Comments Add Comment

सीले तिमीहरु अराजक छौ भने झैं महसुस गरें : प्रचण्ड

३० असोज, काठमाडौं । नेपाल भ्रमणमा आएका चिनियाँ राष्ट्रपति सी चिनफिङले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरुलाई भेटेर भने, ‘शासन सञ्चालन गर्न कम्युनिस्ट पार्टीले पहिले आफूभित्र नै स्वच्छता र सुशासनमा ध्यान दिनुपर्छ । यो हाम्रो अनुभव हो ।’

सीले अझैं प्रष्ट्याउँदै भनेका थिए– पार्टीमा छलफल गरेर निर्णय भएपछि नौ करोड पार्टी सदस्यले कार्यान्वयन गर्ने वातावरण बनाएका छौं । अनि, सिंगै पार्टी जनताको सेवामा खटिएको छ । यदि प्रत्येक पार्टी सदस्य जनताको सेवामा खट्ने वातावरण बनाउन नसकेको भए एक अर्ब ६० करोड जनतालाई खुसी, सन्तुष्ट बनाएर राख्न सम्भव थियो त ?

राष्ट्रपति सीले यसो भनिरहँदा आफूलाई ‘नेकपाका नेता कार्यकर्तालाई तिमीहरु स्वार्थी छौं, अराजक छौं’ भने झै लागेको नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् । बिहीबार चितवनमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा प्रचण्डले चिनियाँ राष्ट्रपतिसँग भएको कुुराकानी सुनाएका हुन् ।

चिनियाँ नेताहरुले आफ्नो उदाहरण भन्दै गर्दा आफूलाई चाहिँ आलोचना गरेको जस्तो महसुस भएको भन्दै प्रचण्डले भने, ‘मैले त्यहाँ केही भनिनँ, भन्नु कुरा पनि भएन । तर हाम्रो त ८/९ लाख पार्टी सदस्यलाई नियन्त्रण गर्न नसकेर जसलाई जे मन लाग्यो त्यही गर्ने, जसलाई जे मन लाग्यो त्यही भन्ने भइराखेको छ । ३ करोड जनतालाई पनि खुसी पार्न सकेका छैनौं । उहाँ (राष्ट्रपति सी)ले हामीलाई तिमीहरु अराजक छौं भनेको हो कि जस्तो लाग्यो ।

यो पनि पढ्नुहोस नेकपालाई सीका पाँच सन्देश

यद्यपि चिनियाँ राष्ट्रपतिले चीनमा आफूहरुले कसरी काम गरेको छ भन्ने मात्र सुनााएको प्रचण्डले बताए । राम्रो भएको छ, पार्टी एकता गरेर ठूलो काम गर्नुभयो । तपाईंहरु ठूलो राजनेता हो भनेर आफूहरुको प्रशंसा गरेको उनले सुनाए ।

प्रचण्ड भन्छन्, ‘तर उहाँले आफ्नोबारे कुरा गर्दै गर्दा नेकपा सदस्यहरुको आलोचना गरेको हो कि जस्तो । नेकपाका नेता कार्यकर्तालाई तिमीहरु स्वार्थी छौं, अराजक छौं, तिमीहरु आफ्नो गुटको अनुशासन मान्छौ, पार्टी अनुशासन मान्दैनौं । पार्टीले निर्णय एउटा गर्छ, व्यवहार अर्कै गर्छौं । भनेको जस्तो ।’

नेकपामा समस्या भए पनि त्यो क्यान्सर नभइ ग्यास्टिक जस्तो भएकाले त्यसको उपचार सम्भव रहेको प्रचण्डले बताए । ‘बिग्रेर काम नलाग्ने भइसकेको होइन । धुलोमैलो लागेको छ’ भन्दै उनले आफ्नो समीक्षा गर्न आग्रह गरे ।

‘पञ्चायतकालमा भूमिगत भएर संघर्ष गर्दा कस्तो थिएँ, ०४६ पछि कस्तो भएँ । जनयुद्ध र जनआन्दोलनको बेला कस्तो थिएँ, गणतन्त्र आएपछि र नेकपा देशकै ठूलो पार्टी भएपछि कस्तो भएँ र के सोच्न थालेको छु भनेर हेर्‍यो भने पुग्छ’ उनले भने ।

आफूहरु राजनीतिक जीवनको उत्तरार्धतिर आइपुगेको भन्दै प्रचण्डले नेकपालाई कम्युनिस्ट पार्टी जस्तो बनाउन एक पटक आन्दोलन गर्ने इच्छा रहेको बताए ।

यो पनि पढ्नुहोस चितवनलाई अराजकताको केन्द्र बनाउन खोजियो : प्रचण्ड

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment