Comments Add Comment

स्मार्ट यात्राकार्ड २ महिनामै समस्याग्रस्त !

६ कात्तिक, पोखरा । पोखरा महानगरले गत चैत ३ गते महानगरभित्र सार्वजनिक गाडीमा विद्युतीय टिकट (इ-टिकेटिङ) प्रणाली लागू गर्न पोखराका बस व्यवसायी र एन्क्लाउड कम्पनीबीच त्रिपक्षीय सम्झौता गर्‍यो । सम्झौताअनुसार बैशाखको पहिलो हप्ताबाटै महानगरभित्र चल्ने सवारी साधनमा ‘इ-टिकेटिङ सिस्टम’ सुरु गर्ने भनिएको थियो ।

सम्झौता कार्यक्रममा महानगरका मेयर मानबहादुर जिसीले ‘स्मार्ट यात्रा कार्ड’ लागू भइसकेपछि यात्रु र सवारी धनी दुबै ठगिनुबाट बच्नुका साथै र समय तथा पैसाको बचत हुने दाबी गरेका थिए । वैशाखदेखि लागू गर्ने सम्झौता भए पनि तत्काल सुरु भएन ।

जेठमा आएर ‘साउनदेखि सुरु गर्ने’ पुनः घोषणा गर्दै महानगर र एनक्लाउडले बल्ल यातायात व्यवसायीलाई तालिम दिन सुरु गर्‍यो । १ महिनासम्म चलेको उक्त तालिममा ८ सय सवारी चालक, सहचालक र सवारीधनीलाई इटिकेटिङ प्रविधि प्रयोगबारे जानकारीसहितको तालिम लिएका थिए ।

साउनदेखि सुरु गर्ने भनिएको योजना दोस्रो पटक पनि असफल देखियो । भदौमा आएर मात्र बल्ल यात्रुलाई स्मार्ट कार्ड बाँड्न सुरु गरियो ।

महानगर र एन्क्लाउडसँगको सहकार्यमा त्यतिबेला ओम डेभलपमेन्ट बैंकले ‘एटिएम कार्ड’ शैलीको सय रुपैयाँसहितको कार्ड बाँड्न सुरु गरेको थियो ।

साउन अन्तिममा पहिले केही गाडीमा ‘परीक्षण’ सुरु गरियो र पछि भदौ २ गते मेयर मानबहादुर जिसीले औपचारिक सुरुआत गरे । सुरुआत भएसँगै इटिकेटिङ लागू नगर्ने बसमाथि निगरानी राख्न अनुगमन समिति पनि बनायो । जसको संयोजकमा पोखरा १३ का वडाध्यक्ष चुनिए ।

भदौको तेस्रो साता इटिकेटिङ सुरु नगरेको भन्दै ८ बस कारबाहीमा समेत परे । अनुगमन टोलीले इटिकेटिङ प्रणाली लागु नगरेका गाडीलाई कारबाही गरेको थियो ।

काठमाडौंको एन्क्लाउड कम्पनीले विद्युतीय टिकट प्रणाली लागू गर्न स्रोत र प्रविधि उपलब्ध गराउने महानगरको सम्झौता छ ।

सम्झौतामा बस व्यवसायीहरु पृथ्वी राजमार्ग बस सञ्चालक समिति, पोखरा बस व्यवसायी समिति, बेगनासताल बस सञ्चालक समिति, विन्ध्यवासिनी बस व्यवसायी समिति, पोखरा फेवा यातायात प्रालि, र ट्याक्सी व्यवसायी समितिसँग महानगरले विद्युतीय टिकट प्रणाली लागू गर्न सम्झौता गरेका छन् ।

सम्झौता भएको ४ महिनामा काम सुरु, २ महिनामै ‘असफल’ !

बृहत प्रचारसहित सुरु भएको टिकेटिङ प्रणाली समस्या देखिएको छ । सम्झौता भएको करिब ४ महिनापछि सुरु भएको इटिकेटिङ प्रणाली २ महिनामै ‘असफल’ देखिएको छ ।

टिकट काट्ने मेसिन, इन्टरनेट आदिमा समस्या देखिन सुरु गरेकाले हाल अधिकांश सवारीधनीले यो प्रणाली नै बन्द गरिदिएका छन् । टिकट मेसिनका लागि नेपाल टेलिकमले थि्रजी इन्टरनेट उपलब्ध गराउँदै आएको छ ।

‘मेसिनले टिकटै फाल्दैन, घरबाट फुल चार्ज गरेर ल्यायो आधाबाटोमै सकिन्छ,’ एक सवारी चालकले भने, ‘कामै नभई अनावश्यक रुपमा मेसिन तात्तिने र इन्टरनेट डाटा चाँडै सकिएर हैरान भयौं ।’

अनावश्यक झन्झट हुन थालेपनि दशैं अघिबाटै अधिकांशले मेसिन बोक्नै छोडिसकेको उनले जानकारी दिए ।

परिमार्जित रुपमा आउँदैछौं : महानगर

पोखरा महानगरले परिमार्जित रुपमा आउन लागेकाले रोकिएको प्रतिक्रिया दिएको छ । इटिकेटिङका लागि नयाँ रुटको खोजी भइरहेकाले पनि सिस्टम रोकिएको महानगरको भनाइ छ ।

‘नेपाल टेलिकमको थि्रजी सेवा पहिले सबैसँग पुगेको थिएन । दूर सञ्चार र एनक्लाउडलाई मंगलबार महानगरले पत्राचार गरिसकेको छ,’ महानगर महानगर ट्राफिक व्यवस्थापन संयोजक सुरेन्द्र पौडेलले भने, ‘बीचमा दशैं थियो । लगत्तै तिहार आइसक्यो । अब समस्या विस्तारै हल हुन्छ ।’ उनले पहिले १ सय ८० वटामा मात्रै दूरसञ्चारले इन्टरनेट उपलब्ध गराउँदै आएकोमा अब ८ सय वटामै पुर्‍याउने जानकारी दिए ।

इटिकेटिङ अनुगमन समितिका संयोजक दर्शन लामाले सवारी प्रणाली परिमार्जित रुपमा आउन लागेको बताए । ‘बाहिर बन्द हुन लागेको खबर आइरहेको छ । बन्दै हुन लागेको होइन,’ अनुगमन समितिका संयोजक पोखरा १३ का वडाध्यक्ष दर्शन लामाले भने, ‘अब अर्को पटक टयाप इन र टयाप आउट सिस्टमसहित ल्याउन लागेका छौं ।’

परीक्षण कालमा समस्या देखिन्छ : कम्पनी

प्राविधिक सहयोगी संस्था एनक्लाउडका दीपेन्द्रनारायण श्रेष्ठले नेपाल टेलिकमको ‘डाटा’मा काम भइराखेकाले इटिकेटिङ रोकिएको बताए । उनले ‘परीक्षण’ अवधि भएकाले केही समस्या देखिनु सामान्य भएको प्रतिक्रिया दिए ।

‘अहिले एनटिसीको डाटामा काम भइराखेको छ । फेरि हामीले अझै औपचारिक सुरुआत पनि गरेका छैनौं,’ श्रेष्ठले भने, ‘सुरुमा झ्याप्पै ८ सय वटामा लागु गर्दा केही समस्यामात्रै देखिएको हो ।’

उनले अब सबै सवारी धनीले ‘सिस्टम रिन्यू’ गरेर नयाँ तरिकाले तिहारपछि सञ्चालनमा ल्याइने जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment