Comments Add Comment
माछापुच्छ्रे काखमा नमूना कृषि :

३४ लाखको तरकारी किन्ने गाउँ यसरी हुँदैछ आत्मनिर्भर

Photo Credit : नर्सरीमा ब्याड जमाउँदै किसान समूह

१ कार्तिक, पोखरा । माछापुच्छ्रे हिमालको काखमा रहेको वडा नम्बर ९ मा प्रत्येक दिन पर्यटक पुग्छन् । माछापुच्छ्रे गाउँपालिकाको यो वडा पुग्ने गाडीमा गाउँ आउजाउ गर्ने स्थानीयसँगै पर्यटकमात्रै पुग्दैनन्, उनका लागि सहरदेखि तरकारी पनि पुग्छ । सहरबाटै गएको साग, गेडागुडी, आलु, प्याज, काउली लगायतका तरकारी स्थानीयका भान्छामा पाक्छन् ।

गाउँकै अर्कानिक उब्जनीको ठाउँ सहरको तरकारीले लियो । माछापुच्छ्रे गाउँपालिकाको वडा नम्बर ९ मा ३ सय ३६ परिवार छन् । यो वडाका १ हजार ९ सय २० जना परिवारका सदस्यमध्ये १ हजार ३ सयभन्दा बढी गाउँमै बस्छन् । यहाँ ५४ वटा होटल छन् । ७ सामुदायिक र १० व्यक्तिगत होस्टे सञ्चालनमा छन् । सबैमा मान्छेसँगै सहरदेखि तरकारी पनि पुग्छ । यो गाउँ सरकारका निम्ति चिन्ताको विषय थियो ।

सुरमा वडाले गाउँमा कति मूल्य बराबरको तरकारी सहरबाट आइरहेको छ भन्ने अध्ययन गर्‍यो । एउटा वडामा प्रतिमहिना २ लाख ८७ हजार र प्रतिवर्ष ३४ लाख ४९ हजार रुपैयाँको तरकारी सहरदेखि भित्रिरहेको अध्ययनबाट पत्ता लाग्यो । साग किन्दामात्रै २ लाख १० हजार रुपैयाँ गाउँबाट बाहिरिएको छ । ‘सर्भेक्षणले वडालाई झस्कायो । गाउँमै उत्पादन हुन सक्ने सागसब्जीको हिस्सा सहरबाट आएको तरकारीले ओगटेछ,’ माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ९ का अध्यक्ष दुर्गा क्षेत्रीले भन्छन्, ‘पर्यटक पुगेपछि गाउँमा आर्थिक गतिविधि त बढ्यो तर, तरकारी किन्न सहरकै भर पर्नुपर्ने स्थिति आउनु दुःखदायी हो ।’

वडाले यसो हुनुको कारण पनि खोज्यो । ‘एक त हामीले तरकारीको सन्तुलित प्रयोग गरेका रहेनछौं । अर्को उत्पादन बढाउन र अर्गानिक खेतीमा हामीले जोड नै गरेका रहेनछौं,’ क्षेत्रीले भने, । त्यसपछि वडाले अर्गानिक उत्पादनमा जोड दने सोच बनायो ।

त्यसका लागि वडाको अवस्था कहाँनेर छ ? कति जमिनमा कुन कुन खेती हुनसक्छ ? र, अहिले के भइरहेको छ भन्ने खोजी भयो । अध्ययनबाट खेती योग्य जमिन, घाँसे मैदान, वन क्षेत्र, हिम क्षेत्र, पानीको स्रोत सबै खुल्यो । र, सबैलाई पुग्ने, मौसम र माटोअनुसारको तरकारी उत्पादन गर्ने नयाँ परियोजना ल्याउनुपर्छ भन्ने तय गर्‍यो ।

गाउँलाई यो अवस्थाबाट मुक्ति दिलाउन वडाले के योजना ल्यायो त ? वडाध्यक्ष क्षेत्रीले भने, ‘यस्तो परियोजना प्रत्येक परिवारको आफ्नै करेसाबारी हुन्छ, जहाँ सिजन र माटोअनुसारका तरकारी फल्छन् । बिउदेखि नर्सरी र करेसाबारी बनाउनै पर्ने नीति वडाले लियो ।’

वडाले एक परिवार एक करेसाबारी परियोजनालाई अहिले कार्यान्वयनमा ल्याएको छ । अर्गानिक उत्पादन, सन्तुलित प्रयोगको तरिका सिकाउँदै २ वर्षभित्रमा बाहिरबाट भित्रने तरकारीलाई प्रतिस्थापन गर्ने गरी परियोजना अगाडि बढेको छ । यतिबेला माछापुच्छ्रेको वडा नम्बर ९ का गाउँलेहरु घरघरमा करेसाबारी बनाउन, बिउ जमाउन, तरकारीका बेर्ना सार्न जुटेका छन् । ‘टुसा, निहुरो हुँदा त्यहीमात्रै, साग, काउली हुँदा पनि त्यहीमात्रै खायौं । सधैंभरि उब्जनी गर्ने र उब्जिएका उपजको सन्तुलित प्रयोग गर्न हामीले जानेनौं,’ वडाध्यक्ष क्षेत्रीले भने, ‘परियोजनाले त्यो कुरा पनि सिकाउँछ । अर्गानिक उत्पादनमा जोड दिन्छ ।’ पहिले सबै वडावासीलाई तरकारीमा आत्मनिर्भर बनाउने र बजार पठाउने गरी उत्पादन बढेपछि बजारको व्यवस्था गर्ने गरी वडाले नै संयन्त्र बनाउने अध्यक्ष क्षेत्रीले जानकारी दिए ।

एक वर्षमै उपलब्धी हात पर्ने गरी यो परियोजनाका निम्ति वडाले झण्डै ५० लाख रुपैयाँ बजेट छुट्याएको छ ।

१४ समूहमा नर्सरी, करेसाबारीको काम डायरीमा

वडाले एक घर एक करेसाबारी परियोजना ल्याएपछि गाउँलेहरु पनि उत्साहित भए । यसबारे छलफल गर्न टोल टोलमा भेला आयोजना भयो । भेलाबाटै वडाभरिका सबै परिवार समेटिने गरी १४ वटा समूह गठन गरिएको छ । प्रत्येक समूहमा २० देखि २५ जना आवद्ध छन् । समूहहरुको व्यवस्थापन गर्न ११ सदस्यीय अर्को समिति गठन भएको छ ।

घर घरमा करेसाबारी बनाउन समूह गठन गर्न भेला भएका स्थानीय

प्रत्येक समूहले १४ वटै सामूहिक नर्सरीको विकास गरेका छन् । वडाले बिउ, प्राविधिक उपलब्ध गराएको छ । समूहको प्रत्येक महिना बैठक बसेर काम समीक्षा गर्ने प्रवन्ध मिलाइएको छ ।

नर्सरीको ब्याड बनाउनेदेखि तरकारीबाट बेर्ना सार्ने तरिका र प्रत्येक दिनको कामलाई कसरी व्यवस्थित गर्ने भनेर प्राविधिकले विभिन्न चरणमा किसानलाई तालिम दिइसकेका छन् । प्रत्येक परिवारका लागि एउटा बाली पात्रो, कृषक डायरी र तरकारी खेती सम्बन्धी जानकारीसहितको पुस्तक प्रकाशन गरेर वडाले उपलब्ध गराएको छ । बाली पात्रोमा कुन समयमा कुन खेती लगाउने, प्रतिरोपनी कति लगाउने, माटोअनुसार कुन जातको तरकारी छनोट गर्ने लगायतका कुरा समावेस छ ।

डायरीमा प्रत्येक दिन गरिएका कामलाई किसानले उल्लेख गर्ने छन् । ब्याड निर्माणदेखि, बिरुवा रोज्ने र उत्पादनसम्मका कुरालाई किसानले डायरीमा उल्लेख गर्ने छन् । तरकारी उत्पादन भइसकेपति बिक्री गरिएको कि आफैंले प्रयोग गरेकोसम्म डायरीमा उल्लेख गर्नुपर्ने वडाले व्यवस्था गरेको छ । वडाले त्यही डायरीलाई परिचयपत्रकै रुपमा मान्यता दिने छ । वडामा सेवा सुविधा लिन, परियोजनाको थप अनुदान प्राप्त गर्न त्यही डायरीलाई आधार बनाउने नीति वडाले लिएको छ ।

तरकारी खेतीसम्बन्धी सबै जानकारी समावेस गरिएको किताब प्रत्येक किसानसँग हुन्छ । खेती प्रविधि, रोग किरा नियन्त्रण र बजारसम्मको कुरा किसानमा समावेश गरिएको छ ।

सबै परिवार समेटेर सहकारी

नर्सरी र करेसाबारी बनाएका प्रत्येक परिवार समेटेर एउटा सहकारी गठनको प्रक्रिया अगाडि बढिसकेको छ । सहकारीमार्फत किसानले व्यावसायिक तरकारी खेतीदेखि बजारीकरण र बचतसम्मको काम गर्ने कृषि प्राविधिक रवीन्द्र मिश्रले जानकारी दिए ।

सहकारीले आर्थिक कारोबारदेखि, तालिम, अनुगमन, समूह परिचालन, माटो परिक्षण, अनुसन्धान गरी एक घर एक करेसाबारी परियोजनालाई सघाउने छ । दीर्घकालीन रुपमा सहकारीले उत्पादित उपजको खरिद र बजार व्यवस्थापनको काम गर्ने गरी प्रक्रिया अगाडि बढिसकेको छ । सानो क्षेत्रबाट आत्निर्भर हुने गरी उत्पादनको अभ्यास गर्ने र दीर्घकालीन रुपमा व्यावसायिक खेती गर्ने लक्ष्यसहित परियोजना कार्यान्वयनको सुरुआत भएको हो ।

अरुले पनि सिकून्

एक घर, एक करेसाबारी निर्माण गर्दै तरकारी खरिद खर्च घटाउने र आत्मनिर्भर बनाउँदै व्यावसायिक खेतीमा प्रोत्साहन गर्ने योजना लिएर वडाध्यक्ष क्षेत्री माछापुच्छ्रे गाउँपालिकाको बैठकमा पुगे । उनले त्यहाँ विभिन्न प्रश्न र शंकाको समाना गर्नुपर्‍यो ।

वडाध्यक्ष क्षेत्री आफैंले किसानलाई उत्पादनसँग जोड्ने यो योजनालाई वडामार्फत ल्याए । सानो लगानी तर ठूलो अर्थ राख्ने परियोजना ल्याएपछि वडाध्यक्ष क्षेत्रीले केही दाताको आर्थिक तथा प्राविधिक सहयोग पनि पाए । अहिले गाउँपालिकालाई पनि लागेको छ, यो परियोजना सबै ठाउँमा पुग्नुपर्छ । उपाध्यक्ष कृष्णकुमारी पौडेल दवाडी भन्छिन्, ‘पर्यटक आउने गाडीमा सँगै अब तरकारी भित्रने छैन । स्वस्थ विषादी प्रयोग नगरिएको तरकारी गाउँमै फल्नेछ । यो परियोजना गाउँपालिकाको अन्य ठाउँमा पनि फैलिन्छ ।’

सोही क्षेत्रका प्रदेश सांसद रामजी बरालले आफ्नै वरिपरि भएका मूल्यवान कुरा नचिन्दा गाउँदेखि सहरसम्मको विकास नभएको बताए । माछापुच्छ्रेको एक वडाले भने योजनावद्ध हिसाबले जनतासँग जोडिने र समृद्धिको पछ्याउने काम गरेको उनले बताए ।

विषादीरहित स्वच्छ र स्वस्थ आहारले मात्र मान्छेलाई पनि तन्दुरुस्त हुन र सपना देख्न सघाउने उनको भनाइ थियो । ‘स्वस्थ मान्छेलेमात्रै स्वस्थ सपना देख्न सक्छ । त्यसका लागि आहार मुख्य कुरा हो,’ सांसद बरालले भने, ‘स्वस्थ हुने, खर्च कम गर्ने र आय बढाउने गरि माछापुच्छ्रेको वडा नम्बर ९ ले ल्याएको योजना अरुले पनि सिको गरुन् ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment