Comments Add Comment

आयरल्यान्ड र नेदरल्यान्ड्सको विजयी सुरुवात

१ कात्तिक, काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेट छनोटमा आयरल्यान्ड र नेदरल्यान्ड्सले विजयी सुरुवात गरेका छन् ।

यूएईमा शुक्रबारदेखि सुरु भएको विश्वकप छनोटमा आयरल्यान्डले हङकङ र नेदरल्यान्ड्सले केन्यालाई पराजित गरेको हो ।

यूएईको अबुधावीमा भएको समूह ‘बी’ को खेलमा टेष्ट नेशन आयरल्यान्डले हङकङलाई आठ विकेटले पराजित गर्न सफल भयो । १५४ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको आयरल्यान्डले १७.२ ओभरमा मात्र दुई विकेटको क्षतिमा लक्ष्य भेटायो ।

आयरल्यान्डका लागि एन्डी बलबिरनाईले अविजित ७० र पाउल स्टर्लिङले ६२ रन बनाए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको हङकङले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा १५३ रन बनाएको थियो । हङकङका लागि किन्चित शाहले उत्कृष्ट प्रदर्शन गर्दै ७९ रन बनाएका थिए ।

यता, समूह ‘ए’ को खेलमा नेदरल्यान्ड्सले केन्यामाथि ३० रनको सहज जित निकालेको हो । १६७ रनको चुनौती पाएको केन्याले २० ओभरमा ८ विकेटको क्षतिमा १३६ रन मात्रै बनाएपछि नेदरल्यान्ड्सले जित निकालेको हो ।

केन्याका लागि कोलिन्स ओबुयाले ६३ रन बनाएपनि आफ्नो टिमलाई जित दिलाउन सकेनन् ।

टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले २० ओभरमा चार विकेटको क्षतिमा १६६ रन बनाएको थियो । उसका लागि म्याक्स ओडव्डले अर्धशतक बनाउँदै उकासेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment