Comments Add Comment

मन्थलीमा व्यवसायीको ठगी : ७५ रुपैयाँको चाउमिन पाँच सयमा बिक्री

Photo Credit : अनुगमन पश्चात बन्द गरिएको पसल/अनलाइनखबर

१ कात्तिक, रामेछाप । मन्थली विमानस्थल आसपासको क्षेत्रका व्यवसायीहरुले विमानस्थलमा आउने यात्रुहरुलाई ठगी गरेको पाइएको छ ।

जिल्ला बजार अनुगमन समितले गरेको अनुगमनको क्रममा व्यवसायीहरुले विदेशी तथा स्वदेशी पर्यटकहरुलाई चर्काे मूल्यमा सामान बिक्री गर्ने गरेको पाइएको हो ।

काठमाडौंबाट सोलुको लागि हुने उडानहरु अहिले मन्थली विमानस्थलबाट हुने गरेका छन् । अहिले मन्थलीबाट सोलुको लागि दैनिक ५० वटाभन्दा बढी उडान हुने गरेका छन् ।

उडान भर्नका लागि दैनिक सयौँ यात्रुहरु मन्थली विमास्थलमा पुग्ने गर्दछन् । विमानस्थलमा पुग्ने यात्रुहरुलाई नै लक्षित गरी अहिले विमानस्थलको आसपासमा होटल तथा पसलहरु सञ्चालनमा रहेका छन् । ती व्यवसायीहरुले विमानस्थल पुग्ने यात्रीहरुलाई बिक्री गर्ने सामानको चर्काे मूल्य लिने गरेको पाइएको छ ।

अनुगमनको लागि विमानस्थल नजिकका होटल पसलमा पुगेका जिल्ला प्रशासन कार्यालय रामेछापका नायव सुब्बा लक्ष्मण भुजेलका अनुसार त्यहाँका व्यवसायीहले सामानहरुमा आफूखुसी स्टीकर टाँस गरेर सामानमा उल्लेख गरिएको मूल्य भन्दा चार गुणा बढीसम्म रकम लिएको पाइएको छ ।

व्यवसायीहरुले ४५० मूल्य पर्ने विस्कुटको एकहजार दुई सय, २२ देखि २५ रुपैयाँको पानीको ८० देखि एक सय रुपैयाँ, ४० रुपैयाँ पर्ने ड्युको एक सय रुपैयाँको स्टिकर टाँसेर बिक्री भएको पाइएको उनले बताए ।

त्यस्तै मन्थली बजारमा १५० रुपैयाँ पर्ने साकाहारी खानाको ४५० रुपैयाँ, २० देखि २५ रुपैयाँ पर्ने दूध चियाको एक सय रुपैयाँ, १५ रुपैयाँ पर्ने कालो चियाको ७० रुपैयाँ, ७५ देखि एक सय २० रुपैयाँ पर्ने चाउमिनको ५ सय रुपैयाँ मेन्युनै टाँस गरेर लिने गरेको पाइएको भुजेलले बताए ।

कतिपय व्यवसायीहरुले उत्पादन तथा प्याकिङ मिति नभएका खानेकुराहरु समेत आफुखुसी मूल्य टाँस गरेर बिक्री गरिरहेका छन् ।

अनुगमनको क्रममा जयकृष्ण अधिकारी प्रोपाइटर रहेको ट्रेडर्स ट्राञ्जिट क्याफेले दर्तासमेत नभइ ठगी गरेको पाइएकोले सो क्याफेमा प्रशासनले शिलबन्दी गरेको उनले बताए ।

ठगी गर्ने अन्य होटल तथा किराना पससलका व्यवसायीहरुलाई जिल्ला प्रशासन कार्यालयमा हाजिरी हुन बोलाइएको छ ।

व्यवसायीहरुले पर्यटकलाई ठगी गरेको गुनासो आएकोले अनुगमन पठाइएको रामेछापकी प्रमुख जिल्ला अधिकारी लिलाकुमारी पाण्डेले बताइन् ।

होटल तथा पसलहरुले आधारभूत मापदण्डसमेत पूरा नगरी व्यवसाय गरेर अधिक मूल्य लिइ ठगी गरेको पाइएकोले उनीहरु माथि कानुनी कारबाहीको प्रक्रिया अघि बढेको उनले बताइन् । ‘कानूनले भनेकोे अधिकतम दण्ड सजाय हामी गर्दछौँ’, उनले भनिन् ।

विमानस्थलको मुखमा बसेर पर्यटकहरुलाई यसरी ठग्नु जिल्लाकै बदनाम गराउने काम भएको जिल्ला समन्वय समिति रामेछापका प्रमुख प्रेमबहादुर खड्का बताउँछन् । यस्तो काम गर्नेलाई कसैले पनि जोगाउन नहुने उनको भनाइ छ ।

नेपाली कांग्रेस रामेछापका सभापति लवश्री न्यौपाने पनि यो देशको नियम कानूनको ठाडो उल्लङ्घन भएको बताउँछन् । उनले यस्तो काम गर्ने जो कोही भए पनि कारबाही गर्नु पर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment