Comments Add Comment

रौतहटमा हत्या अपराध : अनुसन्धान नै नभएका तीन घटना

Photo Credit : गोली हानी हत्या गरिएका कुस्तीका राष्ट्रिय खेलाडी उपेन्द्रदास बैरागी /अनलाइनखबर

६ कात्तिक, रौतहट । १२ वर्ष पहिले भएको राजपुर बमकाण्डका आरोपी रौतहट क्षेत्र नं. २ का सांसद अफताब आलम पक्राउ परेसँगै जिल्लामा नसुल्झिएका अन्य तीन हत्या मुद्दामा पनि अनुसन्धान हुनुपर्ने माग बढेको छ । मृतकका परिवारजन र स्थानीयले न्यायका लागि प्रहरी गुहार्न थालेका छन् ।

२०६८ असार २३ गते जिल्ला अदालत नजिकैको सडकमा कुस्तीका राष्ट्रिय खेलाडी उपेन्द्रदास बैरागीको गोली हानी हत्या गरिएको थियो । प्रेमपुर गोनाही- १ का ५० वर्षीय बैरागीले आठौ साफ खेलकुदमा कास्य पदक जितेका थिए । देशको लागि पदक जितेका खेलाडीको हत्याकाण्डले निकै चर्चा पाए पनि हत्यारा पक्राउ परेनन् ।

हत्या गरेको आशंकामा पक्राउ परेका प्रेमपुर गोनाही- ४ का जगरनाथ राय यादव र सर्फलाल महतो केही दिनमा रिहा भएका थिए । तत्कालीन प्रहरीले राम्ररी अनुसन्धान नगरेर हत्यारालाई उम्कन दिएको पीडित परिवारजनको आरोप छ ।

खेलकुदका विभिन्न संघ-संस्थाले हत्यारा पक्राउ गर्न, बैरागीलाई सहिद घोषणा गर्न र उनको परिवारलाई क्षतिपूर्ती दिन माग गरेका थिए । तर हत्या भएको आठ वर्षमा न अनुसन्धान अगाडि बढेको छ न त पीडित परिवारले केही पाएको छ ।

मृतक वैरागीकी पत्नी रामकुमारी देवी यादवले देशको लागि पदक जितेपछि गोरखा दक्षिणबाहु पदक पाएका खेलाडीको हत्या हुँदा प्रहरीले राम्ररी अनुसन्धान नगरेर घाउमा नुनचुक छरेको बताइन् । ‘घरमुलीकै हत्या भएपछि परिवार आर्थिक संकटमा पर्ने नै भयो’, रामकुमारी देवी यादव भन्छिन्, ‘सरकारले केही आर्थिक सहयोग नगरेपनि हत्यारालाई समातेर कानुनी कारबाही गरिदिए मनलाई राहत त हुने थियो ।’

त्यसअघि १९ जेठ २०६७ मा जिल्लाको गरुडामा बैरीया- ३ का राजाराम साहको छोरीको विवाहमा बन्दुक पड्काउदा १४ वर्षीय सुनिलकुमार साहको मृत्यु भएको थियो । छानबिन गर्न प्रहरी निरीक्षक राजु अधिकारीको टोली खटाए पनि अनुसन्धान भएर मुद्दा नचली घटना सेलायो ।

त्यस्तै ७ कात्तिक २०६५ मा प्रेमपुर गोनाही- ४ का ३५ वर्षीय शिक्षक सुनीलप्रसाद यादवको विद्यालयमै गोली हानेर हत्या भयो । हत्यामा संलग्न भएको आशंकामा प्रहरीले प्रेमपुर गोनाही- ८ का बैकुन्ठ ठाकुर, रामजी महतो र रामानन्द राउत चौरसियालाई पक्राउ गरेलगत्तै छाडेको थियो ।

त्यसपछि त्यो घटना त्यसै सेलायो । रौतहट जिल्ला प्रहरी प्रमुख एसपी भुपेन्द्र खत्री सबै घटनाको अनुसन्धान हुनुपर्ने कुरामा सचेत रहेको बताउँछन् । ‘अहिले सांसद अफताब आलमको मुद्दाका कारण सबै व्यस्त छौं’, उनले भने, ‘यो मुद्दा एउटा तहमा पुगेपछि क्रमशः सबै घटनााको गम्भीर अनुसन्धान गर्नेछौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment