Comments Add Comment

सलमान खानको बिइङ ह्युमनको व्यवसाय काठमाडौंमा बन्द

१ कात्तिक , काठमाडौं । भारतीय अभिनेता सलमान खानद्वारा ‘प्रबद्र्धित बिइङ ह्यूमन क्लोथिङ’ का काठमाडौंमा रहेका स्टोरहरु बन्द भएका छन् ।

विइङ ह्यूमनका काठमाडौं उपत्यकामा तीन र पोखरामा एउटा गरी ४ वटा स्टोर सञ्चालित थिए । जसमध्ये काठमाडौंका तीनवटै स्टोर कुनै पूर्वजानकारी बिना बन्द भएका हुन् । राइजिङ मलमा रहेको स्टोर दरबार मार्गमा सारिने भन्दै बन्द गरिएको थियो । तर दरबारमार्गमा नयाँ स्टोर खुलेको छैन । बरु त्यहाँ पहिल्यै रहेको स्टोर पनि डेढ महिना अघि बन्द भएको छ ।

राइजिङ मलमा पहिलो स्टोर खुलेको ३ वर्षपछि २०७३ असोज ८ गते ललितपुरको लबिम मल र क्यापिटल बिल्डीङ दरबारमार्गमा क्लोथिङको दोस्रो र तेस्रो स्टोर खुलेको थियो ।

लबिम मल व्यवस्थापनकाअनुसार त्यहाँ ११४ नम्बरमा सञ्चालित स्टोर पनि डेढ महिना अघि बन्द गरेर बिइङ ह्यूमनले कारोबार राफसाफ गरेको छ । पसल बन्द गर्नुको कारणबारे कुनै पनि जानकारी नभएको मलका प्रबन्धकले बताए ।

२०७३ असोज १२ गते पोखराको ट्रेडमलमा बिइङ ह्यूमनको चौथो स्टोर खुलेको थियो ।

यो स्टोर भने अहिले पनि सञ्चालनमा छ । बस्त्र इन्कका अध्यक्ष राजु थापा क्षेत्रीले नेपालमा बिइङ ह्यूमन क्लोथिङ ब्राण्ड नेपालमा भित्र्याएका थिए । २६ माघ २०७० मा भब्य समारोहकाबीच यसको उद्घाटन गरिएको थियो ।

बलिउड नायक सलमान खानद्वारा सञ्चालित सलमान खान फाण्उडेसनले यो ब्राण्डको प्रवर्द्धन गर्छ । यसले सबै प्रकारका कपडाहरु बिक्री गर्ने गर्छ । यस ब्रान्डका कपडा मुम्बईमा रहेको मनधना उद्योगमा उत्पादन हुन्छन् । त्यहााबाट बिभिन्न देशका आउटलेटसम्म सामान पठाउने काम यही उद्योगले गर्छ ।

सलमान खान फउण्डेसनलाई १ अर्ब ५० करोड भारू रोयल्टी दिएर उद्योगले १८ वर्षसम्म सामान उत्पादन गर्ने ठेक्का पाएको छ । यसले कति प्रतिशत लगानी च्यारिटीमा गर्छ भन्ने खुलाइएको छैन ।

पार्टनरसीप विवाद

बिइङ ह्यूमनको मूख्य सञ्चालकमा राजु थापा क्षेत्री देखिएपनि व्यवसाय साझेदारीमा सञ्चालनमा थियो । व्यवसाय खस्केको अवस्था र लगानीकर्ताबीच विवादका कारण काठमाडौंका आउटलेटहरु बन्द भएको स्रोतले बतायो ।

लबिम मलको आउटलेट नचलेका कारण बन्द गरेको सञ्चालक थापा बताउँछन् । दरमार्ग मार्गको स्टोर छिट्टै सञ्चालनमा ल्याउने उनको दाबी छ ।

दशैंमा स्टोर बन्द हुँदा आफूलाई १ करोड घाटा लागेको भन्दै उनले बिइङ ह्यूमनलाई नेपालमा मर्न नदिने दाबी गरे । ‘मेरो पसल किन बन्द भयो यो निजी मामिला हो । किन प्रश्न गर्नु हुन्छ ? बरु कहिले खुल्छ सोध्नुस्’ उनले भने, तिहारअगाडि नै खुल्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment