Comments Add Comment

मादल बनाउनेहरु भन्छन् : खाना खानेसमेत फुर्सद छैन

६ कात्तिक, गुल्मी । तिहार पर्व नजिकिएसँगै मादल बनाउनेहरुको लागि भ्याइनभ्याई छ । तिहारमा देउसी भैलो खेल्नेहरुले नयाँ मादल किन्न र पुरानो मादल बनाउन आउनेहरुले गर्दा गुल्मी सदरमुकाम तम्घासमा मादल बनाउनेलाई कामको चाप बढेको हो ।

बाग्लुङ गल्कोट घर भएका डिलबहादुर नेपालीले गुल्मीको तम्घासमै ७ वर्षयता मादल बनाउने व्यवसाय गर्दै आएका छन् । उनलाई तिहार नजिकिएपछि खाना खाने फुर्सदसमेत हुँदैन ।

५ सय देखि २ हजार रुपैयाँसम्म पर्ने मादल बनाउन २ देखि ३ दिनसम्म लाग्छ । नेपालीले दमाहा, ट्याम्को, ढोलकलगायतका नौमती बाजासमेत बनाउने गर्छन् । तर सबैभन्दाधेरै माग मादलकै हुन्छ ।

मादल बनाउन काठ, बाख्रा, भैंसी र गाई र गोरुको छाला, अंगार, खरीलगायतका सामग्री आवश्यक पर्छ । मादलको ढुंग्रो बनाउने काठ राम्रो हुनुपर्ने भएकाले गाउँमा काठ खोज्न समय लाग्ने मादवल बनाउनेहरु बताउँछन् ।

‘ढुंग्रोको दुवैतर्फ एकै आकारको भयो भने आवाज राम्रो आउँदैन’ नेपालीले भने ‘सुर राम्रो आउन आकार ठूलो र सानो हुनुपर्छ ।’ खिर्रो, मौवा, मलेतो, घ्वारी लगायतका काठको ढुंग्रो बनाउन सकिने भए पनि मौवा र घ्वारीको काठमा स्वर राम्रो सुनिने मादल बनाउनेहरुको अनुभव छ ।

तम्घासमा तयार भएको मादल गुल्मी सहित छिमेकी जिल्ला अर्घाखाँची, बाग्लुङ, पाल्पा, प्युठानमा समेत पुग्ने गरेको नेपालीको भनाइ छ ।

तीज र दसैं तिहारमा धेरै मादल खपत हुने गर्छ । मादलबाट कमाइ राम्रै हुने भए पनि छाला काढ्न र सुकाउन झन्झट हुने भएकाले पछिल्लो पुस्ताले यस पेसाप्रति ध्यान दिने गरेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment