Comments Add Comment

भारतीय सीमाका कुखुरा फर्मबाट २२ सय कुखुरा नष्ट

३ कात्तिक, विराटनगर । भारतीसँग जोडिएको सिमावर्ती क्षेत्रमा सञ्चालित फर्मका दुई हजार भन्दा बढी कुखुरा प्रहरीले नष्ट गरेको छ । मोरङको सुनबर्सी नगरपालिका– ८ मा सञ्चालित फर्ममा भारतबाट आयात दुई हजार २ सय ६० वटा बोइलर कुखुरा नष्ट गरेको हो ।

आइतबार बिहान चल्ला र तयारी अवस्थाका कुखुरा गरी दुई हजार २ सय ६० कुखुरा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी घनश्याम श्रेष्ठले जानकारी दिए ।

स्थानीय नवि हसनले सञ्चालन गरेको कुखुरा फर्मबाट विराटनगरसहित मोरङका विभिन्न बजारमा कुखुरा निर्यात हुँदै आएको थियो । भारतबाट तयारी कुखुरा ल्याएर बिक्री गर्ने गरेको देखिएपछि शनिबार राति प्रहरीले छापा मारेको थियो । अवैध रुपमा आयात गरिएको कुखुरा नष्ट गरिएको श्रेष्ठले जानकारी दिए ।

सीमामा कुखुरा फर्म, पटनाबाट चल्ला आयात

बर्ड फ्लू फैलन सक्ने जोखिमका कारण स्थानीय प्रशासनले एउटा जिल्लाबाट अर्काे जिल्लामा कुखुरा आयात निर्यातमा कडाइ गरेको छ । तर सीमावर्ती क्षेत्रमा भने पटनादेखि कुखुराको चल्ला आयात हुने गरेको पाइएको छ ।

आइतबार प्रहरीले बिक्रीका लागि तयारी अवस्थामा राखेका कुखुरासँगै नष्ट गरिएका चल्लाहरु भारतको पटनाबाट आयात गरिएको थियो । प्रहरी नायव उपरीक्षक श्रेष्ठका अनुसार सीमावर्ती क्षेत्रमा खुलेका केही फर्महरुले खुला सीमाको फाइदा उठाउदै अवैध रुपमा कुखुरा भित्र्याउदै नेपाली बजारसम्म पुर्‍याउँछन् । विराटनगरमा भने जोगवनीबाट काटेको कुखुरा मासु पसलसम्म पुग्ने गरेको छ ।

मोरङमा मात्र होइन सुनसरीको सीमावर्ती क्षेत्रमा फर्म खोलेर भारतीय कुखुरालाई नेपाली भन्दै तस्करी गर्ने गिरोह सक्रिय छ । गत भदौं १९ गते सुनसरीको विभिन्न स्थानबाट प्रहरीले र स्थानीयबासीले तीन केजी दरका ५७२ वटा बोइलर कुखुरा इलाका प्रहरी कार्यालय दुहबीले नियन्त्रणमा लिएर नष्ट गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment