Comments Add Comment

टर्कीमा कमरेडहरूलाई धन्यवाद ! शान्तिका लागि लडाइँ जारी छ !

शान्ति र समाजवादका लागि लडाइँ जारी छ र जारी रहनेछ । किनभने, हामी थाकेका छैनौँ, जनता थाकेका छैनन् ।

सय वर्षअघि लेनिनले स्थापना गरेको कम्युनिस्ट अन्तर्राष्ट्रिय आज अस्तित्वमा छैन । तर, हामीसँग हाम्रा लक्ष्यहरू छन्, योजनाहरू छन् र सपनाहरू छन् । सय वर्षपछि उभिएर पनि आज हामीले भन्नैपर्दछ र भनिरहेका छौँ– समाजवादको औचित्य सकिएको छैन र त्यसबेलासम्म सकिँदैन, जुन बेलासम्म यस धर्तीमा असमानता, विभेद, शोषण, दमन, अन्याय, अत्याचार, जातिभेद, रंगभेद, लिंगभेद जस्ता पर्खालहरू भत्काउन सकिँदैन ।

हामी जो जहाँ छौँ, त्यहीँबाट यसका विरुद्ध लडिरहनुपर्दछ, लडिरहन्छौँ । हामी विश्वको सर्वोच्च शिखर सगरमाथा र शान्तिका प्रतीक बुद्धको देशमा यही गरिरहेका छौँ ।

नेपाली जनताले हामीलाई निर्वाचनबाट करिब दुई तिहाई मत दिएका छन्, प्रादेशिक र स्थानीय तहमा हामीले दुई तिहाईभन्दा बढी विजय हासिल गरेका छौँ । र, अहिले सम्पूर्ण रूपमा सामन्तवादका अवशेषहरू निर्मूल पार्ने, पुँजीवादका विकृत पक्षहरूका विरुद्धमा निर्ममतापूर्वक लड्ने र समाजवाद उन्मुख बाटोमा अघि बढ्ने काम गरिरहेका छौँ ।

जसरी शोषणका रूपमा बदलिएका छन्, त्यसैगरी प्रतिरोधका रूपहरू पनि बदलिन जरुरी हुन्छ । कुनैबेला हाम्रा लागि हतियार बन्द युद्ध एक मात्र बाटो थियो । किनभने, हामीमाथि प्रतिबन्ध हुन्थ्यो । त्यही भएर हामीले सशस्त्र संघर्षबाट सत्ता प्राप्तिलाई आफ्नो कार्यनीति बनाएका थियौँ । तर, परिस्थितिमा बदलाव आउँदा हामीले पनि त्यसलाई आत्मसात गर्नुपर्छ र शान्तिपूर्ण रूपमा जनताको जीवनमा परिवर्तन अनुभूति गराउन सक्ने हदसम्ममा त्यसैका लागि जानुपर्छ । दलविहीन राजतन्त्रका विरुद्ध र बहदुलीय व्यवस्थाका लागि भएको लडाइँमा हामी अग्रपंक्तिमा उभियौँ, जनताले हामीलाई विश्वास गरे ।

सन् १९९० को दशकमा सोभियत संघको विघटन हुँदा र पूर्वी युरोपमा समाजवादले धक्का खाँदा हामीले हरेश खाएनौँ । हामीले हसियाँ–हथौडा अंकित झण्डालाई अझ दह्रो गरी समायौँ, मार्क्सवाद–लेनिनवादलाई अझ दरो गरी मनन गर्‍यौं र हाम्रा नेता दिवंगत मदन भण्डारीको नेतृत्वमा जनताको बहुदलीय जनवाद अघि सारेर जनतको हृदयमा ठाउँ बनायौँ । फलस्वरूप, निर्वाचनबाट सरकार बनायौँ, सामाजिक सुधार र परिवर्तनका केही न्यूनतम कामहरू गर्‍यौं र नेपालको एक भरपर्दो लोकतान्त्रिक, क्रान्तिकारी र आमूल परिवर्तनकारी शक्तिका रूपमा आफूलाई स्थापित गरायौँ ।

संसारका अरू भागहरूमा जस्तै नेपालको कम्युनिस्ट आन्दोलनमा पनि दुई धार नभएको होइन ।१० वर्ष लामो जनयुद्धपछि तत्कालीन नेकपा (माओवादी) शान्ति प्रक्रियामा सामेल भएसँगै हामी कम्युनिस्टहरूबीच कार्यगत एकता भयो र हामीले नेपालबाट २ सय ४० वर्ष लामो शाही राजतन्त्र विदा गर्‍यौं, मुलुकलाई संघीय प्रणालीमा लग्यौँ, धर्मनिरपेक्षता लागू गर्‍यौं।

आज हामी शान्तिपूर्ण र सशस्त्र राजनीतिका दुई ठूला कम्युनिस्ट पार्टीहरूबीच एकता गरेर एउटा नेपाल कम्युनिस्ट पार्टी बनेका छौँ र सरकार निर्माण गरेर नेपाललाई समाजवादको बाटोमा लैजाने कोसिस गरिरहेका छौँ ।

आज हामी माक्र्स, लेनिन वा माओत्सेतुङ पाउन सक्दैनौँ । प्रत्येक युगले आफ्नो आवश्कयता अनुसारको विचार र त्यस अनुकूलको नेतृत्व निर्माण गर्दछ । लेनिनले कम्युनिस्ट अन्तर्राष्ट्रिय स्थापना गर्नुभयो, उहाँको निधनसँगै त्यो ठीक रूपमा चल्न सकेन र विघटन भयो । तर, यसले अघि सारेका मान्यताहरू आज पनि त्यत्तिकै ज्वलन्त, अपरिहार्य र युगीन छन् । कम्युनिस्ट अन्तर्राष्ट्रियप्रतिको हाम्रो सम्मान केवल भावुक भएर पूरा हुँदैन । त्यसले अगाडि सारेका विचार र मूल्यहरूलाई आ–आफ्ना देशमा कति लागू गर्न सक्छौँ, त्यसैमा सम्मान निर्भर हुन्छ ।
समाजवाद गरिबीको वितरण होइन, न त यो सुन्दर शब्द मात्र हो । समाजवाद त मानव जातिले हालसम्म हासिल गरेका राजनीतिक उपलब्धिहरूको उच्चतम अवस्था हो, जहाँ शोषण–दमनका सम्पूर्ण तत्वहरू समाप्त हुन्छन् र मानिस वास्तवमै एउटा स्वतन्त्र मानिसका रूपमा उभिन पाउँछ । व्यक्तिगत लोभलालच, सम्पत्तिको मोह, विभेद जस्ता सबै कुराबाट उन्मुक्त भएर मात्रै मानिसले आफूलाई आफूभन्दा माथि पाउँछ ।

श्रममा आधारित सामाजिक संरचनामा जब सबै मानिस एउटै लहरमा उभिन्छन्, तब वास्तवमा समाजवाद फस्टाउँछ । हाल तीब्र रूपमा बढिरहेको धनी र गरिबबीचको खाडल सम्पूर्ण रूपमा पुर्ने एक मात्र उपाय समाज नै हो । त्यही भएर नै पुँजीवादीहरूले आफ्ना तमाम विभेदकारी कामहरूलाई ढाकछोप गर्नका लागि पनि समाजवादका केही तत्वहरूको बखान गर्ने गरेका छन् । एक अर्थमा समाजवाद कम्युनिस्ट पार्टीको मात्र एजेन्डा होइन, आजको युगको आवश्यकता हो, समयको माग हो । हामी यसबाट समाजमा शान्ति स्थापना गर्न चाहन्छौँ ।

हामीले चाहेको शान्ति भोका पेटहरूमाथि बन्दुकको शासन होइन, गरिबहरूमाथि बलपूर्वक लादिएको धनीहरूको शोषण होइन, निर्धामाथि बलियाहरूले गर्ने थिचोमिचोबाट देखिने कृत्रिम शान्ति होइन ।

सन् १९१९ मा कम्युनिस्ट अन्तर्राष्ट्रिय स्थापना हुँदा र आजको समयमा धेरै फरक छ । हिजोका अन्तर्राष्ट्रिय शक्ति सन्तुलनका धेरै कोणहरूमा आज परिवर्तन आएको छ । समाज विकासका क्रममा सय वर्ष त्यति लामो समय नभए पनि राजनीतिक विकासक्रमा हिसावमा चाहिँ यो सानो समय होइन । यसबीचमा आएका परिवर्तनहरूलाई हामी परिवर्तनकारी कम्युनिस्टहरूले आफ्नै जीवनमा पनि महसुस गर्न सक्नुपर्छ । अनि मात्र हामी साँचो अर्थमा परिवर्तनकामी हुनुको महत्ता स्थापित हुन्छ ।

हामी मार्क्सवाद–लेनिनवादको सिर्जनात्मक प्रयोगमा विश्वास गर्दछौँ । त्यही भएर नेपाल कम्युनिस्ट पार्टीले विश्व कम्युनिस्ट आन्दोलन र आफ्नै इतिहासका शिक्षाहरूबाट सिक्दै नेपाली क्रान्तिको कार्यक्रमका रूपमा जनताको जनवाद अंगीकार गरेको छ, जसमा जनताको सर्वोपरितालाई उच्च महत्व दिँदै बहुदलीय प्रतिस्पर्धा, आवधिक निर्वाचन, शक्ति पृथक्कीकरण, प्रेस स्वतन्त्रता, बहुलतायुक्त खुल्ला समाज, सामजिक न्याय, आर्थिक समानता जस्ता कुराहरूलाई प्रस्टताका साथ अघि सारिएको छ ।

नेकपाले आफ्नो मार्गदर्शक सिद्धान्त– मार्क्सवाद–लेनिनवाद, रणनीतिक लक्ष्य– समाजवाद, तात्कालिक कार्यक्रम– जनताको जनवाद (समाजवाद उन्मुख), तत्कालिक कार्यदिशा– शान्तिपूर्ण, संवैधानिक र लोकतान्त्रिक बाटोबाट मुलुकको आर्थिक–सामाजिक रूपान्तरण एवम् राष्ट्रिय पुँजीको विकास गर्दै सामाजिक न्याय र लोकतान्त्रिक मूल्यसहितको समाजवादको आधार निर्माण तय गरेको छ भने तत्कालिक कार्यभार– दलाल–नोकरशाही पुँजीवादी शोषण, उत्पीडन र बाह्य हस्तक्षेपको अन्त्य, राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक क्षेत्रमा रहेको सामन्तवादका सबै अवशेषहरूको उन्मूलन र स्वाधीन राष्ट्रिय अर्थतन्त्रका आधारमा समृद्ध नेपालको निर्माण तय गरेको छ । साथै, आफ्नो संगठनात्मक सिद्धान्तका रूपमा यसले जनवादी केन्द्रीयतालाई अंगीकार गरेको छ ।

दुई पार्टीको एकतापछि बनेको नेकपाका सैद्धान्तिक प्रस्तावनाहरूका बारेमा गत वर्ष ग्रीसमा आयोजित २० औँ बैठकको यस्तै मञ्चबाट मैले गरेको निवेदनलाई यहाँहरूलाई विनम्रतापूर्वक निवेदन गर्न चाहन्छु ।

हामी विश्वका कम्युनिस्ट तथा श्रमिक पार्टीहरू विगत २१ वर्षदेखि कम्युनिस्ट अन्तर्राष्ट्रियको झल्को मेटाउँदै हरेक वर्ष यसरी भेला हुँदै आइरहेका छौँ । मेरो विचारमा अन्तर्राष्ट्रियतावाद अभिवृद्धि गर्न, कम्युनिस्ट पार्टीहरूबीच बैचारिक छलफल चलाउन, विश्वको कम्युनिस्ट आन्दोलनमा चलिरहेका बहसहरूका बारेमा परिचित हुन र एक अर्कालाई बुझ्नका लागि कम्युनिस्ट तथा श्रमिक पार्टीहरूको यो बैठक निकै उपयोगी भइरहेको छ ।

कम्युनिस्ट अन्तर्राष्ट्रियको सय वर्ष पुगेको बेला आयोजित यस बैठकले विश्व शान्ति र समाजवादका पक्षमा दृढतापूर्वक लागिरहनका लागि हामी सबैलाई प्रेरित गर्नेछ भन्ने मैले विश्वास लिएको छु । यस्तो जमघटले लेनिन जस्ता कम्युनिस्ट अन्तर्राष्ट्रिय स्थापना गर्ने हाम्रा महान् नेताहरूप्रति साँचो श्रद्धाञ्जली अर्पण गर्नेछ ।

कम्युनिस्ट तथा श्रमिक पार्टीहरूको यस २१ औँ बैठक आयोजना र त्यसमा हामीलाई आमन्त्रणका लागि म नेपाल कम्युनिस्ट पार्टी र मेरो तर्फबाट कम्युनिस्ट पार्टी अफ टर्की (टीकेपी) र कम्युनिस्ट पार्टी अफ ग्रीस (केकेई) लाई हार्दिक धन्यवाद दिन चाहन्छु ।

( टर्कीमा आयोजित कम्युनिस्ट तथा श्रमिकपार्टीहरूको २१ औँ अन्तर्राष्ट्रिय बैठक (आइएमसीडब्लुपी) मा नेपाल कम्युनिस्ट पार्टीका तर्फबाट विदेश मामिला विभाग उपप्रमुख तथा केन्द्रीय सदस्य विष्णु रिजालद्वारा व्यक्त मन्तव्यको अंश)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment