Comments Add Comment

ठगी आरोपमा रामेछापमा दुई व्यवसायी पक्राउ

६ कात्तिक, रामेछाप । उपभोग्य सामानमा धेरै मूल्य लिई पर्यटक ठगी गरेको आरोपमा प्रहरीले रामेछापका दुई जना व्यवसायीलाई पक्राउ गरेको छ । उनीहरु माथि कालोबजारी मुद्दामा अनुसन्धान भइरहेको प्रहरी प्रमुख डिएसपी सन्तोष भट्टराईले जानकारी दिए ।

सदरमुकामस्थित मन्थली बिमानस्थलको नजिकै व्यवसाय गर्दै आएका एभरेष्ट गेटवे मिनिमार्केटका सञ्चालक जयकृष्ण अधिकारी र ट्रेडर्स ट्रान्जिट क्याफेका सञ्चालक पासाङ ल्हामु शेर्पालाई प्रहरीले कालोबजारी गरेको आरोपमा पक्राउ गरेको हो ।

मंगलबार पक्राउ परेका उनीहरुलाई जिल्ला अदालत रामेछापबाट म्याद थप गरी हिरासतमा लिएर अनुसन्धान सुरु गरिएको प्रहरी प्रमुख भट्टराईले बताए ।

जिल्ला बजार अनुगमन समितिले केही दिन बजार अनुगमन गर्दा उनीहरुले उपभोक्ताहरुसँग अत्याधिक मुल्य लिई सामान बिक्री गरेको पाइएको प्रमुख जिल्ला अधिकारी लिलाकुमारी पाण्डे केसीले जानकारी दिइन् ।

काठमाडौंबाट सोलुखुम्बुका लागि हुने सबै उडान अहिले मन्थली विमानस्थलबाट हुन थालेपछि यहाँ पर्यटकको संख्या बढेको छ । पर्यटकको चाप बढेको मौका छोपी सो क्षेत्रका होटल र पसलहरुले अत्याधिक मुल्य लिई सामान बिक्री गरेका छन् ।

व्यसायीहरुले २० देखि २५ रुपैयाँ पर्ने दूधचियाको एक सय रुपैयाँ, १५ रुपैयाँ पर्ने कालो चियाको ७५ रुपैयाँ लिने गरेका छन् । त्यस्तै मन्थली बजारमा १ सय ५० रुपैयाँ पर्ने सादा खानाको ४ सय ५० रुपैया लिने गरेका छन् । अन्य खानेकुराको मूल्य पनि अधिक लिने गरेको पाइएको छ ।

व्यवसायीहरुले २० देखि २५ रुपैयाँ पर्ने पानीको ८० रुपैयाँ, ३ सय रुपैयाँ पर्ने बिस्कुटको ६ सय रुपैयाँ लिएको पाइएको प्रशासन कार्यालयका नायव सुब्बा लक्ष्मण भुजेलले जानकारी दिए । उनका अनुसार छोकडा, काजु, किसमिसलगायतका उपभोग्य सामानसमेत आफू खुसी प्याक गरी धेरै मूल्य लिएका छन् ।

विमानस्थल क्षेत्रमा खानेकुरा, फलफूल, मसला लगायतका खानेकुराहरुको अधिक मुल्य लिएर उपभोक्ताहरुलाई ठगी गरेको गुनासो आएपछि प्रशासनले अनुगमन गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment