव्यस्त थियो ।

पत्रकार सम्मेलनमा अध्ययक्षसहितका बहुमत पदाधिकारी अनुपस्थित थिए । पत्रकारको कुर्सी एनआरएन प्रतिनिधिहरुले ओगटेका थिए । प्रश्न पनि उनीहरुले नै धेरै सोधे । पत्रकारहरुको अगाडि आफ्नै नेतृत्वको आलोचना गरे ।

पत्रकार सम्मेलन सकिएपछि अध्यक्ष भवन भट्ट टृुप्लुक्क आइपुगे । आफूलाई नराखी किन पत्रकार सम्मेलन गरेको भन्दै रिसाए । अनि पुनः पत्रकार सम्मेलन दोहोर्‍याए । तर, उनको पत्रकार सम्मेलनमा ४–५ जना पत्रकार मात्र थिए ।

घटना ३

मंगलबार विश्व सम्मेलनको उद्घाटन कार्यक्रममा पनि खराब व्यवस्थापनको नमूना देखियो । मिडिया व्यवस्थापनमा बेवास्ता गरेका कारण रिपोर्टिङका लागि पुगेका धेरै पत्रकारहरु सम्मेलनमा स्थलमा प्रवेश गर्न पाएनन् । सम्मेलन उद्घाटन सत्र चल्दै गर्दा उम्मेदवारहरु भने भोट माग्नमै व्यस्त थिए ।

उद्घाटन सत्र सकिएपछि अर्थमन्त्रीको सभापतित्वमा एउटा प्यानल डिस्कसन थियो । त्यहाँ वक्ताको रुपमा एनआरएन उपाध्यक्ष कुमार पन्तसमेत थिए । उनको बोल्ने पालो आएपछि कार्यक्रम सञ्चालनको जिम्मा पाएका प्रतीक प्रधानले पन्तलाई बोलाए । तर उनी त्यसबेला आसन छाडेर भोट माग्न दौडिसकेका थिए ।

अझ लफडा त सम्मेलनको दोस्रो दिन बुधबार देखियो । सम्मेलनस्थल हायात होटलमा दुई पक्षका प्रतिनिधिहरुले हुलदंगा मच्चाउन खोजे । नाराजुलुस गरे । केहीले कुर्सी भाच्नसमेत भ्याए ।

अपरान्ह ५ बजेका लागि मतदान प्रक्रिया हुने कार्यतालिका निर्वाचन समितिले दिउँसै सार्वजनिक गरेको थियो । सम्मेलनमा आय–व्ययको विषयमा बिवादहरु भए । त्यो विवाद सेलाउन नपाउँदै एउटा पक्षले नक्कली प्रतिनिधिहरु आएको भन्दै होहल्ला गर्‍यो ।

त्यसपछि अझै अस्तव्यस्त बन्यो होटल हायात । विवाद मिल्न लामै समय लाग्यो । ५ बजे भनिएको मतदान ८ बजे पनि शुरु हुन सकेन । मतदान शुरु गर्न ढिलाई भएको भन्दै फेरी अर्को पक्षले नारावाजी शुरु गर्यो ।

तनाव बढेपछि प्रहरीले सुरक्षा व्यवस्था बढायो । टाउकोमा हेलमेट लगाएर हातमा ढाल र लौरो बोकेका प्रहरी थपिए । प्रहरीको सुरक्षा हेर्दा ठूलै आन्दोलन चर्किन लागेको अनुभुति हुन्थ्यो । लफडै लफडाकाबीच करिब १० बजे मतदान शुरु भयो तर एक सय मत पनि खस्न नपाउदै राति ११ बजेतिर स्थगन भयो । त्यसपछि पनि एउटा सानो समूह नारा लगाउदै हायात होटलबाट बाहिरिए ।

बुधबार स्थगन भएको मतदान बिहीबार विहान १० बजेदेखि हुने बताइएको थियो । बिहीबार सुरक्षाकर्मीको बाक्लो उपस्थितिमा सुरक्षा कडा बनाइएको छ । बिहानै हो–हल्ला र तोडफोड गरे प्रहरीले तत्काल नियन्त्रणमा लिने भन्दै सचिवालयका कर्मचारीहरुले प्रतिनिधिहरुलाई जानकारी गराएका थिए । यसपछि भने बिहीबार केही शान्त देखियो । तर, यो समाचार लेख्दासम्म मतदान सुरु हुन सकेको छैन ।

नसुध्रिएको ‘नेपाली पारा’

एनआरएनले विमान स्थलदेखि नै हो–हल्ला मच्चाएपछि यति सर्वत्र आलोचना भएको छ । जंगली प्रवृति देखाएको भन्दै एनआरएनविरुद्ध सामाजिक सञ्जालमा समेत चर्को आलोचना गर्न थालिएको छ ।

एनआरएनएका महासचिव बद्री केसीले एनआरएनको पुरानो बानी सुधार अझै नभएको बताए ।

‘विदेशमा जति वर्ष वसे पनि नेपालीहरुको बानी व्यहोरा उस्तै देखियो,’ उनले भने ।

सम्मेलन स्थलमा हुलदंगा भइरहदा पनि केही एनआरएनहरु आफूहरुको बद्नाम भएको भन्दै दुखेसो गरिरहेका थिए ।

‘केही व्यक्ति र प्रवृतिका कारण सबैको बदनामी हुने खतरा छ,’ अष्ट्रेलियाबाट आएका भीम ढकालले भने, ‘हिजो नेपालमा हुँदा जस्तो थियो, त्यो बानी अझै गएको छैन, यो राम्रो होइन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment