Comments Add Comment

पहिलोपटक काठमाडौं र बेइजिङ सिधा हवाई सम्पर्कमा जोडिँदै

हिमालयको बेइजिङ उडान आइतबारबाट

५ कात्तिक, काठमाडौं । हिमालय एयरलाइन्सले आगामी आइतबार (१० कात्तिक) बाट काठमाडौं–बेइजिङ सिधा उडान गर्दैछ । नेपाली बिमानले बेइजिङमा सिधा उडान गर्न लागेको यो पहिलोपटक हो ।

विगतमा नेपाल वायुसेवा निगमले चीनको सांघाईबाट ट्रान्जिट बसेर जापानसम्म उडान गरेको थियो । त्यसबाहेक कुनै पनि नेपाली कम्पनीले चिनियाँ शहरमा काठमाडौंबाट सिधा उडान गर्न सकेका थिएनन् । हिमालय एयरलाइन्सले यस उडानलाई ऐतिहासिक सुरुवातको संज्ञा दिएको छ ।

अहिले चीनबाट नेपालमा ५ वटा वायुसेवा कम्पनीले काठमाडौंमा उडान गर्छन् । तर, ती कुनै पनि वायुसेवाले बेइजिङसँग काठमाडौलाई जोड्न सकेका छैनन् । बेइजिङ उडान नेपाल भ्रमण वर्षको अभियानमा समेत महत्वपूर्ण सावित हुने हिमालय एयरलाइन्सको विश्वास रहेको छ ।

काठमाडौं–बेइजिङ उडान समय करीव सवा ५ घण्टाको हुने भएको छ । नेपालबाट सातामा कति उडान हुने भन्नेबारे भने कम्पनीले विस्तृत सार्वजनिक गरेको छैन । पहिलो उडानपछि विस्तृतमा जानकारी गराउने योजना रहेको कम्पनीका एक कर्मचारीले जानकारी दिए । अहिले यस रुटमा एयरबस ३२० जहाजबाटै उडान गर्ने योजना हिमालयको रहेको छ ।

डाक्सिङ एयरपोर्टमा जाने अवसर

हिमालय एयरलाइन्सले चीनको राजधानी बेइजिङमा निर्माण भई संचालनमा आएको संसारकै ठूलो विमानस्थलमध्ये एक डाक्सिङ विमानस्थलमा उडान गर्नेछ । बेइजिङको पुरानो विमानस्थलमा अत्यधिक हवाई चापका कारण नेपाली वायुसेवा कम्पनीले उडान अनुमति पाउन सकेका थिएनन् ।

हवाई क्षेत्रका जानकार रामहरी शर्मा बेइजिङ संसारभरका वायुसेवा कम्पनीका लागि एक ‘ड्रिम डेस्टिनेसन’ रहेको बताउँछन् । ‘अहिलेको बेइजिङमा संसारभरका वायुसेवा कम्पनी जान चाहन्छन्,’ उनले भने, ‘जुन कम्पनीले उडान गरे पनि त्यो निकै महत्वपूर्ण गन्तब्यमा जानेछ ।’

विगतमा नेपाल एयरलाइन्स बेइजिङ जाने योजनामा रहेको भए पनि सफल हुन सकेको थिएन । हिमालय एयरलाइन्स र नेपाल एयरलाइन्सले लामो समयदेखि चीन जान चाहेका थिए ।

हिमालय एयरलाइन्सलाई बेइजिङ उडानको अनुमति दिइए पनि नेपाल एयरलाइन्सलाई ग्वाङझाउ उडानमा अनुमति दिएको छैन । चीनले नेपाल यूरोपेली यूनियनको कालोसुचीमा रहेको भन्दै एयरलाइन्सको सेफ्टी अडिट गर्न चाहेको छ । तर, अडिट टोली पठाएको छैन ।

निगमका कार्यकारी अध्यक्ष मदन खरेलका अनुसार आगामी नोभेम्बरसम्म अडिट टोली पठाउने आश्वासन आएको छ । नेपाल एयरलाइन्सले पहिलो चरणमा चीनको ग्वाङझाउमा उडान गर्न खोजिरहेको छ । यो व्यापारिक शहर हो ।

नेपालमा चिनियाँ बिमानको उडान

चाइना साउदर्न एयरलाइन्स : ग्वाङझाउ–काठमाडौं (दैनिक)

चाइना इस्टर्न एयरलाइन्स : कुनमिङ–काठमाडौं (दैनिक)

तिब्बत एयरलाइन्स : छेन्दु–काठमाडौं (सातामा दुइ)

एयर चाइना : छेन्दु–ल्हासा–काठमाडौं (सातामा तीन)

एयर चाइना : छेन्दु–काठमाडौं (दैनिक)

सिचुवान एयरलाइन्स : छेन्दु–ल्हासा–काठमाडौं (सातामा चार)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment