Comments Add Comment

गाउँपालिका अध्यक्षलाई आधा कार्यकाल घर्केपछि कांग्रेसको प्रशिक्षण

कर्मचारीले हेपेको, नेकपाले पेलेको गुनासो

१ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसले आफ्नो पार्टीबाट निर्वाचित गाउँपालिकाका जनप्रतिनिधिहरुका लागि चुनाब सकिएको दुई वर्षपछि प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ । केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा दुईदिने प्रशिक्षण शुक्रबार भक्तपुरको बोडेमा शुरु भएको हो ।

कांग्रेसबाट निर्वाचित गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुख र स्थानीय तहका अध्यक्ष वा उपाध्यक्ष जिताएका गाउँपालिकाका सभापतिहरूलाई प्रशिक्षणमा आमन्त्रण गरिएको छ ।

२०७४ मा सम्पन्न स्थानीय तह निर्वाचनमा ४६० गाउँपालिका मध्ये कांग्रेसले १६१ अध्यक्ष र १४१ उपाध्यक्ष जितेको थियो ।

दुई वर्षपछि बल्ल प्रशिक्षण

पहिलो चरणको स्थानीय तह निर्वाचन २०७४ बैशाखमा सम्पन्न भएको थियो । तीन प्रदेशहरूको ३४ जिल्लाका २८३ स्थानीय तहमा निर्वाचन भएको साढे दुई वर्ष भइसकेको छ ।

संघ र प्रदेश सरकारमा शून्य प्रतिनिधित्व रहेको कांग्रेसले नगरपालिका र महासमिति सदस्यहरूलाई प्रशिक्षण दिएपछि बल्ल गाउँपालिका जनप्रतिनिधिका लागि यस्तो कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रमका सहभागीहरूले प्रशिक्षण ढिलो भएको प्रतिक्रिया दिएका छन् । मोरङको केराबारी गाउँपालिका अध्यक्ष रोहित कार्कीले अनलाइनखबरसँग भने, ‘केन्द्रले आयोजना गरेको कार्यक्रम अत्यन्त राम्रो छ । तर, ढिलो भयो । यस्तो कार्यक्रम एक वर्षभित्रै गरिसक्नुपर्थ्यो ।’

नेकपाले आफ्ना वडातहसम्मका प्रतिनिधिहरुलाई प्रशिक्षण दिइसक्दा आफ्नो पार्टीले बल्ल सुरु गरेको कार्कीले बताए ।

पार्टी उपसभापति समेत रहेका प्रतिष्ठानका प्रमुख विमलेन्द्र निधि भने पार्टीको विधानलाई संघीय संरचनामा ढाल्दा प्रशिक्षण  चलाउन ढिलो भएको बताउँछन् । महासमिति बैठक ढिलो हुनुको असर प्रशिक्षणसम्म आइपुगेको उनको भनाइ छ ।

‘सेमी–पोलिटकल प्रशिक्षण’

प्रशिक्षणको ‘म्यानुअल’मा राज्यको संरचना र संविधानका आधारभूत तत्व, सरकारको पर्फमेन्स, बजेट तर्जुमा, न्याय सम्पादन, अनुभव आदान–प्रदान जस्ता विषय राखिएका छन् ।

केन्द्रीय नीति प्रतिष्ठान प्रमुख निधि, कार्यकारी निर्देशक पुरुषोत्तम दाहाल, तारानाथ दाहाल, हरिहर विरही, डा. सूर्य ढुँगेल, डा.गोविन्दराज पोखरेल, डा. जगदीशचन्द्र पोखरेल, रामचन्द्र पोखरेल, राजु नेपाल लगायत प्रशिक्षक छन् ।

पूर्ण वैचारिक भन्दा पनि व्यवहारपयोगी विषयमा प्रशिक्षणमा जोड दिइएको आयोजकको भनाइ छ । जनप्रतिनिधिहरूले दुई वर्षमा भोगेका समस्या सुनेर त्यसको समाधान खोजिने प्रतिष्ठानका प्रमुख निधि बताउँछन् । उनी भन्छन्, ‘एक हिसाबले यो सेमी–पोलिटकल प्रशिक्षण हो ।’

प्रशिक्षण सकिएपछि सहभागी जनप्रतिनिधिलाई प्रमाणपत्रसमेत प्रदान गरिने कांग्रेसले जनाएको छ । जनप्रतिनिधिसँग जनही ५ हजार रुपैयाँ रजिष्ट्रेसन शुल्क उठाएर सुरु गरिएको प्रशिक्षणबाट प्राप्त प्रमाणपत्र क्रियाशील सदस्यता नवीकरण गर्दा काम लाग्ने आयोजकको भनाइ छ ।

‘प्रतिपक्षलाई पाखा’

कांग्रेसका गाउँपालिका प्रमुख उपप्रमुखको प्रशिक्षणमा सत्तारुढ नेकपाले स्थानीय तहमा गरिरहेको व्यवहारका विषयमा पनि छलफल हुने सहभागीहरुले बताएका छन् ।

सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिकाकी उपाध्यक्ष सविता राई संघीय र प्रदेश सरकारले नेकपाबाट निर्वाचित जनप्रतिनिधिको कुरामात्रै सुन्ने गरेको बताउँछिन् । उनी भन्छिन्, ‘जति महत्वपूर्ण भए पनि हाम्रो कुरालाई प्राथमिकता दिँदैनन् ।’

गाउँपालिकाका लागि विनियोजित बजेट पनि सत्तारुढ पार्टीको ‘इन्ट्रेस्ट’ अनुसार वितरण हुने गरेको र न्यायिक समितिलाई आवश्यक बजेट नदिइएको उपाध्यक्ष राईको गुनासो छ । थुलुङ दूधकोशी गाउँपालिकाको प्रमुखमा नेकपाका जनप्रतिनिधि छन् भने उपाध्यक्षमा कांग्रेस ।

संघ र प्रदेशमा प्रतिपक्षमा रहेको दलबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई कर्मचारी पठाउँदासमेत विभेद गर्ने गरेको सम्बद्ध जनप्रतिनिधिको गुनासो छ । कांग्रेस क्षेत्रीय सभापति रहिसकेका केराबारी गाउँपालिका अध्यक्ष रोहित कार्की कतिपय स्थानीय तहका कर्मचारीले कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिलाई असहयोग गरेको सुनाए ।

कर्मचारीको एक–एक हिसाब राख्छौं : देउवा

कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्नो पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई अटेर गर्ने कर्मचारीको एक–एक हिसाब राख्ने बताए । प्रशिक्षणको उद्घाटन सत्रमा बोल्दै देउवाले संघीय सरकारले खटाएका कर्मचारीले कांग्रेसबाट जितेका जनप्रतिनिधिलाई अनावश्यक दुःख दिइरहेको बताए ।

नेकपाले जितेको स्थानीय तहमा भन्दा कांग्रेसले जितेकोमा राम्रो काम गरेर देखाउनुपर्ने सभापति देउवाको भनाइ थियो ।

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति निधि, महामन्त्री शशांक कोइराला, केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौला लगायतले स्थानीय तहमा राम्रो काम गरे मात्र पार्टीले जनविश्वास आर्जन गर्न सकिने धारणा राखे ।

भक्तपुरको  कृषि विकास बैंकको तालिम केन्द्रमा  प्रशिक्षण कार्यक्रम चलिरहँदा बाहिर कांग्रेसका झण्डा फहराउनुका साथै सरकारी गाडी लामवद्ध देखिन्थे ।

तस्वीरहरु : विकास श्रेष्ठ/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment