Comments Add Comment

बाध्यतालाई सोखमा बदल्ने कि ?

तपाईंको आफ्ना बाध्यता छन् । बाध्यता अनेक हुनसक्छ । जस्तो कि, कामको बाध्यता । पहिरनको बाध्यता । शारीरिक बाध्यता ।

विश्वमा करिब सात अर्ब मानिस छन् । यसमध्ये कोहीपनि यस्ता नहोलान्, जसको कुनै बाध्यता नहोस् । केही न केही बाध्यताले सबैलाई घेरा हालेकै हुन्छ । संभवत तपाईं पनि यसबाट अछुतो हुनुहुन्न ।

एकपटक आफैंतर्फ फर्किएर सोच्नुहोस् त, तपाईंसँग पनि त केही बाध्यता होलान् । जस्तो तपाईंको पारिवारिक बाध्यता । तपाईं गृहणी हुनुहुन्छ । सम्पूर्ण परिवारका लागि भात पकाउनु,  ख्वाउनु, जुठो भाँडावर्तन सफा गर्नु तपाईंको जिम्मेवारी हो । निश्चित समयमा भात पकाउनैपर्ने, जुठो भाँडावर्तन माझ्नै पर्ने, परिवारको चित्त बुझाउनैपर्ने बाध्यता पनि छ तपाईंसँग । परिवारमा अर्को व्यक्ति छैन, जसले भान्साको काम गर्छ । भान्साको काममा सघाउँछ ।

यसैले भात पकाउनु वा भान्सा सम्हाल्नु तपाईंको बाध्यता हो । तर, जबसम्म यसलाई तपाईंले आफ्नो बाध्यता सम्झनुहुन्छ, यो काम तपाईंलाई बोझ लाग्छ । भारी लाग्छ । भात पकाईरहँदा, भान्साको काम गरिरहँदा दिक्क लाग्छ । तपाईं सोच्नुहुन्छ कि, यो कामबाट कहिले उन्मुक्ति मिल्ने होला ?

यद्यपि भात पकाउनैपर्ने बाध्यता छ भने तपाईंले यसलाई आफ्नो सोखमा बदल्नुपर्छ । जब बाध्यता सोखमा बदलिन्छ, तपाईंको जीवन बद्लिन्छ ।

भात वा परिकार बनाउने कुरालाई आफ्नो सोखमा बदल्नुहोस् । थरीथरीको परिकार बनाउने अभ्यास गर्नुहोस् । कुन परिकार कसरी तयार गर्दा स्वादिलो हुन्छ, हेर्दा आकर्षक देखिन्छ ? अभ्यास गर्नुहोस् । भान्सालाई रचनात्मक बनाउनुहोस् । पाककलामा चासो राख्नुहोस् । अब भान्सामा पसेर मीठो मसिनो पकाउनु तपाईंको बाध्यता होइन, सोख बन्छ । रुची बन्छ । रहर बन्छ ।

भान्सामा कुनैपनि परिकार बनाइरहँदा तपाईं उमंगित हुनुहुनेछ । कुन खानेकुरा कसरी बनाउने भन्ने कुराले तपाईंलाई जहिले पनि उत्सुक बनाउनेछ । तब, तपाईं भान्सामै रमाउन थाल्नुहुनेछ । भान्सामै आनन्दित महसुष गर्नुहुनेछ ।

अब कुरा गरौं तपाईंको शारीरिक बाध्यताको । मानौं तपाईंको आँखा चिम्सा वा असुहाउँदिलो छ । वा आँखाको दृष्टि कमजोर छ । यही कारण आँखाको सुरक्षार्थ तपाईंले चस्मा लगाउनैपर्छ । चस्मा प्रयोग नगर्दा तपाईंले कुनैपनि कुरा राम्ररी ठिम्याउन सक्नुहुन्न । साथसाथै तपाईंको आँखा पनि असुहाउँदिलो देखिन्छ ।

आँखाको दृष्टिका लागि वा असुहाउँदिलो आँखा ढाकछोप गर्नका लागि तपाईं चस्मा लगाउनुहुन्छ । यसकारण चस्मा लगाउनु तपाईंको बाध्यता हो ।

यद्यपि चस्मा लगाउने कुरालाई तपाईंले बाध्यता होइन, सौखमा बदल्नुपर्छ । कस्तो चस्मा लगाउँदा आफुलाई सुहाउँछ, अनुहारको सौन्दर्य खुल्छ ? हेक्का राख्नुपर्छ । साथसाथै चस्माको डिजाइन र ब्रान्डमा चासो राख्नुपर्छ । यसरी क्रमस तपाईंलाई चस्माप्रति रुची जाग्न थाल्छ । त्यही रुची सोखमा बदलिन्छ ।

त्यसपछि तपाईं थरीथरीका चस्माको डिजाइन खोज्ने, प्रयोग गर्ने गर्नुहुन्छ । त्यसपछि चस्माप्रतिको तपाईंको बाध्यता हट्नेछ । चस्मा लगाउनु तपाईंको सोख बन्नेछ ।

यस्तै घरमा साना बालबच्चा छन् । तपाईं कामकाजी हुनुहुन्न, यसकारण घरमा बालबच्चा हेर्ने जिम्मेवारी तपाईंको हो । दिनभर बालबच्चासँग बिताउनुहुन्छ । उनीहरुको स्यहार-सुसारमा खटिनुहुन्छ । बालबच्चा रुन्छन्, कराउँछन्, चकचक गर्छन् । उनीहरुलाई सम्हाल्दा, उनीहरुलाई फकाउँदा तपाईं हैरान हुनुहुन्छ । बालबच्चाले दिसापिसाब गर्छन्, सरसामन लथालिङ्ग बनाइदिन्छन् । यी सबै कुरा सम्हाल्ने फुर्सद हुँदैन । त्यसैले दिनभर बालबच्चाको रेखदेख गर्नु तपाईंका लागि बोझिलो काम हो । बाध्यता हो ।

यद्यपि जब तपाईं यसलाई आफ्नो सोखमा बदल्नुहुन्छ, तब तपाईं बालबच्चासँग रमाउनुहुनेछ । बालबच्चासँग कसरी रमाउने ? तपाईंले यसको कला विकास गर्नुपर्छ ।

बालबच्चा निच्छल हुन्छन्, निर्दोष हुन्छन्, निष्कपट हुन्छन् । उनीहरुको भावनासँग आफुलाई एकाकार गराउनुहोस् । बालबच्चा जिज्ञासु हुन्छन्, उत्सुक हुन्छन् । उनीहरुले जे देख्छन्, त्यसप्रति चासो राख्छन् । नयाँ कुरा जान्नका लागि तयार हुन्छन् । बालबच्चाको यो स्वभाव आफुमा पनि विकास गर्नुहोस् । उनीहरुसँग उनीहरुकै भाषामा कुरा गर्नुहोस्, उनीहरुजस्तै उन्मुक्त रमाउनुहोस्, उनीहरुजस्तै जिज्ञासु बन्नुहोस् । अब तपाईंलाई बालबालिकासँग समय बिताउन सहज मात्र होइन, रमाइलो लाग्नेछ । तपाईं बालबच्चाकै संसारमा हराउनुहुनेछ ।

तपाईंसँग यस्ता अनेकन बाध्यता छन् । उक्त बाध्यतामा जेलिएर तपाईंले आफुलाई दुःखी बनाइरहनुभएको छ । कतिपय यस्ता बाध्यता छन्, जसले तपाईंमा ग्लानी पनि पैदा गरिदिएको छ । कतिपय बाध्यता यस्ता छन्, जसले तपाईंलाई तनावग्रस्त बनाएको छ । बाध्यता नै बाध्यताको चंगुलमा फस्दै गएपछि तपाईंलाई लाग्न थालेको हुनसक्छ, मेरो जिन्दगी पट्यारलाग्दो र बोझिलो छ ।

तर, त्यही बाध्यतालाई जब तपाईंले सोखमा बदल्नुहुनेछ, जीवन रहरलाग्दो बन्नेछ । बाध्यतालाई सोखमा बदलेपछि तपाईंको जीवन सहज मात्र हुनेछैन, उमंगीत पनि हुनेछ । त्यसैले आफ्नो बाध्यता पहिल्याउनुपर्छ र त्यसलाई सोखमा बदल्ने अभ्यास गर्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment