Comments Add Comment

दशैं सकिएसँगै बैंकमा तरलता अभाव

५ कात्तिक, काठमाडौं । दशैं सकिएसँगै बैंक तथा वित्तीय संस्थाहरुमा क्रेडिट क्रञ्च (लगानी गर्ने रकम अभाव) को समस्या देखिन थालेको छ । विगत वर्षहरूमा बैंकहरुले खेप्दै आएको समस्या यस वर्ष पनि दोहोरिएको हो ।

विगतमा पनि ठूला चाडबाड तथा निर्वाचन सकिएपछि तरलता अभाव हुने गरेको थियो । तर, चालु आर्थिक वर्षमा भने कतिपय नीतिगत सुधारका कारण बैंकिङ क्षेत्रमा यस्तो समस्या नहुने विश्लेषण थियो ।

दशैंअघि अधिक तरलता रहेको अवस्थामा बैंकहरु निक्षेप नहेरी कर्जा विस्तारमा हौसिए । फलस्वरूप, दशैंलगत्तै बैंकिङ क्षेत्रमा तरलता अभावको समस्या देखिएको छ ।

बैंकहरुमा लगानीयोग्य रकमको अभाव हुने संकेत कर्जा तथा निक्षेपबीचको अनुपात (सीसीडी रेसियो)ले समेत गर्छ । राष्ट्र बैंकले वाणिज्य बैंकहरूलाई सीसीडी रेसियो ८० प्रतिशतभन्दा कम राख्नुपर्ने व्यवस्था गरेको छ । तर, लगानीयोग्य रकमको अभाव हुँदा केही बैंकको सीसीडी ८० प्रतिशत नाघिसकेको राष्ट्र बैंकले बताएको छ ।

राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाले सीसीडी रेसियो औसतमा ७६ प्रतिशत रहेको जानकारी दिए । ‘तरलता अहिले ५३ अर्ब छ, सीसीडी रेसियो कुन–कुन बैंकको ८० प्रतिशत नाघ्यो भनेर हेर्नै पर्ने हुन्छ,’ उनले भने ।

निक्षेप–कर्जाको पछिल्लो अवस्था

असोजको अन्तिम साता (२४ गतेसम्म) वाणिज्य बैंकहरूमा २९ खर्ब २४ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ भने २६ खर्ब ३ अर्ब रुपैयाँ कर्जा लगानी भएको छ । पछिल्लो तथ्यांक हेर्ने हो भने निक्षेप र कर्जा दुवै घटेको देखिन्छ ।

असोज १७ गतेसम्म वाणिज्य बैंकहरूले २६ खर्ब ८ अर्ब रुपैयाँ कर्जा लगानी गरेको बैंकर्स एशोसिएसनका कार्यकारी निर्देशक अनिल शर्माले जानकारी दिए । शर्माका अनुसार, एक सातामै ५ खर्ब रुपैयाँले कर्जा लगानी घटेको छ ।

असोज १७ सम्म २६ खर्ब ८ अर्ब रुपैयाँ रहेको कर्जा लगानी असोज २४ सम्म आइपुग्दा २६ खर्ब ३ अर्ब रुपैयाँमा झरेको छ । यसको कारण भनेको निक्षेप नै हो । बैंकहरुमा निक्षेप घट्दो छ ।

कार्यकारी निर्देशक शर्माले दिएको जानकारीअनुसार वाणिज्य बैंकहरुले असोज १० सम्म २९ खर्ब २६ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका थिए । असोज २४ सम्म आइपुग्दा त्यो घटेर २९ खर्ब २४ अर्ब रुपैयाँमा झरेको थियो । असोज १७ मा भने निक्षेप २९ खर्ब २० अर्बमा झरेको थियो, त्यसको एक सातामा केही सुधार भएको हो ।

दशैं सकिएसँगै केही रकम बैंकिङ प्रणालीमा आएका कारण निक्षेपमा थोरै सुधार हुने संकेत देखिए पनि तिहारले गर्दा समस्या सिर्जना हुने देखिएको छ । तिहारमा पनि ठूलै आर्थिक कारोबारहरू हुने भएकाले यसलगत्तै तरलतामा थप चाप पर्ने पक्कापक्की छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment