Comments Add Comment

चरम गरिबी हटाउन विश्व बैंकको सहयोग बढ्नुपर्छ : अर्थमन्त्री

१ कात्तिक, काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले नेपालबाट चरम गरिबी केही वर्षभित्रै हट्ने दावी गरेका छन् । त्यसका लागि विश्व बैंकले सहायता रकममा भने वृद्धि गर्नुपर्ने उनको भनाइ छ । अर्थमन्त्री डा. खतिवडाले अन्तर्राष्ट्रिय मुद्रा कोष तथा विश्व बैंक समूहको दक्षिणपूर्वी एशिया मतदान समूहको संयुक्त वार्षिक बैठकमा सहभागी भई उक्त धारणा व्यक्त गरेका हुन् । बैठकमा नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवि नेपालसमेत सहभागी थिए ।

अमेरिकाको वासिङ्गटन डीसीमा आयोजित कार्यक्रममा अर्थमन्त्री डा. खतिवडाले विश्व बैंकले नेपालमा सहायता परिचालन गर्दा विगतमा लिएका रणनीतिबारे चर्चा गरेका थिए । नेपालको प्राथमिकता अनुसार चरम गरिबी केही वर्ष भित्रमा हटाउने र आम जनताको औषत आयु एसिया प्रशान्त क्षेत्रको औसत आयु बराबर पुर्‍याउन प्रतिवद्ध रहेको भन्दै त्यसमा विश्व बैंकले सहायता रकम बढाउनुपर्ने धारणा राखे ।

बैंकबाट प्राप्त हुने सहायतालाई उच्चतम प्रतिफल प्राप्त हुने क्षेत्रमा लगानी गर्ने र ऋण माथिको निर्भरता कम गर्न तुरुन्तै प्रतिफल दिने क्षेत्रमा सहायता परिचालन गर्ने नीति नेपाल सरकारले लिएको अर्थमन्त्रीले जानकारी दिएका छन् । विश्व बैंकका उपाध्यक्ष हार्टविक सेफर र अन्तर्राष्ट्रिय वित्त निगमका उपाध्यक्षले नेपालले विगतमा बैंकको सहयोगमा विभिन्न क्षेत्रमा गरेको प्रगतिको चर्चा गर्दै गत वर्ष नेपाल दक्षिण एसियाकै राम्रो प्रगति गर्ने मुलुक भएकोमा प्रसंशासमेत गरेका थिए ।

नेपालमा वित्तीय संघीयता कार्यान्वयनको अनुभव आदान प्रदान गर्ने कार्यक्रममा विश्व बैंकका उपाध्यक्ष हार्टविक सेफरले नेपालले छोटो सयममा वित्तीय संघीयता कार्यान्वयन गर्न सफल भएको बताएका थिए । कार्यक्रमको अध्यक्षताको अवसर अर्थमन्त्री डा. खतिवडाले पाएका थिए । उनले वित्तीय संघीयताको कार्यान्वयनका सम्बन्धमा स्पष्ट पारेका थिए । नेपालमा वित्तीय संघीयताको कार्यान्वयन खास गरी अन्तर सरकारी वित्त हस्तान्तरण तथा राजश्व बाँडफाँड लगायतको विषयमा नेपाल सरकारका सचिव डा. बैकुण्ठ अर्यालले प्रस्तुतिकरण गरेका थिए ।

विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त वार्षिक वैठकमा सहभागी हुन आएको अवसरमा दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठनका अर्थमन्त्रीहरुको १४ औं अनौपचारिक वैठकको समेत अर्थमन्त्रीले अध्यक्षता गरेका छन् । उक्त अवसरमा डा. खतिवडाले यस क्षेत्रको आर्थिक बृद्धिका लागि व्यापार सहजीकरण जरुरी रहेको बताए ।

यस क्षेत्रमा अन्तर देशीय सडकलगायत हवाई सञ्जालको पर्याप्त विकास हुन सके आर्थिक बृद्धिमा योगदान पुग्ने उनको भनाई छ । भौतिक पूर्वाधारको पर्याप्त विकास नहुँदा व्यापार सहजीकरणमा असर पुगिरहेको उनको भनाई छ । अर्थमन्त्री डा. खतिवडाले विश्व बैंक जस्ता अन्तर्राष्ट्रिय दातृ निकायको सहयोगबाट अन्तरदेशीय सडक सञ्चालनको लागि पूर्वाधारको विकास गर्न मद्दत पुग्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment