Comments Add Comment

चारबुँदे रामपुर घोषणापत्र जारी गर्दै सकियो बाख्राविज्ञ सम्मेलन

६ कात्तिक, चितवन । चितवनको रामपुरमा तीन दिनसम्म चलेको एसियन क्षेत्रीय बाख्राविज्ञ सम्मेलन सकिएको छ । कात्तिक ३ बाट सुरु तीनदिने सम्मेलनले चार बुँदे रामपुर घोषणापत्र सार्वजनिक गरेको छ ।

अन्तर्राष्ट्रिय बाख्रा विज्ञहरुको सन्जाललाई अझै फराकिलो पार्ने, अनुसन्धान र उपलब्धीबाट प्राप्त नतिजा आदानप्रदान गर्ने, व्यावसायीक बाख्रा पालनका लागि सरकारी नीतिलाई समयसापेक्ष परिमार्जन गर्ने र बाख्रामा लाग्ने पीपीआर रोग सन् २०३० सम्म निर्मुल बनाउने प्रतिवद्धता जनाइएको कार्यक्रम संयोजक तथा कृषि तथा वनविज्ञान विश्वविद्यालयकी उपकुलपति प्रा.डा. शारदा थपलियाले जानकारी दिइन् ।

सन् २०२४ मा हुने अन्तर्राष्ट्रिय बाख्रा विज्ञ सम्मेलन नेपालमा गर्ने बिषयका सन्दर्भमा पनि छलफल भएको छ । साथै, चितवनको कृषि तथा वनविज्ञान विश्वविद्यालयमा बाख्राको अनुसन्धान केन्द्र र स्रोत केन्द्र स्थापना गर्न सरकारको नीतिगत तहमा काम अघि बढाउने निष्कर्ष निकालिएको कार्यक्रम संयोजक प्रा.डा. थपलियाले जानकारी दिइन् । बाख्राको उत्पादन बढाएर लागत र आयात दुवै घटाउने उपायहरु सरकारलाई सुझावका रुपमा पेश गरिने थपलियाको भनाइ छ ।

सम्मेलनमा खाद्य तथा पोषणको श्रोत बाख्रा, बाख्रा उत्पादनका नीति, सामाजिक आर्थिक तथा मूल्य श्रृंखला र विकास, बाख्राको आहार, पोषण तथा बासस्थान व्यवस्थापन, आनुवंशिकी, प्रजनन् तथा जैविक प्रविधि व्यवस्थापन, स्वास्थ्य व्यवस्थापन तथा रोग नियन्त्रण, बाख्राजन्य उत्पादनको प्रशोधन प्रविधिसम्बन्धी विषयमा कार्यपत्र माथि छलफल भएको थियो ।

सम्मेलनमा अन्तर्राष्ट्रिय बाख्रा एसोसियनका अध्यक्ष डा. वेथ मिलर, आगामी वर्ष हंगेरीमा हुने अन्तर्राष्ट्रिय बाख्रा विज्ञ सम्मेलन २०२० को आयोजक समितिका अध्यक्ष डा. सान्डोर कुकोभिक्स, चीनको हेवई कृषि विश्वविद्यालय डीन प्रा.डा.यिङ्गजी झाङ्ग, जापानको मिजो विश्वविद्यालयका प्रा.डा. योशिहाकी हायासी लगायतका विषेशज्ञहरुको सहभागीता थियो ।

कृषि तथा वनविज्ञान विश्वविद्यालयअन्तर्गत पशु विज्ञान, पशु चिकित्सा तथा मत्स्य विज्ञान संकायको आयोजनामा भएको एसियन क्षेत्रिय बाख्रा विज्ञ सम्मेलनमा विभिन्न १७ देशका बाख्रा विज्ञहरु भेला भएका थिए । विश्वविद्यालयले गत वर्ष पोल्ट्री विज्ञ सम्मेलन र त्यसअघि भैंसी विज्ञहरुको सम्मेलन आयोजना गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment